घाटाको जोखिममा केरा व्यवसायी, के गर्दैछ प्रदेश सरकार ?
पानामा रोग लागेको कसरी थाहा पाउने ?

मकवानपुर- घर खर्चको सामान्य जोहो केरा विक्रीबाट गर्दै आएकी मकवानपुरगढी गाउँपालिका ५ कि रञ्जु न्यौपानेलाई अहिले केरामा पाग्ने पानामा रोगको भयले सताएको छ । 'व्यसायिक रुपमा केरा खेती त हैन, तर केराबाट सामान्य घरखर्च चल्ने गरेको कारण त्यै पनि गुम्ने डर छ' उनले भनिन् ।
उनी व्यवसायिक पुशपालक किसान हुन् । केराको आम्दानीले पशुबाट भएको आम्दानी बचत हुने गरेको उनले बताइन् । पशुमा लाग्ने लम्पी स्किन प्रकोप नियमन्त्रणको पहल चलिरहदा फेरि फलफूलतर्फ अर्को प्रकोप देखा परेको छ । केरामा लाग्ने पानामा रोगको कारण व्यवसायिक केरा खेती गर्दै आएका किसानहरूलाई समस्या पर्ने देखिन्छ । तर क्षेतिको विवरण प्राप्त भइनसकेको प्रदेशको कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको छ ।
एक महिना अघि नेपालमा पहिलो पटक केरामा लाग्ने पानामा रोग भेटिएको दाबी गरिएको थियो । केरामा पानामा रोग (टिआर–४) फेला परेपछि मन्त्रालयले सचेतताको लागि आवश्यक तयारी भने थालेको छ ।
नेपालमा कैलालीको टीकापुर क्षेत्रमा पहिलो पटक यो रोग फेला परेको पुष्टि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गरेको छ । एक महिना अगाडि नार्क अन्तर्गतको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रले पत्रकार सम्मेलन गरी रोगबारे जानकारी गराएको थियो ।
अहिले यसको संक्रमण विभिन्न जिल्लाहरूमा फैलिदो अवस्थामा रहेको भन्दै सचेतना अभियान सुरु गरिएको छ । रोग प्रसारित नहोस् भनेर व्यवसायिक किसानहरूलाई गोष्ठि तथा जनचेतनाको कार्यक्रम सुरु गरेको प्रदेशको कृषि तथा पशुपंन्छि विकास मन्त्रालयले जनाएको छ ।
'पानामा रोग केराका लागि निकै खतरनाक मानिन्छ' बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि विज्ञ तथा सूचना अधिकारी अनुप अधिकारीले इकागजसँग भने 'यस अघि नेपालमा टिआर–१ मात्र फेला परेको थियो । पानामा माटोमा बस्ने ढुसी भएका कारण एक ठाउँबाट अर्को ठाउँसम्म सजिलै सर्न सक्ने र किसान, व्यापारी तथा अन्य सरोकारवाला सचेत रहनुपर्ने कृषि विज्ञ अधिकारीले बताए । चितवनको रैथाने जातको रुपमा रहेको मालभोग जातको केरामा पानामा रोग देखिन थालेको छ । उक्त रोगका कारण किसानले केराको प्रजाति नै परिवर्तन गर्न शुरु गरेका छन् ।
पानामा रोगको संक्रमणबारे चर्चा हुन थालेपछि आफ्नो तर्फबाट सचत भएको तर स्थानीय सरकारले हासम्म कुनै कार्यक्रम र सहयोग नगरेको चितवन जिल्ला रत्ननगर नगरपालिका–१२ का ठाकुर सापकोटाले बताए । उनले झण्डै २८ बिघा जमिनमा केराखेती गर्दै आएका छन् । दश वर्षदेखि केराखेती गर्दै आएका उनीलाई २०७८ सालमा पनि मालभोग केरामा लागेको रोगले घाटा व्यहोरेका थिए ।
अहिले चितवनका अधिकांश केरा किसान आफ्नो केराखेतीमा देखिएको पानामा रोगका कारण चिन्तित भएका छन् । केराको बोट ओइलाउने, गुभो कुहिँदै जाने, बोट मर्ने, जरामा गिर्खापर्ने समस्या देखिएको छ । रत्ननगर–१२ का किसान नारायणदत्त पन्त पनि केरा व्यवसायबाट घाटा हुने भयले ग्रस्त छन् उनले करीब पाँच बिघा जमिनमा केराखेती गरेका छन् ।
यस्तो छ प्रदेश सरकारको योजना ?
बागमती प्रदेशमा सबैभन्दा बढी केरा खेती चितवन जिल्लामा छ । प्रदेश मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार बागमती प्रदेश भर ४ हजार हेक्टर जमिनमा केरा खेती गरिएको छ ।
जसमध्ये चितवन जिल्लामा मात्रै ३ हजार हेक्टर जमिनमा केरा खेती गरिएको छ । पानामा रोगको संक्रमण पुष्टि हुन साथ प्रदेशको कृषि मन्त्रालय र निर्देशनालयले फिल्ड भिजिट गरेर आवश्यक जनचेतनाको कार्यक्रम गरेको छ ।
'विशेष गरी व्यवसायिक रुपमा केराको खेती भएको फिल्डको निरीक्षण गर्यौ' मन्त्रालयका कृषि विज्ञ अधिकारीले भने 'फिल्डको निरीक्षणपछि छलफल गर्यौ, रोगबाट बाली सुरक्षित गर्नको लागि अपनाउनु पर्ने उपायहरू जानकारी गराउन प्राविधिक सल्लाह फिल्डमै गएर दिएका छौ ।' अधिकारी भन्छन् 'धेरै हदसम्म त व्यवसायि आफैं पनि जानकार रहनुभएको र सचेत रहेको हामीले पायौं, उहाँहरू नै विज्ञ हुनुहुन्छ ।'
सरकारको तर्फबाट निर्देशनालमार्फत अनुगमन गरिको उनले बाताए । यसैगरी अधिकारीका अनुसार संघीय सरकारको तर्फबाट प्राविधिक टोली गठन भएको छ । यो टालीले केरामा लागेको यो संक्रमणबारे अनुगमन र निराकरणको उपाय खोज गर्दछ, प्रदेश सरकारको पनि यसका सहयोग र समन्वय हुने उनले बताए ।
सचेतता अपनाउँदा अपनाउँदै पनि क्षति भएमा किसानलाई राहत दिने कार्यक्रम पनि प्रदेश सरकारसँग रहेको उनले बताए । संघीय सरकारले सम्बोधन नगरेमा प्रदेश सरकारले क्षतिपुर्तिको व्यवस्था गर्नेछ' अधिकारीले भने । मन्त्रालयमा कृषिक्षत्रको क्षतिपुर्तिमा राहत दिनकै लागि ५ करोड बजेट विनियोजन गरिएको छ । यो बजेट फलफूलको लागि मात्रै नभएर समग्र कृषि पशुपंक्षि सबैको लागि हो ।
अघिल्लो वर्षको स्वीकृत कार्यविधि अनुसार फलफूल बालिको हकमा प्रतिहेक्टर ३० हजार रुपियाँ एकमुष्ट राहत दिने व्यवस्था छ । यसमा केही परिमार्जन गर्नुपर्ने आवश्यक भएको उनले बताए । किसानले क्षति भए बराबरकै रकम नभए पनि केही राहत हुने उनले बताए । 'पहिले त बाली बचाउन कै लागि हाम्रो प्रयास रहन्छ, र क्षति भैहालेमा राहतको थोरै व्यवस्था छ' अधिकारीले भने । देशलाइ केरामा आत्मानिर्भर बनाउने हो भने तीनै तहको सरकारले यस्ता व्यवसायिहरूलाई आइपर्ने समस्यामा सहयोग गर्नुपर्ने उनले बताए ।
के हो पानामा रोग ?
केरामा लाग्ने पानामा रोगको कारक फ्युजारिय अक्सिस्पोरियम क्युवेन्सि ढुसीको एक अत्यन्त खतरनाक प्रजाति ट्रोपिकल रेस ४ (टि आर ४) रोग हो । नेपालका कैलाली जिल्लाको टिकापुरमा २०८० साल श्रावण महिनामा अवलोकन गरिएका नौ वटा केरा बगैंचा मध्ये ४ वटा बगैचामा ४ देखि ५० प्रतिशतसम्म विरुवामा पानामा रोगको संक्रमण देखिएको थियो । ट्रोपिकल रेस ४ (टि आर ४), फ्युजारिय अक्सिस्पोरियम क्युवेन्सि ढुसीको पछिल्लो प्रजाती हो ।
फ्युज्यारियम ढुसीका कारण केरा बिरुवा ओइलाउने 'पानामा रोग 'लाग्दछ । यस रोगको कारक ढुसी माटोमा पाइने भएकाले माटोलाई एक ठाउँबाट अर्को ठाउँमा सार्ने जुनसुकै वस्तुवाट यो रोग फैलिन मदत मिल्दछ । हालसम्म यो रोग व्यवस्थापनका लागि कुनै पनि विधिहरू प्रभावकारी नभएको अवस्था भएकोले केरा बगानमा प्रयोग भएका सम्पुर्ण सामाग्रीहरूलाई निर्मुलीकरण गरेर नै रोगलाई एक ठाउँबाट अर्को ठाउँमा फैलनबाट रोक्न सकिन्छ ।
पानामा रोग लागेको कसरी थाहा पाउने ?
