गुरूकुलमा अनुशासनसँगै व्यावहारिक ज्ञान

मध्यविन्दु (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–८ का सुजन अधिकारी ज्योतिष बन्ने चाहनाले गुरूकुलमा भर्ना भए । गैँडाकोट–१ मा रहेको मौलाकालिका संस्कृत विद्यापीठ गुरूकुलमा कक्षा ८ मा अध्ययन गर्ने सुजनले अहिले आफूमा नियमको पालनासँगै अनुशासनको विकास भएको बताए ।
'यहाँ बिहान ४ बजे उठ्ने नित्यकर्म गर्ने, १५ मिनेट ध्यान, पाँच मिनेट प्रणायम र महर्षी पूजा गर्ने, पूजा पछि अखण्ड रुद्राभिषेक पाठ बिहान ६ बजेभित्र नै गरिसक्छौँ,' उनले भने, 'जीवनमा अनुशासन, समयको महत्व, सरसफाइ र कर्मको ज्ञान मिलेको छ ।'
मौलाकालिका धार्मिक सेवा समिति गैँडाकोटमार्फत मन्दिर परिसरमा सञ्चालित संस्कृत विद्यापीठ गुरूकुलमा ३२ जना विद्यार्थी अध्ययनरत छन् । गुरूकुललाई धर्मशास्त्र सिकाउने केन्द्रका रूपमा धेरैले बुझ्ने गर्दछन् । यसको गहिराइ बुझ्दा धर्मशास्त्र सँगै व्यावहारिक ज्ञान एकै ठाउँमा सिकाउने थलो भएको अधिकारीले बताए । गुरूकुलमा अध्ययनरत विद्यार्थीमा संस्कृतप्रतिको मोहमात्र होइन, जीवन र जगतसँग परिचित हुने अभ्यासको विकास भएको अध्ययनरत विद्यार्थीको भनाइ छ ।
अर्घाखाँचीका १४ वर्षीय दिनेश पौडेल अहिले गुरूकुलको कक्षा ८ मा अध्ययनरत छन् । कक्षा ५ सम्म अर्घाखाँचीकै गाउँको स्कुलमा पढेका पौडेल कक्षा ६ देखि गुरूकुलमा पढ्न थालेका हुन् । सामान्य विद्यालयको पढाइभन्दा गुरूकुलका कक्षाहरू उहाँका लागि विशेष भएको छ । गुरूकुलको पढाइ, रहनसहन, खाने, बस्ने सबै कुरा बेग्लै लाग्ने गरेको पौडेलले बताए । 'म यहाँ आफ्नै इच्छाले पढ्न आएको हो, यहाँ आएपछि जीवनशैलीमा निकै परिवर्तन भयो,' उनले भने, 'दैनिक कर्मले गर्दा अनुशासन र स्मरण क्षमतामा पनि परिवर्तन आएको छ ।'
गुरूकुल शिक्षामा धर्म, संस्कार र संस्कृति सिकाइन्छ । प्राचीनकालदेखिको प्रभावशाली शैक्षिक प्रणालीका रूपमा गुरूकुल शिक्षालाई लिने गरिन्छ । गुरुको आश्रममा गएर शिक्षा लिइने पद्धतिलाई गुरूकुल शिक्षाका रूपमा बुझिन्छ । पछिल्लो समय गुरूकुलको अस्तित्व मेटिँदै गएको बेला मौलाकालिका संस्कृत विद्यापीठ यसको नमुनाका रूपमा रहेको समितिका अध्यक्ष शालिकराम सापकोटाले बताए । गुरूकुल शिक्षाबाट धर्मशास्त्रसँगै व्यावहारिक ज्ञानले सानै उमेरमा असल मान्छे बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
यहाँ वैदिक धर्म संस्कृतिको संरक्षणका लागि वेद, व्याकरण, संस्कृत भाषा र कर्मकाण्ड विषयका साथै वैदिक संस्कारलाई आधुनिकतर्फ लैजानका लागि अङ्ग्रेजी, गणित र नेपाली विषय पनि अध्यापन हुँदै आएको सापकोटाले जानकारी दिए । 'कक्षा ८ सम्म अध्ययन हुँदै आएकामा अब १२ कक्षासम्म अध्ययन गराउन मिल्ने गरी भवन निर्माण भएको छ,' उनले भने, 'विद्यार्थीको उत्साह र बढ्दो महत्वले गुरूकुल सञ्चालनमा उत्साह मिलेको छ ।'
गुरूकुलमा मुख्य गरी विद्यार्थीलाई अनुशासित बनाई जीवन दर्शन र धर्मशास्त्रको ज्ञान दिइने सापकोटाले बताए । विद्यार्थीहरूलाई बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म व्यस्त राख्ने गरिन्छ । 'खाने, बस्ने, खेल्ने, सुत्ने, पढ्ने, ध्यान गर्ने, पूजापाठ गर्ने, योग गर्ने, घर जाने सबै कुराको समय तोकिएको हुन्छ, समयको पालना गर्नु पनि अनुशासन हो,' उनले भने, 'सामान्य स्कुलमा पढाइ हुने गणित, सामाजिक, अङ्ग्रेजी जस्ता विषय यहाँ पनि अध्यापन गराइन्छ ।'
गुरूकुलमा धर्मसंस्कार पढाइने भएकाले पनि विद्यार्थीलाई असल काम गर्न प्रोत्साहित गरिन्छ । ध्यानले स्मरणशक्ति मात्र नभई दिमाग तेज हुनुका साथै गुरूकुलले अनुशासित हुन मद्दत गरेको विद्यार्थीहरूको अनुभव छ । नैतिकता, आदरभाव, सम्मान, संस्कृति र संस्कारलाई मानमर्यादा गर्नेबारे सानै उमेरमा सिक्न पाउँदा असल नागरिक बनाउन गुरूकुल शिक्षा उदाहरणीय शिक्षा रहेको अध्यक्ष सापकोटाले बताए । रासस

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया