आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

जनताको समस्यालाई थाँती राख्ने नेता हुँदैन,  हरेक समस्या समाधान गर्नुपर्छ :रेशम चौधरी

काठमाडाैँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आम नागरिकहरूको समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलका नेताहरूले ध्यान दिँदै तदारुकता देखाउनु पर्ने बताएका छन् ।  बुधबार कोहलपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै संरक्षक चौधरीले नागरिकहरूको समस्यालाई नजरअन्दाज गर्ने, थाती राख्ने मान्छे नेता नहुने तर्क गरे । 

‘आम नागरिकहरूका समस्या के छन् ? आवश्यकता के छ ? उनीहरूले के चाहिरहेका छन् ? कस्तो खालको विकास खोजिरहेका छन् ? के गर्दा आम नागरिकहरूको हकहितको संरक्षण हुन्छ ? नेता, जनप्रतिनिधि र सरकारले के गर्दा देशमा विकासको लहर आउँछ ?  यस्ता कुरामा ध्यान दिँदै आवश्यक नीति तथा कार्यक्रम बनाएर कार्यान्वयन नगर्ने, जनताका दुख, पीडामा साथ नदिने, उनीहरूका समस्यालाई समाधान नगर्ने व्यक्ति नेता हुन सक्दैन’, चौधरीले भने । 

नागरिकहरूको मनोभावना र चाहनालाई केन्द्रमा राखि आवश्यक रणनीतिका साथ काम गर्न आफ्ना नेता तथा कार्यकर्ताहरू लागि परेको उनले बताए । आफूलाई राजनीतिक प्रतिशोधका कारण जालझेल गरी जेल पठाएको बताउँदै जनताको पक्षमा काम गर्न आगामी दिनमा कसैले रोक्न नसक्ने उनको तर्क छ । 

‘हिजो पनि जनताको पक्षमा काम गर्न लाग्यो भनेर अनेक जालझेल गरेर हत्या आरोपमा जेल पठाए । आज मैले सफाइ पाएर आएको  छु । अब पनि हामीलाई जनपक्षीय काम गर्न नदिने विभिन्न शक्तिहरू प्रयोग भइरहेका छन्’, उनले भने, ‘तर, अब हामीलाई जनताको पक्षमा, देशको पक्षमा यहाँको विकासका निम्ति, सम्बृद्धिका निम्ति काम गर्न कसैले रोक्न सक्दैन।’