शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

कोशी प्रदेशमा विश्वसको मत दिन सबै दललाई मुख्यमन्त्री कार्कीको अनुरोध

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन सबै दललाई अनुरोध गरेका छन् । मुख्यमन्त्री कार्कीले शनिबार पत्र लेख्दै सबै दललाई आफूलाई विश्वसको मत दिनका लागि अनुरोध गरेका हुन् ।

यसअघि पनि मुख्यमन्त्री भएका कार्कीको सरकारमा रहेका नेकपा माओवादी केन्द्र बाहिरिए पछि उनले विश्वासको मत पाउन सकेका थिएनन, जसका कारण उनी बाहिरिनु परेको थियो । त्यसपछि सभामुखको मत र सभाध्यक्षको मतसहित नेपाली कांग्रेसका उद्दव थापाले दुई-दुई पटक लिएको मुख्यमन्त्रीको नियुक्ती सर्वोच्च अदालतले बदर गरेर कार्कीलाई मुख्यमन्त्री नियुक्ती गर्न परमादेश दिएको थियो । 

सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले आजै प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम रहेको छ । विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनेछन् । 

कोशी प्रदेशसभामा एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सिट छ । ९३ सदस्यीय प्रदेशसभा विश्वासको मत पाउनका लागि ४७ मत चाहिन्छ । 

 

यस्तो छ, उनले लेखेको पत्रः

प्रस्तुत विषयमा नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्री म हिक्मतकुमार कार्कीले १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन सहित) को नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न कोशी प्रदेश सभा सचिवालयमा सूचना दर्ता गराएको हुँदा उक्त प्रस्तावको पक्षमा मतदान गरी विश्वासको मत दिनुहुन तपाईको दल समक्ष हार्दिक अनुरोध गर्दछु । साथै, विश्वासको पक्षमा तपाईंको दलको तर्फबाट दिनु भएको मतले प्रदेश संरचनाको स्थायित्व र दलीय सहकार्य एवम् सद्भावमा ठोस योगदान पुग्ने विश्वास लिएको छु ।