शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

नेपालमा ऊर्जा क्षेत्रको अध्ययन गर्न रास्वपाले बनायो कार्यदल

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टीको शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकले नेपालमा ऊर्जा क्षेत्रको अध्ययन गर्न कार्यदल गठन गरेको छ । ऊर्जा तथा भूमिगत संरचना विज्ञ ई श्रीराम न्यौपानेको संयोजकत्वमा  ३ सदस्य कार्यदल गठन गरेको रास्वपाले जनाएको छ ।

कार्यदलले नेपाल ऊर्जा क्षेत्रको विस्तृत अध्ययन गरी पार्टीको तर्फबाट ऊर्जा नीति, योजना र मार्ग चित्र तयार गरी केन्द्रीय समितिलाई पेश गर्ने बताइएको छ । संयोजक न्यौपाने सहित कार्यलदमा नेपाल सरकारका पूर्व सचिव तथा ऊर्जा विज्ञ ई. देबेन्द्र कार्की,  र ऊर्जा विज्ञ ई. डा. सरोज अधिकारी रहेका छन् । 

यस्तै बैठकले निजामती सेवा विधेयक तथा नेपालको सार्वजनिक प्रशासनका भएका, हुनुपर्ने तथा गरिनुपर्ने व्यवस्थाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न नेपाल सरकारका पूर्व सचिव शारदा प्रसाद त्रितालसहित ५ जनाको अर्को कार्यदल गठन गरेको छ ।

यस कार्यदलमा पूर्व सचिव त्रितालसहित पूर्व सचिव पूर्णचन्द्र भट्टराई, सहसचिव भागवत खनाल, पूर्व प्रशासक तथा अधिवक्ता कृष्णप्रसाद अधिकारी र चार्टर्ड एकाउन्टेन्ट एवम् पूर्व प्रशासक लिलाराज ढकाल रहेका छन् ।