पानामा (टिआर–४) ले खास गरी जिनाइन, विलियम हाइब्रिडलगायत धेरै जसो केराका जातमा आक्रमण गर्ने गर्छ । यो रोग लागेमा सुरुमा पुराना पातको फेद पहेँलो हुने, त्यसपछि पातको किनारा पहेँलिन थाल्ने र पात सुकेर डाँठ भाँचिने गर्छ । केराको थाम चिरेर भित्र हेर्दा खैरो गानाबाट माथिसम्म फैलिएको देखिन्छ । त्यसका जराहरू काला हुन्छन्, सड्छन् र बिस्तारै केराको बोट नै ढल्ने गर्छ । यो ढुसीका चार वटा रेस (प्रजाति) हुन्छन् ।
तीमध्ये रेस २ र ३ जंगली जातको केरामा लाग्ने कृषि विज्ञहरूको भनाइन छ । यो रोग फ्युजारियम अक्सिस्पोरियम क्युवेन्सिको नामक दुसीबाट लाग्दछ। यो रोगको ढुसीले आक्रमण गरेको चारदेखि पाँच महिनापछि बिरुवामा लक्षण देखाउँछ । रोग सङ्क्रमित बिरुवा रोपण गरेमा रोग लागेको दुई महिनाभित्र लक्षण देखिन सक्छ । एक ठाउँबाट अर्को ठाउँसम्म सङ्क्रमित बिरुवा, माटो, पानी र कृषि औजारबाट सङ्क्रमण फैलने गर्दछ ।
यो ढुसी प्रतिकुल वातावरणिय अवस्थामा कडा विजाणु (क्यालमाइडोस्पोर) को रुपमा सुसुप्त अवस्थामा माटोमा ३० वर्ष भन्दा बढि समयसम्म पनि बाँचिरहन सक्छ ।
केराको थामहरू फुट्न थाल्छन विरुवा मर्नुभन्दा पहिला जराबाट धेरै नयाँ पालुवाहरू आउन थाल्छन् । रोगको प्रकोप बढि भएको अवस्थामा केरामा फल लाग्दैन, लागी हाले पनि कोसाहरू साना हुन्छन् ।
रोगको ढुसी हुरी, उच्च बर्षात्, बाढि, र सिंचाईको श्रोत वा कुलो बाट पनि सर्न सक्दछन् । कतै कतै त पानामा रोगको ढुसी खपटे किराहरू, केराको थाममा लाग्ने घुन, तथा गवाँरोको मध्यमबाट समेत सर्न सक्ने देखिएको छ ।
कसरी बचाउने ?
