राष्ट्रभाषा ऐन सम्बन्धी प्रदेश सांसदसँग छलफल

मकवानपुर- बागमती प्रदेशमा राष्ट्रभाषा ऐन सम्बन्धी प्रदेश सांसदसँग छलफल गरिएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, नेवाःदेय् दबु स्वनिगः विशेष प्रदेश र नेपाल तामाङ घेदुङ बागमती प्रदेशको संयुक्त छलफल गरिएको हो ।
प्रदेशसभामा प्रस्तुत बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको विधेयक २०८० को व्यवस्था, संशोधनको व्यहोरा, संशोधनको कारण र आधारहरूसहितको संशोधन प्रस्तावबारे सान्दर्भिकता र आवश्यकताबारे प्रस्तुति समेत गरिएको थियो ।
भाषा आयोगका सदस्य अमृत योन्जन, भाषा विज्ञ प्रा. डा. ओमकारेश्वर श्रेष्ठ, अधिवक्ताद्वय शंकर लिम्बु र नरेश श्रेष्ठ तथा नेवाः देय् दबु स्वनिगः उपत्यका प्रदेश सदस्य श्रीकृष्ण महर्जनले कार्यपत्र प्रस्तुत गरेका हुन् ।
बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले छोटो समयमा धेरै मेहेनत गरेर भाषा सम्बन्धी विधेयक ल्याएको बताइन् । 'हामीले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको विधेयक दुई महिना भित्रै बनायौं,’ उनले भनिन्, 'जाति, भाषा, सामाजिक मोर्चा/संस्थासँग छलफल गरेर सुझाव लियौं र संस्थागतसँगै व्यक्तिगत सुझाव लिएर डेढ महिनामा खाका बनायौं ।'
भाषा विधेयकलाई पूर्णता दिन लिपिको कुरा चलेको भन्दै उनले त्यसलाई भाषा कानुनभित्र राखेर जाँदा राम्रो हुने जिकिर गरिन् । विधेयक सदनमा पेस भएपछि संसद् र पास भएपछि राज्यको सम्पत्ति बन्ने भन्दै भावी पुस्ताले गर्व गर्न लायक बन्नेमा उनको जोड थियो ।
प्रदेशकी पूर्व उपसभामुख राधिका तामाङले भाषा विधेयकलाई पूर्ण बनाउने र प्रभावकारी बनाउने सरकार, सांसद, आदिवासी जनजाति संघसंस्था र अगुवासँगै प्रदेशवासीको जिम्मेवारी रहेको बताइन् । प्रदेशको भाषाबारे सोचाइ साँघुरो बनाउन नहुने भन्दै उनले फराकिलो सोच बनाएर अघि बढे भाषाको कार्यान्वयन र विकास हुने दाबी गरिन् ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले भाषा ऐन बनाउँदा सरल भाषामा बनाउनु पर्ने बताए ।
बागमती प्रदेशका सांसद सरल सहयात्रीले विद्यालयमा भाषा पढ्ने वातावरण बनेमा भाषा दीर्घकालीन रूपमा संरक्षण हुने भन्दै भाषा आयोगले सरलीकरण गर्नुपर्ने तर्क गरे । सांसद श्रीराम लामिछानेले भाषा संरक्षणसँगै आर्थिक, सांस्कृतिक र रहनसहनलाई पनि भाषा कानुनमा समेट्न सके समृद्धिमा सहयोग पुग्ने बताए । अर्का सांसद प्रेमभक्त श्रेष्ठले आउँदो पुस्ताका लागि रंजना लिपिबारे सचेतना जगाउन भाषा कानुनमा व्यवस्था गर्नुपर्ने बताए ।
अर्का प्रदेश सांसद रमा आले मगरले ऐन बनाउनु स्वागत योग्य भए पनि नेवार र तामाङसँगै सुरेल, ह्यायु, सुनुवार लगायतको भाषाको संरक्षणमा पनि कानुनमा व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।

व्यावसायिक किसानलाई उद्यम गर्न अनुदान

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

मकवानपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

प्रतिक्रिया