आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

महासचिव गुटेरेसद्वारा पुम्दीकोटको अवलोकन, फेवातालमा नौका विहार

गण्डकी- नेपालको औपचारिक भ्रमणका क्रममा आज पोखरा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियाे गुटेरेस पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोट पुगेका छन् ।

आज दिउँसो ४ः३० बजे पुम्दीकोट पुगेका महासचिव गुटेरेसलाई महादेवको विशाल मूर्ति निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा महानगरपालिका-२२ का वडाध्यक्ष हिमलाल बराललगायतले स्वागत गरेका थिए ।

महासचिव गुटेरेसले यहाँस्थित महादेवको विशाल मूर्तिसँगै यहाँबाट देखिने हिमाली दृश्यावलोकन एवम् फेवातालसहित पोखराको रुचिपूर्वक अवलोकन गरेका थिए । महासचिव गुटेरेसले करिब आधा घण्टा पुम्दीकोटमा बिताएको समितिका सदस्य मातृका बरालले जानकारी दिए । 

जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट अग्लो महादेवको विशाल मूर्ति पोखराको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित बन्दै गएको छ । पुम्दीकोटमा बढ्दै गएको आकर्षणले आफूहरूलाई निकै उत्साहित बनाएको मूर्ति निर्माण अभियानका संयोजक एवं पुम्दीकोट विकास समितिका अध्यक्ष बरालले बताए ।

जनस्तरबाट निर्माण गरिएको  महादेव विशाल मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माण अघि बढिरहेको बताउँदै बरालले हालसम्मका संरचना निर्माणमा लगभग रु २६ करोड लगानी भइसकेको जानकारी दिए । समितिले मूर्तिसहित संरचना निर्माणका लागि रु ४० करोड लागत अनुमानसहितको गुरुयोजना तयार गरी काम गरिरहेको छ ।

देशका विभिन्न स्थानका साथै भारतलगायत विदेशी मुलुकबाट पनि पर्यटक पुम्दीकोट पुग्ने गरेका छन् । पछिल्ला समयमा बढ्दै गएको आकर्षणले पशुपतिनाथपछिको दोस्रो तीर्थस्थलका रूपमा पुम्दीकोट स्थापित हुने विश्वास लिइएको छ । पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको मूर्ति अवलोकनसँगै एकसाथ पोखरा उपत्यकासहित धवलागिरि, अन्नपूर्णजस्ता हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ फागुनमा महाशिवपुराण लगाउँदा रु छ करोड १८ लाखसहित दानस्वरूप २० रोपनी जग्गा प्राप्त भएको थियो भने विसं २०७८ मा दोस्रो पटक महायज्ञ लगाउँदा करिब रु तीन करोड सहयोग प्राप्त भएको थियो ।

समितिले वृहत् गुरुयोजनाअनुसार बाँकी कामअघि बढाउँदै गएको छ । मूर्ति स्थापनाका साथै प्रशासनिक भवन, गुरुमहाराज आश्रम निर्माण भइसकेका छन् भने नजिकै पल्लो थुम्कोमा सुमेरु पर्वतकै झल्को दिने गरी संरचना निर्माण भइरहेको छ । विशाल मूर्ति रहेको स्थान (कैलाश) र सुमेरु पर्वतलाई जोड्ने विद्युतीय चियरकार निर्माण गर्ने कार्ययोजनासमेत छ । 

त्यस्तै शान्ति आश्रम, ज्येष्ठ नागरिक मिलन केन्द्र, बगैँचा आदि निर्माण गर्ने लक्ष्य राखिएको छ । मूर्ति परिसरमा गणेश मनोरेल, शिवलिङ्गआदि स्थापना भइसकेको छ भने परिसरमा आकर्षक प्रवेशद्वार निर्माण भइरहेको छ । शिवलिला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर निर्माण गर्ने समितिको सोच छ ।

संयुक्त राष्ट्रसंघका महासचिवको पुम्दीकोटको भ्रमणले यस स्थानका विश्वव्यापी प्रवर्द्धन हुने विश्वास लिइएको निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट पर्यटन विकास समितिका अध्यक्ष बरालले बताए ।

'महासचिव गुटेरेसले पुम्दीकोटको अवलोकनसँगै यहाँबाट देखिने हिमाली दृश्य, फेवातालसहित पोखराको अभिरुचि पूर्वक अवलोकन गर्नुले यहाँको विश्वव्यापी प्रवर्द्धन भएको छ,' उनले भने, 'उहाँको आगमनले हामीलाई हर्षितसँगै थप उत्साहित बनाएको छ ।' 

महासचिव गुटेरेसले फेवातालमा नौका विहार गरेका छन् । उनको भ्रमणले पोखराको पर्यटन विश्वव्यापी रूपमा प्रवर्द्धन भएको पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले बताए । 

महासचिव गुटेरेसले फिस्टेल लजदेखि तालबाराही मन्दिरसम्म पुगी दृश्यावलोकनसँगै ताल र हिमालबारे जानकारी लिएका थिए । रासस

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…