शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

नेपाली मौलिकताको समाजवाद विकासमा लागौं : मुख्यमन्त्री शर्मा

फाइल फोटो

कर्णाली - नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नेपाली मौलिकताको समाजवाद विकास गर्नुपर्ने बताएका छन्। सुर्खेतको वीरेन्द्रनगरस्थित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमै समाजवादोन्मुख व्यवस्था उल्लेख गरिएकाले दलहरुले समाजवादका विषयमा बहस सिर्जना गरी नेपाली मौलिकताको समाजवाद र विकासलाई अपरिहार्य सर्तका रूपमा लिनुपर्नेमा जोड दिएका हुन् । 

 मुख्यमन्त्री शर्माले भने, “संविधानको प्रास्तवनामै समाजवादोन्मुख व्यवस्था भनिएको छ र हामी कांग्रेस, कम्युनिष्ट सबैले समाजवाद भनिरहेका छौँ । कस्तो समाजवाद हामीले चाहेका हौँ, त्यसको बहस गर्न जरुरी छ ।” त्यो बहसबाट अहिलेको सामाजिक अन्तर्विरोधलाई समाधान गर्न सकिने भन्दै उनले आर्थिक सम्पन्ता र सामाजिक न्यायलाई सँगसँगै लैजानुपर्नेमा जोड दिए । 

मुख्यमन्त्री शर्माले भने,“जनतालाई सुख र खुसी चाहिएको छ । आर्थिक सम्पन्तासँगै सुख र सामाजिक न्यायसँगै खुसी जोडिएको छ । प्रदेश सरकारले आर्थिक सम्पन्ताका लागि रोजगारी र सामाजिक न्यायका लागि जागरणका कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।”   रासस