इजरायलसँगै ध्वस्त भयो गाउँको नाम ‘राेशन’ राख्ने आनन्दकाे सपना
छात्रवृत्तिको नाममा ठगी धन्दा गरेको परिवारको आरोप

जनकपुरधाम- शनिबार बिहान इजरायलमाथि भएको आतंकवादी हमलामा परी नेपालका १० जना विद्यार्थी मारिए । जसमा धनुषाको लक्ष्मिनिया गाउँपालिका ४ सपहीका २५ वर्षीय आनन्द साह पनि परे । गाजापट्टीबाट हमास आतंकवादी समूहले इजरायलमाथि गरेको आक्रमणमा परी आनन्द साहको मृत्युले पूरै सपही गाउँ नै शोकाकुल भएको छ ।
कृषि शिक्षा अन्तर्गत छात्रवृत्तिमा तालिमका लागि इजरायल पुगेका आनन्दको मृत्युको खबरले उनका आमा, बुवा र बहिनीको अवस्था दुई दिनदेखि बेहाल छ । उनीहरू अचेत अवस्थामा छन् । गाउँकै नाम रोशन गर्ने सोच बनाएर विदेश गएका आफ्ना छोरा कसरी मर्यो भन्ने सोचेर क्षणमै बुवा सोमन साह र आमा शिकली देवी बेहोस हुने गरेका छन् । आनन्द साहले परिवारको दुःख कष्ट हर्ने बेलामा आफै आतंकवादीको आक्रमणमा मारिएपछि परिवारमा बज्रपात परेको छ ।
प्यालेष्टाइन विद्रोहीको आक्रमणमा मारिने आनन्द परिवारका एक्ला छोरा थिए । ७० वर्षकी हजुरआमा बसमतिया देवी पनि नाति मारिएको खबरले अचेत छिन् । तीन छोरी र एक छोरा पाएका बुबा साहको दुःखका दिन समाप्त हुने बेलामा छोराको निधनले साह परिवारमात्र होइन सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।
सामान्य परिवारमा जन्मेका आनन्दले कक्षा ५ सम्म गाउँकै स्कुलमा पढेका थिए । सानो उमेरदेखि नै तीक्ष्ण बुद्धिका कारणले सुमनले मजदुरी गरेरपनि छोरालाई जनकपुरधामको बोर्डिङ स्कूल एन्जलस सेकेन्डरी बोर्डिङ स्कुलमा पढाए । बुवाको मेहनतलाई आनन्दले खेर जान दिएनन्। आफ्नो मेहनतले एसएलसी राम्रो अंक ल्याएर उत्तीर्ण भए । त्यसपछि जनकपुरधामकै मिट क्याम्पसबाट विज्ञानमा प्लस २ पास गरी पूर्ण छात्रवृत्तिमा बीएस्सी गरेका थिए ।
यसैबीचमा सुदूरपश्चिमको कृषि विश्वविद्यालयबाट ५० नेपाली विद्यार्थीलाई कृषि क्षेत्रमै पोख्त बनाउनका लागि १० महिने प्रशिक्षणका लागि इजरायल पठाइयो । उनले इजरायलमा अध्ययन पूरा गर्न नपाउँदै हमासले गरेको आक्रमणमा परी ज्यान गुमाए । बुवा सोमनले छोराको सपना पूरा गर्न गाउँमै तीन लाख रुपैयाँ ऋण काढेर पठाएका थिए ।
दस वर्षसम्म खाडी मुलुकमा काम गरेर छोरालाई राम्रो शिक्षा दिन सफल भएका सोमन छोरा छात्रवृत्तिमा नाम निकालेर इजरायल पुग्दा निकै खुशी थिए । तर २६ दिनमै छोराको मृत्युको खबरले उनको परिवारमाथि बज्रपात परेको छ । आनन्दले गाउँमा नै आधुनिक कृषि फार्म स्थापना गरेर मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि योगदान दिने योजना बनाएका बेलामा यो घटना भएको छ ।
बुबाले जानकी मेडिकल कलेज अगाडि जोडेको ५ कट्ठा जग्गामा अक्सिजन प्लान्ट स्थापना गर्ने योजना पनि आनन्दले बनाएका थिए । त्यस भन्दा अगाडि उनले १ करोड बिरुवा रोप्ने अभियान चलाउने योजना बनाएका थिए । आनन्दको मृत्युको खबरले सपही गाउँ नै पीडामा परेको लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले बताए ।
आनन्दका बुवा सोमन साह रुदैं भन्छन्, 'सरकारले छात्रवृत्तिको नाममा ठगी गर्यो । छात्रवृत्तिमा तालिमका लागि सरकारले इजरायल पठाउने भनिएको थियो । तर त्यहाँ पुगेपछि क्याम्पसमा ५ हजार ८८ डलर थप बुझाए मात्रै तालिम गर्न दिने भनी तालिममा आफ्नो छोरालाई सहभागी नै गराइएन ।' परिवारलाई चिन्ता नहोस् सोचेर छोराले त्यही काम गरेर पैसाको जोहो गर्न थालेका थिए । आनन्दले त्यहीँ एक कृषक कहाँ निबुवा टिप्ने काम शुरु गरेका थिए ।
उनले भने, 'मैले धेरै पटक फोनमा छोरालाई घर फर्किन भनेको थिए, तर छोराको एउटै जवाफ थियो बुवा गाउँको नाम रोशन गर्नुछ । तपाईको सपना पूरा गर्नुछ आफ्नो अध्ययन पूरा गरी चाँडै फर्किनेछु ।' छोरासँग सधैं कुरा भएपनि घटनाको एक दिन पहिला बिहीबारदेखि कुरा नभएको उनले बताए । शुक्रबार बिहान आतंककारी हमलामा छोरा मारिएको खबर पाए ।
आनन्दको घरमा हजुरआमा, आमा, बुवा र ३ बहिनीहरू छन् । बुढेसकालका सहारा रहेका छोरा गुएमाएपछि गाउँमा लिइएको ऋण कसरी चुकाउने र बहिनीहरूको पढाईलेखाई र बिहेवारी कसरी गर्ने भन्ने चिन्ताले सोमनलाई सताउन थालेको छ । उनले भने, 'बुढेसकालको परिवारको एकमात्र छोरा आनन्द थियो । अब हाम्रो परिवारको गुजारा कसरी चल्छ, हामीमाथि त बज्रपात नै परेको छ ।'
प्रदेश सरकारलाई चासो छैन
यता इजरायलमा ज्यान गुमाएका आनन्दको शव ल्याउन र उनको परिवारको राहतबारे मधेस प्रदेश सरकार गम्भीर देखिएको छैन । कार्यवाहक मुख्यमन्त्री एवं भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले आनन्दको शव ल्याउन प्रदेश सरकार मातहतको कुरा नभएको बताए । उनले भने, 'शव ल्याउने काम संघीय सरकारले गर्ने हो । परराष्ट्र मन्त्रालयमा कुरा गरेको छु । हेरौं के गर्छ ।'
आनन्दको परिवारलाई राहत दिनेबारे पनि प्रदेश सरकारले निर्णय नगरेको कार्यवाहक मुख्यमन्त्री यादवले बताए । मुख्यमन्त्री सरोजकुमार यादव भारतको हैदराबाद छन् । 'उहाँ आएपछि राहतबारे छलफल गर्नेछौं हाल त्यस्तो केही योजना प्रदेश सरकारको छैन', यादवले भने ।
आनन्दसहित १० जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान जानुमा प्रमुख दोषी नेपाल सरकार र सुदूरपश्चिम विश्वविद्यालय रहेको स्थानीयहरुको भनाई छ । स्थानीय मोहन पजियारले सबैभन्दा बढी दोषी विश्वविद्यालय भएको बताए । उनले भने, 'छात्रवृत्ति भनिएको कोटामा ५ हजार डलर भन्दा बढी रकम त्यहाँ पुगेपछि माग गरियो, जसको परिणाम पढ्न गएका विद्यार्थीले पेट पाल्न मजदुरी गर्ने अवस्थामा पुगे । छानबिन नगरी विद्यार्थी पठाउनु गलत हो । यो त छात्रवृत्तिको नाममा ठगी हो । सरकार पनि उत्तिकै दोषी हो ।' इजरायलमा आतंकको अवस्था रहे त्यस्ता ठाउँमा विद्यार्थीलाई पठाउनै नहुने उनको तर्क ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया