आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

विवाहको खबरले हैरान मृनाल, भन्छिन्, ‘केटा र विवाहको ठाउँ थाहा पाऊँ ।’

मुम्बई-  अविवाहित हिरोइनको अफेयर र विवाहका झुठा खबर छापिनु बलिउडमा सामान्य हो । तर यस्ता खबरले हिरोइनलाई राम्रै तनाव दिने गरेको खबर आउँछन् । हालसालै बलिउड अभिनेत्री मृनाल ठाकुर यस्तै खबरको स्रोत बनेकी छिन् । उनले फ्यानलाई स्पष्टिकरण नै दिनु परेको छ । 

बिहबार अचानक मृनालले तेलगु अभिनेतासँग विवाह गर्न लागेको खबर छ्यापछयाप्ती भयो । खबरमा मृनाल तेलगु अभिनेतासँग प्रेममा रहेको र विवाह गर्न लागेको बताइएको थियो । खबर भाइरल हुन थालेपछि मृनालले इन्स्टाग्रामको सहारा लिँदै विवाह गर्न लागेको खबर झुठो भएको स्पष्टीकरण दिएकी छिन् । उनले इन्स्टाग्राम स्टोरीमा भिडियो राख्दै विवाहको खबर अफवाह भएको बताएकी छिन् । 

भिडियोमा उनले भनेकी छिन्, ‘तपाईँहरूको मन दुखाउन गइरहेकोमा क्षमाप्रार्थी छु । डिजाइनर, स्टाइलिस्ट, साथी, परिवार जजसले एक घन्टादेखि फोन गरिरहनु भएको छ र तेलगु कोही केटासँग विवाह गर्न लागेको भन्दै बधाई दिई रहनु भएको छ, कृपया मलाई बताइदिनु न त्यो केटा को हो ? सरी, यो अफवाह हो ।’
उनले विवाहको खबर हाँस उठ्दो रहेको बताउँदै समाचार सम्झेर आफूलाई हाँसो लागिरहेको बताएकी छिन् । उनले भिडियोमा भनेकी छिन्, ‘म विवाह त गर्ने नै हो । दुलाहा तपाईँहरू नै खोजिदिनू । तर सहर, ठाउँ कता हो जानकारी पाउँ ।’

खासमा ‘पुष्पा’ फिल्मका हिरो अल्लु अर्जुनका पिता अल्लु अरविन्दले केही दिनअघि मृनाललाई अवार्ड समारोहमा अवार्ड प्रदान गर्ने क्रममा आफूले मृनाललाई हैदरावादमा नै विवाह गरेर बसेको देख्न चाहेको बताएका थिए । यो खबर त्यहीँबाट बाङ्गिदै बाङ्गिदै मृनालको विवाहसम्म पुगेको थियो ।