संसद्को गरिमा जोगाउन सांसद तत्पर रहनुपर्छ : सांसद बस्नेत

काठमाडौँ- मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक निकायमा पुगेका सांसद जनताका आवाज सम्बोधन गर्न तथा कानुनी शासनको पालनातर्फ उन्मुख हुनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेत बताउँछिन् । संसद्को गरिमा जोगाउन सांसद सधैँ तत्पर रहनुपर्ने उनको भनाइ छ ।
सांसद बस्नेतले गरिमामय संसद्मा आइसकेपछि देश र जनताका पक्षमा सबै सांसद एकजुट हुनुको अर्को विकल्प नरहेको जिकिर गरिन् । सांसद बस्नेतले भनिन्– “पार्टीअनुसार सांसदका विचार फरक फरक होलान् ।
चुनावका बेला झण्डा फरक फहराए होलान् । तर गरिमामय संसद्मा गइसकेपछि नितान्त राष्ट्र र राष्ट्रियताको पक्षमा आवाज बुलन्द गर्नुपर्छ । कानुन निर्माण गर्ने ठाउँमा सांसद बाझिरहनु राम्रो हुदैँन । यसमा सबै सांसद सजग हुनुपर्छ ।”
जनताका अपेक्षा अनुरुप संसदीय अभ्यास नभएको सांसद बस्नेतको ठहर छ । “संसद्मा जुन आशा राखेर हामी प्रवेश गरेका थियौँ । सोअनुरुप पाइएको छैन । हामीले उठाएका जनताका आवाजलाई सरकारले सुनेको छैन । फरक विचारको प्रतिनिधित्व हुन सकेको छैन । कुनै समय त सरकार छ कि छैन? भन्ने लाग्छ”, सांसद बस्नेतले भनिन् । संसदीय अभ्यासलाई सफल बनाउन सानादेखि ठूला दलको उत्तिकै महत्व रहने हुनाले सबै सांसद राजनीतिक स्वार्थबाट बाहिर निस्केर मुलुकको समृद्धितर्फ एकजुट हुनुपर्ने उनको भनाइ छ ।
पञ्चायतकालदेखि नै राजनीतिमा प्रवेश गरेकी सांसद बस्नेत भेरी अञ्चल महिला संगठनको सचिव थिइन् । विसं २०५४ र २०७४ मा गरी दुईपटक उनी गुलरिया नगरपालिका–७ को वडाध्यक्षमा निर्वाचित भइन् । विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध रहँदै आएकी सांसद बस्नेतले सदनमा पेश हुने विधेयकमाथि बृहत् छलफल हुनुपर्नेमा जोड दिइन् ।
“सदनमा पेश हुने विधेयक सरकारको मात्र होइन । देशको विधेयक हो । जनतालाई सडकमा ल्याउने वातावरण सिर्जना गर्नुहुँदैन । देश र जनताको हित अनुकूल कानुन ल्याउन बृहत् छलफलको अभ्यास हुनुपर्छ”, उनले भनिन् । उनले आफ्नो पार्टी भ्रष्टचारविरुद्ध, विधिको शासनको कार्यान्वयनमा आधारित रहेको तर कतिपय विषय सदनमा बोल्न नपाएको गुनासो गरिन् । मुलुकको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात् गरी एकता कायम गर्न, समाजिक सद्भावको संरक्षण र प्रवद्र्धन गर्न सबै ऐक्यबद्ध हुन आवश्यक रहेको उल्लेख गर्दै उनले केही दिनयता देशमा फैलिएको अराजकतालाई निर्मूल पार्न सबै मिल्नुको अर्को विकल्प नरहेको उल्लेख गरिन् ।
पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी सांसद बस्नेतले जनताले राम्रो कानुन बनाउन, हिजोका त्रुटिलाई सच्याउन, सबै वर्ग, समुदाय लक्षित कानुन बन्ने अपेक्षा गरेका छन् तर सोहीअनुरुप हुन नसकेको जिकिर गरिन् । सांसद बस्नेत सरकारप्रति सन्तुष्ट रहने अवस्था नरहेको बताउँछिन् ।
“कानुनतः विधिको शासन कार्यान्वयन भएको देखिँदैन । हत्या हिंसा, घाइते, लुटपाटका घटना भइरहेका छन् । धर्म संस्कृतिका नाममा अराजकता फैलिएको छ । मुलुकमा शान्ति, सुशासन कायम गर्न सरकार चुकेको छ”, सांसद बस्नेतले भनिन् । रासस

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया