आर्यनको रोजाइमा जयशमशेर जबरादेखि अमरदिपसम्म

काठमाडौं : नाटक, टेलिसिरियल हुँदै ‘किस्मत’ फिल्ममार्फत नेपाली फिल्ममा पदार्पण गरेका आर्यन सिग्देल लामो समय निर्माताको रोजाइमा एक नम्बरमा रहे । ‘मेरो एउटा साथी छ’बाट स्टारडमको शिखर चढेका आर्यन पछिल्ला दिनमा भने एउटा हिटको खोजीमा छन् । ४० हाराहारी सिनेमा गरेका आर्यन अभिनित पछिल्ला कुनै पनि फिल्मले हिटको ट्याग पाएका छैनन् ।
परम्परागत सोच अनुसार हिरो हुनका लागि अनिवार्य मानिने गोरो अनुहार, अभिनय र नृत्य तीनै गुण भएका आर्यनलाई दर्शकले थुप्रै फिल्ममा अत्यधिक रुचाएका छन् । तर, ‘आर्यन आफैँले आफूलाई पर्दामा कत्तिको रुचाएका छन् ? इकागजको यो प्रश्नमा उनले आफूलाई मन पर्ने पाँच चरित्रको बारेमा बताए ।
जयशमशेर जंगबहादुर राणा (मेरो एउटा साथी छ)
आर्यनलाई आफूले खेलेको चरित्रमध्ये ‘मेरो एउटा साथी छ’को जयशमशेर जंग बहादुर राणा सबैभन्दा मन पर्छ । आर्यनले यो फिल्म खेल्नु अघि ‘किस्मत’ र ‘मौसम’ गरी दुई फिल्ममा अभिनय गरिसकेका थिए । जसमध्ये ‘किस्मत’ सुपरहिट भएको थियो भने ‘मौसम’ औसत मानिएको थियो । तर, ‘मेरो एउटा साथी छ’ पछि मात्र आर्यनले स्टारडमको स्वाद चाख्न पाएका थिए । आर्यन फिल्ममा देखिने जयको एटिच्युड आफ्ना लागि प्रिय भएको बताउँछन् ।
‘खासमा यो फिल्म कोरियन फिल्मबाट उठाइएको हो भन्ने थाहा थियो । तर, निर्माता÷निर्देशकले कोरियन फिल्म नहेर्नु भनेका थिए । धेरै दिनसम्म जयको एटिच्युड खोज्दै भौतारिएँ । तर, लास्टमा आफैं भित्र एक्स्प्लोर गरेँ,’ उनले भने । आर्यनका अनुसार धनीको एटिच्युड खोज्न उनी धनीमानी जाने केही क्लब र रेष्टुँरा पनि गए । तर, उनले आफू र उनीहरूमा केही अन्तर पाएनन् । उनीहरूमा सिनेमाटिक एटिच्युड पाएनन् । तर, एक दिन अचानक उनले आफैंमा जयले खोजेको गुण पाएको महसुस गरे । ‘सुटिङमा जब मैले त्यो एटिच्युड देखाएँ, निर्देशक आफैं चकित परेका थिए,’ आर्यनले सम्झिए । रिलिजपछि फिल्म र आर्यन दुवैले प्रशस्त चर्चा पाएका थिए ।
अभि (धुवाँ यो नशा)
आफूलाई मन पर्ने दोस्रो चरित्रको कुरा गर्दा आर्यनले ‘धुवाँ यो नशा’को नाम लिए । आर्यनका अनुसार पहिलो फिल्ममा जस्तै उनले यो फिल्ममा पनि उनले जिन्दगी नदेखेको चरित्र निर्वाह गरेका थिए । फिल्मभित्र आर्यन लागु पदार्थ दुव्र्यसनीको भूमिकामा छन् ।
आर्यनले यो चरित्र आत्मसात गर्न पनि सकस भएको थियो । ‘ड्रग एडिक्ट बन्नलाई धेरै रिहाब धाएँ र एडिक्टसँग पनि संगत गरें, ! आर्यनले आफूले गरेको तयारीका बारेमा बताउँदै भने, ‘तर, देख्नु र कलाकारले आत्मसात गर्न सक्नु फरक कुरा हुन् । मलाई त्यो चरित्रको लय समात्न गाह्रो भएको थियो । त्यसैले पनि यो चरित्र विशेष लाग्छ ।’ दसैँको समयमा रिलिज भएको फिल्म रिलिजको चेपुवामा पर्दा हलमा भने असफल भएको थियो । आर्यनलाई यो फिल्मको चरित्र मात्र होइन फिल्म आफैंमा पनि राम्रो लाग्छ । ‘मन पर्ने फिल्मको लिस्टमा पनि यो फिल्म दुई÷तीन भित्रै पर्छ’ आर्यनले भने ।
डाक्टर निल (माला)
आर्यनले आफैंलाई मन पर्ने चरित्रको लिस्टमा ‘माला’ फिल्मको डाक्टर निललाई तेस्रो नम्बरमा राखेका छन् । यो फिल्ममा डाक्टर निलको ‘सटलनेस’आफूलाई विशेष लागेको आर्यनले बताए । ‘मैले बीचमा थुप्रै फन्टुस खाले युवकको भूमिका निभाएँ जुन आवरणमा फरक थिए तर सारमा एकै । तर, यो फिल्ममा मेरो चरित्र डार्क मात्र थिएन डिटेलिङसहितको पनि थियो,’आर्यनले मन पर्ने कारण बताउँदै भने ।
रोमान्टिक भूमिकामा प्रभावहीन हुँदै गएका आर्यनले यो फिल्मपछि आर्यनमा अझै अभिनयको दमखम रहेको प्रमाणित गरेका थिए । आर्यन भन्छन् ‘ फिल्म हेरेपछि धेरैले आर्यनले गरेको अहिलेसम्मको अप्ठेरो रोल भन्ने प्रतिक्रिया दिएका थिए । किनकि यो एकातिर हरर थियो त अर्कोतिर मानवीय । चुनौतीपूर्ण रोल गरेर पनि स्याबास्सी पाएका कारण यो मेरो प्रिय रोलमध्ये एक हो ।’ हरर विधाको फिल्ममा प्रियंका कार्कीले पनि मन छुने अभिनय गरेकी थिइन् ।
हरिकृष्ण शर्मा (होमवर्क)
‘होमवर्क’ आर्यनले बाबु छोराको दोहोरो भूमिका निर्वाह गरेका छन् । ६० वर्षभन्दा ज्यादा उमेरको उद्योगपति हरिकृष्ण शर्मालाई एउटा समारोहमा कसैले अनपढ भनेर हियाएपछि उनी बुढ्यौलीमा स्कुल भर्ना हुन्छन् । आर्यनले यही स्कुल जाने बृद्धको भूमिका निर्वाह गरेका थिए ।
आफ्नो उमेरभन्दा दोब्बर उमेरको भूमिका निर्वाह गर्दा पाएको सन्तुष्टिका कारण उनले यसलाई पनि आफ्नो मन पर्ने भूमिका भित्र राखेका छन् । ‘म बाबुको भूमिकामा यति धेरै डुबेको थिएँ कि छोराबन्दा पनि बुढो मान्छेकै इनर्जी बोकेर काम गरिरहेको थिएँ । पछि निर्देशकले सम्झाएपछि मात्र म जवान हुँ भन्ने सम्झन्थेँ,’ उनले भने । आर्यनले यो फिल्ममा गौरी मल्ल र नम्रता श्रेष्ठको जोडीको रुपमा अभिनय गरेका छन् ।
अमरदिप कार्की (पुनर्जन्म)
बक्स अफिसमा चुपचाप सेलाएको ‘पुनर्जन्म’मा आर्यनले आर्मी अफिसरको भूमिका निभाएका छन् । आफ्नो स्कुल स्मृतिसँग जोडिएका कारण पनि यो फिल्मको चरित्र आफूलाई मन परेको आर्यनले बताए ।‘मैले सल्लाघारीको वीरेन्द्र सैनिक स्कुलबाट एसएलसी गरेको हुँ । सेनाको हरकुरासँग परिचित थिएँ ।
जब यो फिल्ममा आर्मी बन्ने मौका पाएँ, स्कुले दिनमा फर्किए जस्तो भयो,’ उनले भने, ‘यो फिल्ममा हाम्रो संस्कार/संस्कृतिको पनि विस्तृत डकुमेन्टेसन छ । त्यही कारण पनि मेरा लागि यो फिल्मको अमरिदिप प्रिय छ ।’
प्रस्तुति : सामीप्यराज तिमल्सेना

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

प्रतिक्रिया