चाडपर्वमा झन् धेरै दुर्घटना : १५ दिनमा ७६ दुर्घटना, २६ जनाको मृत्यु

बुटवल - बडादसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनको अवधिमा लुम्बिनी प्रदेशमा सडक दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार दसैँको अवधिमा ७६ वटा सवारी साधन दुर्घटनामा परेका छन् ।
लुम्बिनी प्रदेशका रोल्पा र पूर्वी रुकुमबाहेक १० वटै जिल्लामा सवारी दुर्घटना भएका छन् । कपिलवस्तु १२ र प्युठानमा तीनवटा सवारी दुर्घटना भएपनि मानवीय क्षति भने भएको थिएन ।
प्रहरीका अनुसार सडक दुर्घटनामा परी सबैभन्दा धेरै पाल्पामा ७ जनाको मृत्यु भएको छ। पाल्पामा ५ वटा सवारी साधन दुर्घटनामा परेका थिए। अन्य जिल्लाको तुलनामा दुर्घटनामा पर्ने सवारी साधनको संख्या थोरै भएपनि एउटै दुर्घटनामा एकै परिवारका ६ जनाको मृत्यु भएपछि पाल्पामा मृतकहरुको संख्या बढि देखिएको हो ।
कात्तिक ५ गते महाअष्टमीको दिन पाल्पाको रानीमहल गएर फर्किँदै गर्दा रानीमहलदेखि डेढ किलोमिटर नजिकै बैकुण्ठभिरमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १६ रजहरका ६५ वर्षीय कृष्ण बहादुर लोहनीको परिवार दुर्घटनामा परेको थियो ।
बागमती प्रदेश ०१-०२६ च ७२०९ नम्बरको जिपमा सवार रहेका कृष्ण बहादुरसँगै उनकी श्रीमती ५५ वर्षीया पार्वती लोहनी, बुहारी ३५ वर्षीया सविना धिताल, नातिहरु ११ वर्षीय सोबिस लोहनी, साढे दुई वर्षका ईशव लोहनी र उनकी सम्धिनी ५५ वर्षीया चुना धितालको घटनास्थलमै मृत्यु भएको थियो ।
जिप चलाइरहेका कृष्णबहादुरका छोरा ३६ वर्षीय ईश्वरबहादुर लोहनी भने दुर्घटनामा परि गम्भीर घाइते छन् । त्यस्तै गत शनिबार बडादसैँको अन्तिम दिन दसैँ मनाएर स्याङ्जादेखि बुटवलतर्फ आउँदै गरेका स्याङ्जा वालिङ नगरपालिका ५ का ४१ वर्षीय मोहनीलाल थापाको पनि मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । पाल्पामा दुर्घटनामा परी ५ जना घाइते भए ।
यस्तै सवारी दुर्घटनामा परी रुपन्देही, नवलपरासी र दाङमा चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा सबैभन्दा धेरै १५ वटा सवारी दुर्घटना हुँदा १३ जना गम्भीर घाइते भएका थिए । नवलपरासीमा ७ वटा सवारीसाधन दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भए भने दाङमा १० वटा सवारी साधन दुर्घटना हुँदा १३ जना घाइते भएका थिए ।
प्रहरीका अनुसार कपिलवस्तुमा १२ वटा सवारी दुर्घटनामा १० जना गम्भीर घाइते भए । कपिलवस्तुमा दशैंको अवधिमा सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या शुन्य छ । त्यस्तै बर्दियामा ७ वटा सवारी साधन दुर्घटना हुँदा ३ जनाको मृत्यु भयो भने ५ जना गम्भीर घाइते भए ।
बाँकेमा १२ वटा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने १० जना गम्भीर घाइते छन् । त्यस्तै अर्घाखाँचीमा ४ वटा सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने गुल्मीमा एउटा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्यूठानमा ३ वटा सवारी दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् भने मृतकको संख्या शून्य छ । यो अवधिमा रोल्पा र पूर्वी रुकुममा भने कुनै पनि सवारी दुर्घटनामा नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लुम्बिनी प्रदेशका सातवटा जिल्लामा सवारी दुर्घटना परी ३४ जना सामान्य घाइते भएका थिए ।
दसैँ तिहार जस्ता चाडपर्वको समयमा सडकमा सवारीसाधन र यात्रुहरुको आवत/जावत बढि हुने हुर्दा दुर्घटनाको जोखिम पनि धेरै हुने सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेल्वासे बताउँछन् । प्रहरीको तथ्यांकलाई हेर्दा अन्य समयभन्दा चाडपर्वहरुमा सडक दुर्घटनाको संख्या र मृत्यु दर पनि बढि हुने गरेको छ ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाईका अनुसार चाडपर्व लक्षित चेकजाँच लगायत दुर्घटना न्यूनीकरणका उपाय बढि भएपनि दुर्घटना रोकिएको छैन ।
लुम्बिनी प्रदेशमा अन्य प्रदेशमा भन्दा सवारी दुर्घटनाका घटना धेरै हुने गर्छन् । पछिल्ला तीनवटा आर्थिक वर्षमा लुम्बिनीका १२ वटा जिल्लामा भएका सवारी दुर्घटनामा परी एकहजार ५ सय ३६ जनाको मृत्यु भएको छ । यो अवधिमा तीन हजार २ सय ६७ सवारी दुर्घटना भएका थिए । दुर्घटनामा परी ३ हजार ५ जना गम्भीर घाइते भएका थिए। आर्थिक वर्ष ०७७र ७८ मा एकहजार २सय ११ सवारी दुर्घटनामा हुँदा ५ सय २३ जनाको मृत्यु भएको थियो । त्यस्तै, आर्थिक वर्ष ०७८ र ७९ मा एकहजार १सय ६४ वटा सवारी दुर्घटनामा परी ५सय ५१ जनाको मृत्यु भएको थियो भने गत आर्थिक वर्ष ०७९ र ८० मा ८सय ९२ सवारी दुर्घटना हुँदा ४ सय ६२ जनाको मृत्यु भएको थियो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया