शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

क्रिकेट विश्वकपः अस्ट्रेलियाको जितमा म्याक्सवेलको कीर्तिमानी दोहोरो शतक

काठमाडौँ- अलराउन्डर ग्लेन म्याक्सवेलको कीर्तिमानी दोहोरो शतकको मदतमा अस्ट्रेलियाले भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

मंगबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै अन्तिम चारको यात्रा सुनिश्चित गरेको हो ।

जितका लागि चाहिएको २ सय ९२ रनको लक्ष्य अस्ट्रेलियाले ४६ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

अस्ट्रेलियाको जितमा म्याक्सवेलले १ सय २८ बलमा अविजित २ सय १ रन प्रहार गर्दा १० छक्का र २१ चौका हिर्काए । एकदिवसीयमा दोहोरो शतक प्रहार गर्ने म्याक्सवेल अस्ट्रेलियाका पहिलो खेलाडी हुन् ।

लक्ष्य पछ्याउने क्रममा दोहोरो शतक पूरा गर्ने म्याक्सवेल विश्वकै पहिलो क्रिकेटर पनि हुन् ।

एक समयमा अस्ट्रेलियाले ९१ रन जोड्दा ७ विकेट गुमाएको थियो । तर त्यसपछि म्याक्सवेलले कप्तान प्याट कमिन्ससँग मिलेर अस्ट्रेलियालाई अविश्वसनीय जित दिलाए ।

म्याक्सवेलले यसअघि नेदरल्यान्ड्सविरुद्ध कीर्तिमानी ४० बलमै शतक पूरा गरेका थिए ।

मंगलबार अफगानिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९१ रन बनाउँदा इब्राहिम जदरनले १ सय २९ रन बनाएका थिए ।