मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

मधेस प्रदेश सरकारको अनुदानबाट नगरपालिका-८ कचोर्वास्थित जनता माविको भवन निर्माणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत चौधरीले अनियमितता गरेको आरोपमा आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

प्राविधिकले तयार गरेको मूल्याङ्कन र भुक्तानीका लागि स्वीकृत टिप्पणीमा उल्लेखितभन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएर अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालको भनाइ छ । आयोगका अनुसार उनीहरूले स्वीकृत रकमभन्दा रु छ लाख ५८ हजार चार सय ४० दशमलव १६ पैसा बढी भुक्तानी दिएको आयोगको आरोप छ ।

आयोगले सोही अनियमितता प्रकरणमा संलग्न भएको आरोपमा उपभोक्ता समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरुद्ध पनि मुद्दा दायर गरेको छ । उनीहरूले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको एवं नगरपालिकासँग भएको सम्झौता बमोजिमको सर्त पालना नगरी, भुक्तानीका लागि स्वीकृत भएभन्दा बढी तथा निर्माणमा परिमाणभन्दा बढी भुक्तानी लिएको भन्दै मुद्दा दायर गरिएको हो ।