पानामा सङ्क्रमित माटो, पानी र औंजारहरू नै यो रोग विस्तारका प्रमुख श्रोत हुन् । पानामा रोगको संक्रमणबाट बच्न निम्न कार्य गर्न बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौंडा, मकवानपुरले सूचना मार्फत प्रचार प्रसार गरेको छ ।
- यो रोग माटो, पानी, कृषि औजार, उपकरण र रोग संक्रमित बिरुवा एवम विरुवाजन्य वस्तुहरूवाट फैलन सक्ने भएकोले शंकास्पद केरा बगैंचामा जादा जुत्ता, चप्पललाई सुज कवर वा प्लाष्टिकले ढाकेर मात्र जाने र केरा बगैचाबाट निस्कनु पूर्व गहिरो खाडलमा गाड्ने वा सुरक्षित साथ जलाएर नष्ट गर्ने ।
- संक्रमित बगैचाबाट केराका विरुवा तथा विरुवाजन्य उपजहरू जथाभावी अन्यत्र नलैजाने ।
- तन्तु प्रजनन तरिकाबाट उत्पादित रोग रहित स्वस्थ बिरुवा मात्र रोपण गर्ने ।
- केरा बगैचामा प्रयोग हुने औजार, उपकरणलाई १ प्रतिशत सोडियम हाइपोक्लोराइड वा १० प्रतिशत ब्लिच (९०० एम एल पानीमा १०० एम एल ब्लिच) मा उपचार गरेर मात्र अकी फिल्डमा प्रयोग गर्ने ।
- केरा तथा केराका बिरुवा तथा बिरुवाजन्य वस्तुहरू ओसारपसारगर्ने दुवानीको साधनहरू शंकास्पद बगैचाभित्र प्रवेश गर्न नदिने ।
- रोग ग्रसित बगैचामा प्रवेश निषेध गर्न साइन बोर्ड टाँस्ने, रोग संक्रमित बिरुवालाई रातो रिवन वा ट्यागले छुटयाउने र सो क्षेत्रमा मानिस र जनावारको प्रवेश निषेध गर्ने ।
- बगैचालाई झारपात र केराका रोगी, सुकेका र झरेका पातपतिङ्गरबाट मुक्त राख्ने, थोपा सिँचाई प्रविधि अवलम्बन गर्ने ।
- रोग संक्रमित बगैचावाट अन्य बगैचाबाट पानी बग्न नदिने, भारतीय नाकाबाट भित्रीने केराको काइयो वा हत्ता बाहेक अन्य कुनै पनि भाग भित्रन नदिने ।
- केरा व्यवसायीले केरा बोक्ने गाडीको चक्का सफा पानीले धोई १० प्रतिशत ब्लिचले निसंक्रमण उपचार गरेपछि मात्र भित्रिन दिने
- केरा बगैचामा रोगको लक्षण देख्ने वित्तिकै स्वस्थ र रोग ग्रसित सबै विरुवामा ढुसीनासक विषादी कावेन्डाजिम ५० प्रतिशत डब्युपी (ध्ए) को १ देखि ३ ग्राम प्रतिलिटर पानीमा मिसाई तयार गरिएको झोल जराको वरिपरि ३ देखि ५ लिटर प्रति बोटका दरले जरा भिज्ने गरी १५/१५ दिनको अन्तरालमा ५ पटक ड्रेनचिङ गर्ने ।
यसका साथै केरा बोक्ने गाडीको टायर, जुत्ता, चप्पलमा टाँसिएको माटोमार्फत एक खेतबाट अर्को खेतमा रोगको सङ्क्रमण सर्ने सम्भावना रहेकाले औजार र स्वास्थ्य सुरक्षामा बिशेष ध्यान दिनु पर्ने अधिकारीले बताए ।
यसैगरी केरा लोड गरी आएका गाडीलाई भन्सार परिसरमै सवारीको टायर सफा गर्ने र कतै माटो नरहेको सुनिश्चित गरेपछि प्रवेश दिनेगराउन तर्फ सम्बन्धित निकायले ध्यान दिनु जरुरी भएको विज्ञहरूको सल्लाह छ ।
व्यवस्थापनमा ध्यान दिन्नुपर्ने कुराहरू
यो रोग माटो, पानी, कृषि औजार, उपकरण, र रोग संक्रमित बिरुवा एवं बिरुवाजन्य वस्तुहरूबाट फैलन सक्ने भएकाले संकास्पद केरा बगैचामा जाँदा जुत्ता चप्पललाई सुज कभर वा प्लास्टिकले ढाकेर मात्र जाने र केरा बगैचावाट निस्कनु पूर्व गहिरो खाडलमा गाड्ने वा सुरक्षित साथ जलाएर नष्ट गर्ने तथा संक्रमित बगैंचावाट केराका विरुवा तथा विरुवाजन्य उपजहरू जथाभावी अन्यत्र नलैजाने गर्नुपर्छ ।
यसैगरी तन्तु प्रजनन् (Tissue Culture) प्रविधिबाट उत्पादित रोग मुक्त स्वस्थ बिरुवा मात्र रोपण गर्ने, केरा बगैचामा प्रयोग हुने औजार, उपकरणलाई १ प्रतिशत सोडियम हाईपोक्लोराइट वा १० प्रतिशत ब्लिच (९०० एम एल पानीमा १०० एम एल व्लिच) मा उपचार गरेर मात्र अर्को फिल्डमा प्रयोग गर्ने, केरा तथा केराका बिरुवा तथा बिरुवाजन्य वस्तुहरू ओसारपसार गर्ने ढुवानीको साधनहरू शंकास्पद बगैंचाभित्र प्रवेश गर्न नदिने,रोग ग्रसित बगैंचामा प्रवेश निषेध गर्न साईन बोर्ड टाँस्ने, रोग संक्रमित विरुवालाई रातो रिवन वा ट्यागले छुट्याउनु पर्दछ । सो क्षेत्रमा मानिस र जनावरको प्रवेशलाइ निषेध गर्नु पर्दछ ।
पानामा रोगलागेको केराको बोटमा फलेको फल खाँदा मानव स्वास्थमा भने कुनै नकरात्मक असर पर्दैन । पानामा रोग लागेको खेतमा काम गर्ने कामदारको स्वस्थ्यमा पनि टि आर ४ को कारण कुनै असर गर्दैन ।
बगैंचामा रोगको लक्षण देख्ने वित्तिकै स्वस्थ र रोग ग्रसित सवै विरुवामा ढुसीनासक विषादी कावेन्डाजिम ५०% डब्युएल (WL) प्रतिलिटर पानीमा १ देखि ३ ग्राम मिसाई झोल तैयार गर्ने,यसरी तैयार पारिएको मिश्रण बिरुवाको वरिपरि ३ देखि ५ लिटर प्रति बोटका दरले १५ दिनको अन्तरालमा ५ पटक जरा भिज्ने गरी ड्रेन्चिंग गर्ने, बगैंचालाई झारपात र केराका रोगी, सुकेका र झरेका पातपतिंगरबाट मुक्त राख्नु पर्दछ ।
थोपा सिंचाई प्रविधि अवलम्बन गर्नु उपयुक्त हुन्छ । रोग संक्रमित बगैंचाबाट अन्य बगैंचामा पानी बग्न दिनु हुँदैन । भारतिय नाकावाट भित्रिने केराको काइयो वा हत्ता वाहेक अन्य कुनैपनि भाग भित्रिन नदिने,व्यवसायीले केरा वोक्ने गाडीको चक्का सफा पानीले धोइ १० प्रतिशत व्लिचले निसंक्रमण उपचार गरेपछि मात्र भित्रिन दिने, सोहि प्रकृयाबाट गाडीका चालक, सहचालकलगायतका कामदारहरूले जुत्ता चप्पल निसंक्रमण गर्ने जस्ता कुरामा ध्यान दिनुपर्छ ।
यस्तो छ इतिहास
भारतमा सन् २०१५ मा यो रोग देखिए थियो । नेपालमा भने यो संक्रमण पहिलो पटक देखिएको बताइएको छ । करिब १४ वर्ष अघि नेपालमा पानामा रोगको रेस–१ भारतबाट भित्रिएको अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । बागमती प्रदेशको चितवन जिल्लामा यो रोग सात वर्षअघि पनि व्यापकरूपमा फैलिएको थियो ।
'रेस–१ ले मालभोगलगायतका स्थानीय जातलाई निकै नोक्सान पुर्याएको थियो । नयाँ जात जि–नाइन, विलयम हाइब्रिड, चिनयाँ चम्पालगायत जातले रेस–१ लाई पूर्णतया सहन सक्ने तर 'नयाँ प्रजाति पानामा (टिआर–४) ले भने नेपालमा खेतीका लागि उपलब्ध सबै केराका जातलाई पूर्णतया नष्ट गर्नसक्ने क्षमता राख्ने अनुसन्धानबाट पत्ता लागेको दाबी गरिएको छ ।
यसैबीच नेपालको भैरहवा भन्सार नाका भारतीय केरा आयात गर्ने मुख्य भन्सारको रुपमा रहेकोमा यस नाको हुँदै भारतका अधिकांश स्थानबाट केरा नेपाल आयात गर्न रोक लगाइएको छ । आव २०७९/८० मा भैरहवा भन्सार हुँदै एक अर्ब पाँच करोड ९७ लाख ३३ हजार मूल्य बराबरको ३७ हजार ६ सय ३८ मेट्रिक टन केरा आयात भएकोमा थियो । चालु आवको भदौ महिनाभित्र १९ करोड ४६ लाख ३५ हजार मूल्य बराबरको ४ हजार ६ सय १९ मेट्रिक टन केरा आयात भएको छ ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया