बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

यादव समूहले सोध्यो ठाकुर, महतो, शुक्ल र कर्णलाई २४ घण्टे स्पष्टीकरण (पत्रसहित)

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहितका नेतालाई दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोधेको छ। ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई शनिबार २४ घण्टे स्पष्टीकरण सोधिएको हो । 

बहुमत कार्यकारिणी समिति सदस्य उपस्थित बैठकले ८ जेठमा गरेको निर्णय अनुरुप सोधिएको स्पष्टीकरण पत्रमा २४ घण्टाभित्र चित्त बुझ्दो जवाफ नआएमा पार्टीबाट निष्कासन गर्ने चेतावनी दिइएको छ। कार्यकारिणी सदस्य प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा पार्टी निर्णयविपरीत किन काम गरेको हो भनेर प्रश्न गरिएको छ । 

अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसहित शुक्ल र कर्णलाई यादव समूहले जेठ ११ गते ७२ घण्टे स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ नआएपछि चारै जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको यादव-भट्टराई समूहले जनाएको छ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा भट्टराई-यादव समूहमा ३० जना छन् । नयाँ सरकार गठनका लागि कसलाई समर्थन गर्ने भन्‍ने विवाद हुँदा जसपामा दुई धार देखिएको हो ।

जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो वर्तमान प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरिरहेको छ भने भट्टराई-यादव समूह विपक्षी गठबन्धनको समूहमा लागिरहेको छ । 

अध्यक्ष ठाकुरले एकतर्फी रूपमा जेठ ८ गते र ९ गते बोलाइएको कार्यकारिणी समितिको बैठक स्थगित गरेका थिए। तर भट्टराई-यादव समूहले भने बहुमत सदस्यसहित बैठक सम्पन्‍न गरेको थियो । बैठक बोलाउने बेलामा भने यादव र ठाकुर दुवै जनाले हस्ताक्षर गरेका थिए।