मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षरोपण

काठमाडाैँ– एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकामा हरियाली निर्माणमा योगदान पुर्याउँदै ललितपुर महानगरपालिकासंँगको सहकार्यमा महानगरपालिकाको वडा नं १ मा रहेको बागमती कोरिडोर सडकको दुवैतर्फ वृक्षरोपण गरेको छ । 

यो पहलले समग्र समुदायका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउने छ र कम्पनीको जलवायु परिवर्तनसँग सम्बन्धित लक्ष्यहरू पूरा गर्न सहयोग गर्नुका साथै सरकार तथा सहरलाई दिगो विकास लक्ष्यहरू हासिल गर्न योगदान तथा मद्दत पुर्याउँछ ।

बिहीबार एक कार्यक्रमका बीच एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन् ।

कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’मा ललितपुर महानगरपालिका, वडा नम्बर १ स्थित बागमती करिडोर रोडको दायाँ बायाँ २०० भन्दा बढी रुख रोपिएका छन् ।

एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा ‘हामी तपाईंकै लागि’ थिमले एनसेल नेपाल, नेपाली समाज र समुदायप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दछ । 

वृक्षारोपण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ' मलाई लाग्छ हाम्रो जीवनमा तीन वटा कुरा महत्वपुर्ण छन् – घर बनाउने, बच्चा हुर्काउने र रुख रोप्ने । शहरमा हरियाली प्रवर्द्धन र विकासका लागि यस पहलमा ललितपुर महानगरपालिकासँग हातेमालो गर्न पाएकोमा म आज निकै गौरवान्वित छु । उपत्यकालाई स्वच्छ र हराभरा शहर बनाउन योगदान पुर्याउँदै यी आज रोपिएका रुखहरू लामो समयसम्म रहुन् भन्ने मेरो आशा छ । आफ्नो समाजमा र समुदाय हितका लागि सदैव काम गर्ने एनसेल एक जिम्मेवार कम्पनी हो । यस हरियाली प्रवर्द्धनको कार्यमा महानगरपालिकासँग सहकार्य गर्दै हाम्रो सहकार्य अझै सुदृढ बनाउन पाएकोमा हामी खुसी छौँ । वातावरण संरक्षणमा योगदान गर्ने हाम्रो प्रतिबद्धताप्रती हामी समर्पित छौं ।'

दिगो विकासका लक्ष्य, आजियाटा समुहको इएसजी फ्रेमवर्क तथा नेट जिरो कार्बन कमिटमेन्ट अन्तर्गत वातावरण संरक्षण र जलवायु परिवर्तन एनसेलको सामाजिक पहलको प्राथमिकतामा पर्दछ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एनसेलको सामाजिक उत्तरदायित्त्व कार्यक्रमका लागि विगत दुई वर्षदेखि एनसेलसँग सहकार्य गर्दै आएको बताए । ' यस वृक्षारोपणको लागि महानगरपालिका र वडा १ को तर्फबाट म एनसेललाई धन्यवाद दिन चाहन्छु । हाम्रो सहकार्यलाई निरन्तरता दिदै बागमती करिडोरमा यो वृक्षारोपण गर्न पाउँदा हामी धेरै खुसी छौँ र यस्ता असल कार्यका लागि अन्य आवश्यक सहयोग गर्न पनि हामी प्रतिबद्ध छौँ ।'

एनसेलले वन तथा भूसंरक्षण विभाग र ललितपुर महानगरपालिकासँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रिङरोडको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण र मर्मत सम्भार गर्ने कार्य गर्दै आईरहेको छ ।

‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरूको पनि आयोजना गरिनेछन् ।

त्यस्ता कार्यक्रमहरूमा मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकहरूसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरूको एनसेल सेन्टरहरूमा भ्रमण लगायत रहेका छन् ।