पोखरामा आयातित फूलमालाको अनुगमन : ४० हजार जरिवाना, १ लाख बढीको माला जफत

पोखरा- पोखरा महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै आयातित फूलमाला बिक्री वितरणमा रोक लगाएकाे छ । सूचना अनुसार महानगरले प्लाष्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरण र उपभोगमा पनि प्रतिबन्ध लगाएको हाे ।
महानगरले पोखराको १ सय ६५ रोपनी क्षेत्रफलमा सयपत्री फूल प्रवर्द्धन गरेकाले आवश्यक फूलका लागि कृषि सञ्जाल, किसान बजार, साझेदार बजार तथा कृषि विकास महाशाखामा सम्पर्क गर्न पनि पोखरा महानगरले अनुरोध गरेको थियो । तर, तिहार नजिकिँदै गर्दा पोखराका बजारमा छ्यापछ्याप्ती प्लाष्टिकजन्य फूलमाला देखिएको छ ।
सूचना जारी गर्दा पनि व्यवसायीहरूले अटेर गरेपछि महानगरको टोली अनुगमनमा निस्किएको छ । सोमबार पोखरा महानगरकी उपमेयर मञ्जुदेवि गुरुङ नेतृत्वको टोलीले पोखराको मुख्य बजारमा अनुगमन गरेको थियो । बजार अनुगमनका क्रममा टोलीले प्लाष्टिकजन्य माला जफत गर्दै जरिवाना पनि तोकेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीसँगको सहकार्यमा पोखराको मुख्य बजार महेन्द्रपुल, पालिखेचोक, बगर, विन्ध्यवासिनी, विरौटा क्षेत्रमा भएको अनुगमनमा अधिकांश पूजा सामग्री पसलबाट प्लाष्टिकजन्य फूलका माला जफत गरिएको हो ।
अटेरी गरेर बिक्री वितरणका लागि झकिझकाउ पारेर राखेको प्लाष्टिकका फूलमाला जफत गरेको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । ती पसलहरूमा स्थानीय उत्पादन प्रशस्त भएकाले वातावरणमैत्री फूलमाला प्रयोग गर्न सुझाएको उनले बताए ।
महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक गुरुङको नेतृत्वमा पोखराका एक दर्जन बढी पसलहरूमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा पोखराका विभिन्न स्थानका सात वटा पसललाई ४० हजार जरिवाना तोकिएको सहकारी उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए । सोही पसलबाट १ लाख ९ हजार ६ सय १० रुपैयाँ बराबरका आयातित फूलका माला जफत गरिएको उनले बताए ।
यस्तै एक स्वीट हाउसबाट ३ सय रुपैयाँको खाद्यान्न पनि नष्ट गरिएको छ । अन्य पाँच पसलहरूलाई सचेत गराउनुका साथै आगामी दिनमा प्लाष्टिकजन्य फूलगुच्छा, माला बिक्री वितरण र भण्डार नगर्न निर्देशन दिइएको छ ।
पोखरा महानगरका उपप्रमुख गुरुङले प्लाष्टिकजन्य सामग्रीले यहाँको वातावरणमा असर पर्ने भएकाले अनुगमन गरिएको बताइन् । उनले भनिन्, ‘चाडपर्वमा प्लाष्टिकजन्य फूलहरूको व्यापार बढी हुने भएकाले अनुगमन गरेका हौँ ।’

नेपाल–इटाली व्यापार सम्बन्ध सुदृढ गर्न वाणिज्य संघको पहल, मानार्थ वाणिज्यदूत पा…

चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए ए…

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

प्रतिक्रिया