आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

सभामुखले सम्झाए आइरिस राष्ट्रपतिलाई उनको नेपालीमा अनुवादित कविता संग्रह

डब्लिन- सभामुख देवराज घिमिरेले आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट गरेका छन् ।

राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए । 

भेटघाटको क्रममा सभामुख घिमिरेले आइरिस राष्ट्रपतिको कविता संग्रह स्मरण गरेका छन् । उनले भने, ‘तपाईंले लेखको कविता संग्रह नेपाली भाषामा अनुवाद भएको छ । अत्यतै राम्रो छ । नेपालीले रुचाएका छन् ।’

तत्कालिन बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुवसु क्षेत्री) द्वारा अनुवादित तथा सम्पादित ‘सुप्रसिद्ध आइरिस कवि माइकल डि. हिगिन्सका प्रतिनिधि कविता’ नामक कविता संग्रह नेपाली भाषामा प्रकाशित छ । राष्ट्रपति डि. हिगिन्सले नै पाँच वर्षअघि डब्लिनमा भएको कार्यक्रममा कविता संग्रह लोकार्पण गरेका थिए ।

सभामुख घिमिरेले बयोवृद्ध राष्ट्रपति डि. हिगिन्सको सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दै नेपाल भ्रमणको निम्तो दिएका छन् ।