सजिल बस्नेतको सर्ट फिल्म 'बबल'लाई एक लाख नगद पुरस्कार

काठमाडौँ- सजिल बस्नेतको सर्ट फिल्म 'बबल'ले एक लाख नगद पुरस्कार जितेको छ । अस्कर कलेजले आयोजना गरेको पहिलो युवा सर्ट फिल्म प्रतियोगितामा बस्नेतले प्रथम पुरस्कार स्वरुप सो रकम जितेका हुन् । त्यसै गरी प्रतियोगितामा क्षितिज जैसवालको 'वैराग्य'ले दोस्रो र देव तामाङको 'खोक्रो' तेस्रो हुँदै क्रमशः ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । दुई दशकदेखि सिनेमाको प्राज्ञिक अध्यापन गर्दै आएको अस्कर कलेजले आयोजना गरेको 'पहिलो सर्ट फिल्म प्रतियोगिता'मा १९ वर्ष मुनिका उमेर समूहका युवा फिल्मकर्मीबीच प्रतिस्पर्धा गराइएको थियो । गत भदौंमा फिल्महरु आह्वान गरिएको प्रतियोगितामा २५ फिल्ममध्येबाट माथिका तीन फिल्म प्रथम, द्वितीय र तृतीय हुन सफल भएका हुन् ।
२५ मध्येबाट सात वटा फिल्म सर्ट लिस्टमा परेका थिए भने जसमध्ये निराकारभक्त राईको द पोयटलाई स्पेसल मेन्सन अवार्ड प्रदान गरियो । काठमाडौंको सुकेधारास्थित अस्कर कलेजमा शुक्रबार सर्ट लिस्टमा परेका सात फिल्म प्रदर्शन गरी पुरस्कार घोषणा गरिएको हो । सात वटा फिल्म प्रदर्शन गरेपछि निर्देशक तथा अभिनेता निश्चल बस्नेतले ती फिल्मका निर्देशकहरुलाई सर्टिफिकेट प्रदान गरे ।
प्रतिस्पर्धामा समावेश फिल्महरु मनोजबाबु पन्त, फिल्म निर्देशक निरन्जनराज भेटवाल र छायाँकार उज्जल बस्ताकोटीको जुरीले छनौट गरेको हो । अस्कर कलेजका एकेडेमिक डाइरेक्टरसमेत रहेका जुरीमध्येका एक मनोजबाबु पन्तले भने, 'विषयवस्तुको छनौट, कथाभन्ने शिल्प, प्राविधिक पक्ष, दृश्य भाषालाई छनौटजस्ता पक्षलाई मुख्य आधार बनाएर हामीले उत्कृष्ट फिल्महरु चयन गरेका हौं ।'
उनले प्रतियोगितामा नयाँ पुस्ताको सपना, आशा र निराशाका विषयका फिल्महरु बढी आएको जानकारी दिए । 'अहिलेको नयाँ पुस्ता विश्व सिनेमा र सर्ट फिल्मबारे अपडेटेड छ । प्रतियोगिता जितेका फिल्महरु परम्परागत शैली नपछ्याई कथा र प्रविधि दुवैमा नयाँ प्रयोग गरिएका छन्', उनले भने । प्रतिस्पर्धामा पुरस्कृत चार फिल्मका निर्देशकलाई अस्कर कलेजमा अध्ययन गर्न चाहेमा ५० प्रतिशत स्कलरसिपसमेत दिने व्यवस्था गरिएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया