मन्त्री-सांसदले हेरे ‘परदेशी २’

काठमाडौँ- तेस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘परदेशी २’को विशेष शो आयोजना गरिएको छ । बुधवार बेलुका बानेश्वरस्थित आईएनआई सिनेमाजमा आयोजित विशेष शोमा मन्त्री, सांसददेखि चलचित्रकर्मी, संगीतकर्मी एवं विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी रहे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम, नेकपा एमालेका सांसद ठाकुर गैरेलगायतले हलमा पुगेर २ घण्टा २० मिनेट लामो चलचित्र ध्यानपूर्वक हेरे ।
हलबाट निस्किँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले चलचित्रले मन छोएको बताए । ‘चलचित्र नेपाली समाज र नेपाली संस्कृतिको बेजोड प्रस्तुति भएको अनुभूति गरेँ’ उनले भने । उनले चलचित्र सन्देशमूलक रहेको भन्दै दर्शकलाई पनि हेर्न आग्रह गरे ।
एकीकृत समाजवादीकी नेतृ झाँक्रीले आफूले देखेका कुरालाई नै चलचित्रले उठान गरेकाले आफूलाई छोएको बताइन् । ‘मलाई कथाले एकदमै छोयो । कथावस्तु, प्रस्तुति, अभिनय सबै राम्रो छ’ उनले भनिन् ‘चलचित्रमार्फत धेरै ठूलो सन्देश समेत दिनुभएको छ ।’ उनले चलचित्रको सिंगो टिमलाई बधाई एवं धन्यवाद समेत दिइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमले चलचित्र अत्यन्तै राम्रो बनेको भन्दै खुसी लागेको बताइन् । ‘समग्रमा चलचित्र अत्यन्तै राम्रो बनेको रहेछ । यसले नेपाली समाजको विशेष गरी लोक संस्कृतिको पनि राम्रो जागरण गरेको रहेछ । मलाई अत्यन्तै धेरै खुशी लाग्यो’ – गौतमले भनिन् । उनले चलचित्र हेरिरहँदा खुसी खोज्ने चाहानाले विदेसिएका आफ्ना साथीहरुलाई धेरै सम्झिएको समेत बताइन् ।
एमालेका सांसद गैरेले चलचित्रले आमाबुवाको देशप्रतिको आशा के हो ? आफ्नो समाजप्रतिको अपेक्षा के हो ? बुवाआमाप्रति छोराछोरीको दायित्व के हो भन्ने कुरालाई चलचित्रले जिवन्त ढंगले उजागर गरेको बताए । ‘बुवाआमा र सन्तानबीचको माया, विदेशमा बस्नेहरुले कस्तो जिन्दगी भोगिरहेका छन् भन्ने कुरालाई समेत चलचित्रले देखाएको छ’ उनले भने, ‘हाम्रो नेपाली समाज, संस्कृति, मूल्यमान्यतादेखि देश विकासको जनअपेक्षा समेत चलचित्रले व्यक्त गरेको छ ।’
विशेष शोमा निर्देशक नारायण रायमाझी, निर्माता राजेश वंशल, अभिनेत्री केकी अधिकारी लगायत चलचित्रको टिम उपस्थित थिए । निर्देशक रायमाझीले प्राप्त प्रतिक्रियाले एकदमै खुसी लागेको बताए ।
‘चलचित्र समाजको दर्पण हो भनेर हामीले सधैँ भन्ने गरेका छौं । यो हामीले बनाएको भन्दा पनि हाम्रो समाजको यथार्थ कथा हो । सम्पूर्ण टिमको संयुक्त प्रयासले चलचित्र राम्रो भएको हो’ रायमाझीले भने, ‘चलचित्रलाई मन पराउनुहुने सम्पूर्णलाई धन्यवाद भन्न चाहान्छौं ।’ अभिनेत्री अधिकारीले यसपटक आफूलाई दुईवटा दसैँ आएको आभास भएको बताइन् ।
‘एउटा दसैँ त छँदै थियो । परदेशीले अर्को दसैँ पनि थपिदियो’ उनले भनिन् । निर्माता वंशलले दर्शकबाट पाएको माया आफूहरुको लागि सबैभन्दा ठूलो सम्पत्ति भएको बताए । माउथ पब्लिसिटी राम्रो भएका कारण चलचित्र अझै लामो समय जाने विश्वास उनले व्यक्त गरे ।
असोज २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र शुक्रवारबाट चौथो सातामा प्रवेश गर्दैछ । चलचित्रमा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, रमा थपलिया, प्रशान्त तामाङ, दिलिप रायमाझीलगायतको अभिनय छ । रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रले विदेशमा समेत आफ्नो प्रदर्शन आरम्भ गर्दैछ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया