शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

सहिदको सम्मानका लागि बिदा दिने कुरा गलत हो : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सहिदको सम्मानका लागि बिदा दिने कुरा ठीक नभएको बताएका छन् ।​ बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पौडेलले मानिसलाई युद्धमा ल्याउने नेतृत्वले उनीहरूको परिवार र देशका लागि काम गरेर देखाए मात्रै उनीहरूप्रतिको सम्मान हुने जिकिर गरे । उनले नेपालको गरिबी अन्त्य गर्ने, जनयुद्धमा सहादत प्राप्त गरेका सहिदको सम्मान हुने, उत्पीडित जनताले सुख पाउने गरी देश समृद्ध हुने नीति ल्याएमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालको काम सही रहेको ठहर हुने बताए ।

उनले सत्तामा बस्ने जनताका निम्ति कुनै काम नगर्ने र कुनै दिन बिदा दिएर सहिदलाई सम्झने कुरा गलत भएको बताए ।

नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसको दिनमा दिएको बिदाको विरोध गर्ने कुरामा कुनै तुक नरहेको जिकिर गरे ।