शुक्रबार १२ बैशाख, २०८२
Friday, April 25, 2025

प्रधानमन्त्रीको बझाङ भ्रमण ‘असफल’

विगत पचास वर्षभन्दा अघिदेखि सुदूरपश्चिम क्षेत्रमा भूकम्प नगएको त्यस क्षेत्रको भूगर्भभित्र शक्ति जम्मा भएकाले जतिखेर पनि ठूलो भूकम्प जाने चेतावनी विज्ञहरूले दिँदै आएका छन् । अघिल्लो साता ६.३ म्याग्निच्यूडको भूकम्प जाँदा पूरै बझाङमा ठूलो असर पर्यो । धेरै घरहरू ढले । त्यसपछिका पराकम्पले स्थिति झन भयावह तुल्याइरहेको छ । सुदूरपश्चिम त्यसै पनि विकट, अनि त्यहाँको कहालीलाग्दो गरिबीका कारण अधिकांश घरहरू पक्की छैनन् । भूकम्पले पक्की घर नै भत्काउने ताकत राख्ने हुँदा कच्ची घरहरू नै धेरै भएको सुदूरपश्चिमको पहाडी क्षेत्र जोखिमपूर्ण अवस्थामा रहेको छ । व्यापक गरिबीका कारण बिहान बेलुका हातमुख जोड्न पनि भारतमै गएर मजदुरी गर्नुपर्ने बाध्यता छ ।

विभिन्न प्राकृतिक स्रोत, खनिज र पर्यटकीय गन्तव्यस्थल भए पनि सुदूरपश्चिममा राज्यको ध्यान पुग्न सकेको छैन । सुदूरपश्चिमले जन्माएका नेता सुकिलामुकिला भई काठमाडौँमै घरजम गरी बसेका छन् । केवल चुनावमा सुदूरपश्चिमेलीकै मतादेश लिएर नेताहरू उनीहरूमाथि राज गर्दै आएका छन् । त्यहाँको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, रोजगारी आदिमा उनीहरूको ध्यान जाँदैन । बिहान बेलुकी खान र लगाउनै धौ धौको स्थितिमा पक्की घर बनाउनु सपना जस्तै भएको छ । त्यही भएर पश्चिम क्षेत्रमा बढ्दो जोखिम छ ।

भूकम्प खबर गरेर आउँदैन । यसको कुनै भविष्यवाणी गर्न सकिएको छैन अहिलेसम्म । तर, पूर्व तयारी र सतर्कता नै भूकम्पबाट बच्ने गतिलो उपाय हो । सतर्कताअन्तर्गत पक्की संरचना पर्छ, जुन आर्थिक अभावका कारण सबैका घर एकाएक पक्की बनाउन सकिँदैन । अनि भूकम्प कुन बेला आउँछ, राति वा दिउँसो वा कहिले ? यसको पनि कुनै भर छैन । त्यही भएर संरचना बलियो बनाउनुकाे विकल्प छैन । राज्य आफैँले पनि प्रत्येक नागरिकका घर पक्की तुल्याउन सक्दैन । राज्यले त मुख्यमन्त्री र प्रदेश प्रमुखहरूलाई काठमाडौँमा बसी समानान्तर कार्यालय र आवास बनाइदिन्छ । तर, भूकम्पको जोखिममा रहेका आफ्ना नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता र सोच कुनै पनि नेता, मन्त्री, सांसदहरूसँग छैन ।

भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा गएका प्रधानमन्त्रीले त्यहाँ भावुक भाषण गरेर आए । उनी आएसँगै आफूले गरेका वाचा बिर्से । भूकम्प पीडितलाई राहत दिन सरकारी संयन्त्र सकारात्मक छैन । हाम्रा कर्मचारीतन्त्र यति लुच्चो छ कि जसलाई परे परोस् भन्ने खालको छ । नेताले अह्राउने कर्मचारीलाई नै हो । तर, कर्मचारीहरूमा तदारुकता नै छैन । त्यही भएर प्रधानमन्त्रीको बझाङ भ्रमण असफल हुन पुग्यो । भूकम्प पीडितहरूकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल पुगेका थिएनन्, त्यहाँ राज्य पुगेको थियो । त्यो राज्यको संयन्त्रले नै प्रधानमन्त्रीको भ्रमण असफल तुल्याइदियो । घरबारविहीन अहिले पनि पालमुनि बस्नुपरेको छ । धेरै संख्यामा भूकम्पपीडितहरू भोकभोकै छन् । खै त सरकारी संयन्त्रले काम गरेको ?

गाउँमै सिंहदरबार गयो भन्थे, तर बझाङमा सिंहदरबार होइन, सिंहचाहिं गएको छ । प्रदेश सरकार यो भूकम्प पीडितलाई राहत दिलाउनेमा पूर्णतः असफल देखिएको छ । स्थानीय तहको हैसियत र औकात पनि देखियो । आफ्ना नागरिक/मतदाता भोकभोकै पालमुनि बस्नु पर्दा यी स्थानीय तहका जनप्रतिनिधिहरू के हेरेर बसेका ? यिनलाई विकास निर्माणको बजेटमा जति पनि बेरुजु निकाल्न हुने, भोकाएकाहरूलाई खुवाउन नसक्ने ? अस्थायी रूपमा सजिलोसँग बासको व्यवस्था गर्न नसक्ने ? त्यसमा लुच्चा कर्मचारी । जनतालाई परेको बेला राज्यले गर्नुपर्छ भन्ने सोच नै यिनीहरूको दिमागमै आएन त्यही भएर प्रधानमन्त्रीको बझाङ भ्रमण असफल तुल्याइदिए ।

बझाङमात्र होइन, सिंगो सुदूरपश्चिमका पहाडी क्षेत्रका घरहरू पक्की बनाइनुपर्छ । यसका लागि राज्यले नीति ल्याउनुपर्यो । पाँच मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्न तम्सेको स्थानीय तहले पहिला आफ्ना नागरिकलाई सुरक्षित राख्नुपर्यो । प्रदेशका सांसद र मन्त्रीको चित्तमा हुनुपर्यो । अनि संघले उचित नीति र कार्यक्रम ल्याएर अनिवार्य रूपमा पक्की घरमा रूपान्तरण गर्ने अभियान ल्याउनुपर्यो ।