पोखरा-मुग्लिन सडक कालोपत्रेले जगाएको आशा

पोखरा- पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन-पोखरा सडक खण्ड विस्तारको काम चलिरहेको छ । यहाँ आँबुखैरेनीदेखि पोखरासम्म दुई खण्ड बनाएर काम भइरहेको छ । पहिलो खण्ड आँबुखैरेनीदेखि जामुनेसम्म हो भने दोस्रो जामुनेदेखि पोखरासम्म छ । तर, यी दुवै स्थानमा काम ढिला भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । यसैबीच केही खण्डमा कालोपत्रे सुरु भएको छ । पिचको काम सुरु भएपछि थोरै भए पनि आशा जगाएको यात्रुहरूले बताएका छन् ।
अहिले सडक खण्ड स्तरोन्नतिअन्तर्गत पूर्वतर्फको ठेक्कामा कालोपत्रे सुरु भएको हो । मुग्लिन-पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुरूप बन्दीपुर गाउँपालिका-१ पूर्वी खण्डको डुम्रेदेखि छिर्कने भञ्ज्याङसम्म ३ किलोमिटर सडक कालोपत्रे गर्न थालिएको हो । कालोपत्रेको काम सुरु भएपछि खुसी लागेको सोमबार मुग्लिन हुँदै पोखरा आएका मनबहादुर गुरुङले बताए ।
‘घाम लागेका समयमा धुलाम्मे भएर साह्रै गाह्रो । झ्याल नलगाउ धुलो हुने लगाउँदा गर्मी उस्तै समस्या हुन्थ्यो,’ उनले भने, ‘यो पटक पोखरा आउँदै गर्दा कालोपत्रेको काम हुँदै गरेको देखेँ अहिले केही आशा जागेको छ ।’ छिट्टै मुग्लिनदेखि पोखरासम्मै कालोपत्रे भए हिलो धुलोको सास्ती खेप्न नपर्ने उनको भनाइ थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पनि उक्त खण्डमा पिच हुन थालेपछि उत्साह थपिएको बताए । ‘पिच भएको खबर सुनेर हेर्न गएँ । निकै राम्रो काम भैरहेको देखेपछि उत्साह आएको छ,’ उनले भने, ‘पश्चिम खण्डमा पनि यसरी नै काम भए छिट्टै सकिने विश्वास छ । तर, पश्चिमको काममा ढिलाई भैरहेको छ ।’
उनले तोकिएकै म्यादभित्र काम सक्न ठेकेदार कम्पनीलाई आग्रह गरेका छन् । लामो समयसम्म बाटोको निर्माण नहुँदा पोखरा लगायत देशभरको पर्यटनमा नकारात्मक प्रभाव परेको र यात्रु तथा स्थानीयले पनि धेरै सास्ती भोग्नु परेको उनको भनाइ छ ।
यहाँको ३ किलोमिटर सडक तिहारअघि नै कालोपत्रे सम्पन्न गरिने इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । गत जेठमा बरादी खण्डको ३ किमी पिच गरिएकोमा यो वर्षको पहिलो पटक छिर्कने क्षेत्रमा पिच गरिएको हो ।
आँबुखैरेनीदेखि पोखरासम्म करिब ८२ किमी सडकलाई दुई वटा ठेक्का लगाइएको छ । आँबुखैरेनीदेखि जामुनेसम्म पूर्वी खण्डको करिब ४२ किमी सडकमा हालसम्म ३७ प्रतिशत प्रगति भएको छ । २०८१ वैशाखसम्म काम सक्ने गरी पूर्वी खण्डको चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो ।
यस्तै, दोस्रो खण्ड जामुनेदेखि पोखरासम्म ३८ किमी खण्डमा १० प्रतिशत भौतिक प्रगति भएको छ । जामुनेदेखि पोखरासम्मको सडक स्तरोन्नति गर्न चीनकै एनहुई केयुयन हाइवे एन्ड ब्रिज कम्पनीले ठेक्का पाएको हो । यो खण्डको काम २०८१ भदौ मसान्तसम्म सक्नुपर्ने सम्झौता छ । एशियाली विकास बैंक (एडिबी) को २१ अर्ब ५० करोड सहुलियत ऋण सहयोगमा सडक स्तरोन्नति गर्न लागिएको हो । यो सडक २५ मिटर फराकिलो हुनेछ भने सहरी क्षेत्रमा ४१ मिटर हुनेछ ।

भक्तपुर नगरपालिकाको दुई अर्ब ४७ करोडको बजेट सार्वजनिक

१० महिनामा प्रदेश सरकारहरूले खर्च गरे १ खर्ब १७ करोड

योजना अनियमितता छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

लगातार अनुपस्थित भएपछि प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

सुदूरपश्चिम प्रदेश सरकारले भूमिसम्बन्धी नीति ल्याउने

'कर्मचारीमा काम गर्ने मनसाय कम देखियो’

प्रतिक्रिया