शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

वर्तमान सरकार सच्चिन नसके प्रधानमन्त्रीले पद छाड्नुपर्छ : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार सच्चिन नसके प्रधानमन्त्रीले पद छाड्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस शहिदलखन–काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा कोइरालाले सरकारकै कारण अहिले देश ठीक ठाउँमा नरहेको भन्दै वर्तमान सरकार सच्चिन नसके प्रधानमन्त्रीले पद छाड्नुको विकल्प नरहेको बताए ।

नेता कोइरालाले कांग्रेसले मात्रै मुलुकमा देखिएका अराजकताहरूलाई समाप्त गर्न सक्ने दाबी गरे । देशको प्रधानमन्त्री भएकै व्यक्तिले जातीय राज्यका लागि दुई लाख मान्छे सडकमा उतार्छु भन्नु उचित नरहेको उनले बताए ।

उनले देशको प्रधानमन्त्रीले ८४ को चुनावमा माओवादीलाई जिताए जातीय राज्य दिन्छु भन्नुसमेत तर्कसंगत नरहेको धारणा राखे ।

नेपाल कुनै पनि जाति विशेष नभएकाले प्रधानमन्त्रीको हैसियतमा बसेका मान्छेबाट जातीय राज्यको वकालत गर्नु गैरजिम्मेवार अभिव्यक्ति भएको कोइरालाले बताए ।