शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारलाई राप्रपा नेपालको ध्यानाकर्षण

काठमाडौं - इजरायलमा रहेका नेपालीहरूको उद्धार गर्न राप्रपा नेपालले सरकारको ध्यानाकर्षण गराएको छ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले इजरायलमा आतंककारी समूह हमासले गरेको आक्रमणको भर्त्सना गर्दै त्यहाँ रहेका नेपालीको ध्यानाकर्षण गराएको हो।

'आतंककारी हमासको आक्रमणमा परि निधन भएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछौं। इजरायलमा रहेका नेपालीहरूको सुरक्षा र आवश्यक परे उद्धारको निम्ति राप्रपा नेपाल सरकारको ध्यानआकर्षित गर्दछ। साथै, केही नेपालीहरू हमासको कब्जामा परेको समाचार वारे सत्य तथ्य छानविन गरी सार्वजनीक जानकारी गराउन समेत राप्रपा नेपाल सरकारसँग माग गर्दछ,' राप्रपा नेपालले विज्ञप्ति जारी गर्दै भनेको छ।

यस्तै नेपालगञ्जमा चेतन मानन्धरको हत्यामा संलग्न रहेका रिगल भनिने योगराज ढकाललाई उन्मुक्ति  दिने सरकार र राष्ट्रपतिको निर्णयको राप्रपा नेपाल भर्त्सना गर्दै चेतन मानन्धरकी पत्नी भारती मानन्धरलाई न्याय दिन माग गरेको छ।

संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य तथा हिन्दु राष्ट्र राजसंस्थाको पुनःस्थापनाको निम्ति आन्दोलनको तयारीलाई सशक्त ढंगबाट अघि बढाउने बैठकले निर्णय गरेको छ। यसै क्रममा आगामी असोज २७ गते ललितपुरमा र असोज २९ गते सुनसरीमा विरोध सभाको आयोजना गर्ने निर्णय राप्रपा नेपालको छ।

असोज, कार्तिक र मङसिरमा विभिन्न जिल्लाहरूमा जनप्रदर्शन गर्ने तथा पौष र माघमा मेची महाकाली यात्रा आयोजना गर्ने निर्णय उक्त पार्टीको छ।