विपक्षीसँग 'डिल' गर्न आवश्यक छैन, कूटनीति सिक्नुहोस : भारतीय नेता

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई पठाएको पत्रबारे सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) ले चासो व्यक्त गरेको छ । राष्ट्रपति भण्डारीले खोप उपलब्ध गराइदिनका लागि पहल गरिदिन अनुरोध गर्दै समकक्षीलाई मंगलबार पत्राचार गरेकी थिइन् ।
बीजेपीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले नेपालको पछिल्लो राजनीतिक अवस्था, कोभिड-१९ नियन्त्रण र राष्ट्रपति तहको पत्राचारबारे भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँग छलफल गरेका थिए । बिहीबार अपरान्ह नेपाली दूतावासमा झण्डै एक घन्टा बिताएका चौथाईवालेले नेपालको राजनीतिक अवस्थासँगै अहिलेको महामारी र त्यसको नियन्त्रणका लागि भएका प्रयासका विषयमा चासोमात्र राखेनन्, राष्ट्रपतिको तहबाट पत्राचार हुनुको सन्देश के हो भनेर जिज्ञासा राखेको दूतावासका एक अधिकारीले जानकारी दिए ।
राजदूत आचार्यसँग खोप र अक्सिजनलगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्तिका विषयमा छलफल गरेको दूतावासले औपचारिक जानकारी बाहिर ल्याए पनि चौथाईवाले खासगरी राष्ट्रपतिको पत्र र नेपालको राजनीतिबारे छलफल गर्न दूतावास आएका थिए । उनले राष्ट्रपति तहबाट भएको पत्राचारको विषयलाई सत्तारुढ दलले गम्भीर रूपमा लिएको र कार्यकारी प्रमुख तहमा हुनुपर्ने काम आलंकारीक राष्ट्रपतिको तहमा किन भयो भन्दै जिज्ञासा राखेका थिए ।
चौथाईवालेले चीनबाट नेपाल खोप आउने भएपछि यो तहको राजनीति भएको हो ? भन्दै गम्भीर आपत्ति जनाएको पनि स्रोतको दाबी छ । नेपालले साच्चै अब राष्ट्रपति तहमा नै छलफल र पत्राचार गर्ने हाे त भन्दै उनले कूटनीतिक ठट्टासमेत गर्न भ्याएका थिए । 'प्रधानमन्त्री नरेन्द्र माेदीसँग गफ गर्ने कानुनी आधार नभएर त्यस्तो पत्राचार भएको हो त?' चाैथाईवालेको प्रश्न थियो । यसअघि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले अक्सिजन उपलब्ध गराउन पत्राचार गरेकाे विषय पनि उनले उठाएका थिए ।
नेपालमा आइपर्ने यस्ता समस्यामा भारत सहयोग गर्न सधै तयार रहेको बताउँदै चौथाईवालेले कोभिड महामारी नियन्त्रणका लागि नेपालले भारतबाट कस्तो सहयोग चाहेको हो त्यो स्पष्ट राख्नसमेत आग्रह गरेका थिए । राजदूत आचार्यले भारतीय विपक्षी दल कांग्रेससँग पनि छलफल गरेको र सरकारले खोप उपलब्ध गराए आफूले विरोध नगर्ने सुनाए । जवाफमा चौथाईवालेले अबको २० वर्ष बीजेपी नै सत्तामा रहने भएकाले नेपालले सिधै आफूहरूसँग कुरा गर्न सुझाउँदै भने, 'यति बलियो कार्यकारी हुँदाहुँदै छिमेकीले विपक्षीसँग कुरा गर्न आवश्यक छैन । महामारीको समयमा सहयाेगको निर्णय सरकारले नै लिने हो । त्यसकारण सिधा कार्यकारी तहमा नै 'डिल' गर्न उपयुक्त हुन्छ ।'
राजदूत आचार्यले कोभिड महामारीको विषयमा नेपाललाई आवश्यक पर्ने खोप र अन्य सामग्रीको बारेमा चौथाईवालेसँग छलफल भएको बताए । भारतको सिरम इन्स्टिच्युटले आपूर्ति गर्न बाँकी दश लाख खोप तत्काल उपलब्ध गराउन पहल गरिदिन पनि राजदूतले बीजेपी नेतालाई आग्रह गरेका थिए ।
नेपाल सरकारले सिरमलाई २० लाख डोज खोपको अग्रिम भुक्तानी गरे पनि हालसम्म १० लाख डोज मात्र आपूर्ति गरेको छ । खोप आउने ढुक्क भएर पहिलो डोज लगाएका जेष्ठ नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् । उनीहरूमा भारत विरोधी भावना स्वभाविक रूपमा बढ्ने सम्भावना प्रति भारतीय पक्षले चासो दिएका छैन।
सिरमले समयमा खोप उपलब्ध नगराउँदा नेपालको खोप कार्यक्रम नै प्रभावित छ । यस्तोमा राजदूत आचार्य र चौथाईवालेबीच भेट भएको हो । चौथाईवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहका विश्वासपात्र मध्येका एक हुन । दूतावासले भेटमा राजनीतिक विषयमा छलफल नभएको भनिए पनि पछिल्लो राजनीतिक अवस्था बारेमा पनि कुरा उठेको स्रोतको दाबी छ ।
यद्यपि बीजेपी नेता चौथाईवालले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला भन्दै विदेश मन्त्रालयकै धारणा दोहोर्याएका थिए । नेपालको घटनाक्रमलाई भारतले नजिकबाट नियालेको तर त्यो आन्तरिक मामिला भएको भारतीय विदेशमन्त्रालयको भनाई थियो । राजनीतिक घटनाक्रमबारे चोथाईवालेको धारणा पनि भारतीय विदेश मन्त्रालयको जस्तै रहेको राजदूत आचार्यले स्पष्ट पारे ।
राजदूत आचार्य र बीजेपी नेता चौथाईवालेबीचको भेट अन्तराष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाको पहलमा भएको थियो । राना स्वयं पनि भेटमा सहभागी थिए । चौथाईवालेलाई रानाले नै नेपाली दूतावास लिएर आएको दूतावास अधिकारीले बताए ।
चौथाईवाले कोभिडकै समय अर्थात गत मंसिरमा काठमाडौँमा राजनीतिक भेटघाट गरेका थिए । हुन त त्यसअघि नै भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्त गोयल नै काठमाडौँ आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग मध्येरातसम्म लामो वार्ता गरेर फर्केका थिए । त्यसलाई सामान्यीकरण गर्न चौथाईवाले नेपाल आएका थिए ।

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

प्रतिक्रिया