किसानहरुलाई फूल टिप्ने चटारो, आयातित फूलका कारण बजार नपाउने चिन्ता

बुटवल - नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आउन केही दिन मात्र बाँकी छ । फूलहरुको पर्वका रुपमा समेत चर्चा गरिने तिहारका लागि फूल उत्पादन गर्ने किसानहरूलाई फूल टिप्न र माला बनाउने चटारो छ ।
नेपाल फूलका लागि करिब आत्मनिर्भरताको अवस्थामा पुगेको छ । तर भारतीय बजारबाट नेपाल आउने विभिन्न किसिमका फूल र प्लास्टिकको मालाका कारण नेपाली किसानहरू मारमा छन् । भारतबाट आउने फूलहरु नेपाली उत्पादन भन्दा केही सस्तो हुने गर्दछ । त्यस्ता फूलहरु रासायनिक मल राखेका कारण गुणस्तरहीन हुने दाबी नेपाली किसानको छ । अर्को कुरा भारतमा उत्पादन लागत कम हुने कारणले पनि नेपाली किसानहरूले भारतीय फूलसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । सानो परिमाणमा खेती गर्ने नेपाली किसानहरू लागत नउठ्ने हो कि भन्ने चिन्तामा छन् ।
पछिल्लो समय नेपालमा फूल खेती गर्नेक्रम भने बढ्दो छ । बुटवल उप–महानगरपालिका वडा नम्बर १५ मा रहेको कृषि अध्यापन गराउने विद्यार्थीले सुरुवात गरेको कृषि फार्ममा अहिले मखमली र सयपत्री फूलका माला तयार छन् । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार फूलको पर्वका रूपमा समेत चिनिन्छ । बुटवल १५ मा रहेको फोकस मल्टी एग्रो कन्सर्न एण्ड रिचर्स सेन्टरमा ओजेटिको लागि आएका कृषि पढ्ने विद्यार्थीहरू अहिले धमाधम फूलको माला तयार गर्न व्यस्त छन् । सो फार्मका म्यानेजिङ्ग डाइरेक्टर राजेश कुँवरका अनुसार मखमली र सयपत्री फूलले तिहार कुरिरहेको छ । व्यावसायिक रूपमा यो क्षेत्रमा नै ३५ सय बढी सयपत्री फूलको माला उत्पादन गर्ने योजनासहित फार्ममा अहिले काम भइरहेको हो । १० हजार किलो फूल उत्पादन हुने अनुमान छ । निर्माण गरिएको फूलका माला स्थानीय कृषि सहकारीले निर्माण गरेको कोल्ड चेम्बरमा भण्डारण गरेर राखिएको छ । १५ कठ्ठा क्षेत्रफलमा अहिले व्यावसायिक सयपत्री र मखमली फूल खेती उनीहरूले गरेका हुन् । बुटवल उपमहानगरपालिका वडा नम्बर–१५ चम्कीपुरमा रहेको यो फार्ममा फूल खेतीको अलावा ड्रागन खेती र अन्य फलफूल पनि खेती गरिएको छ । जग्गा भाडामा लिएर व्यावसायिक फर्म सुरुवात गरेका हुन् । बुटवलमा फूल खेती गर्दै आएका उनीहरूले विभिन्न स्थानमा सयपत्री खेती तालिम समेत दिँदै आएका छन् । उनीहरूले अहिले रोल्पा, अर्घाखाँची, दाङ जिल्लामा पनि फूल खेती त्यहाँको समूहमार्फत गर्दै आएका छन् । २ लाख लगानीमा यो पटक फूल खेती गरेका उनीहरूले तिहारको बेला सबै फूल खपत भएमा आम्दानी हुने अपेक्षा गरेका छन् । अहिले सम्म करिब ६० देखि ७० हजारसम्मको फूलको माला बिक्री भइसकेको छ ।
उत्पादन गरेको फूलको भण्डारणका लागि समस्या छ । उनीहरूले उत्पादन गरेको माला भण्डारण गरी राख्नको लागि कोल्ड चेम्बर, कोल्ड स्टोरको अभाव छ । जसको कारण पनि पहिला नै उत्पादन गरेका माला राख्न समस्या भएको हो । उनीहरूले स्थानीय बुटवल जैविक कृषि उत्पादन सहकारी संस्थाले निर्माण गरेको कोल्ड चेम्बरमा लगेर राख्ने गरेका छन् । तर सो चेम्बर सानो छ । भाडामा लिएर उत्पादित माला राख्दा यसको लागत समेत बढ्ने गरेको किसानको गुनासो छ । उत्पादन भएको फलफूल र मार्केटिङ्गको लागि समेत ल्याइएको फलफूल राख्नको लागि सरकारी निकायबाट एउटा कोल्ड चेम्बर वा स्टोरको माग गरिएको फार्म सञ्चालकहरू बताउँछन् ।
उत्पादन भएको फूलको विक्रीका लागि विभिन्न होलसेल व्यवसायीहरूले अहिले पनि बुकीङ्गको लागि माग गर्ने गरेका छन् । तर फार्म सञ्चालकले भने आफैं बुटवल बजारमा लगेर फूलको माला बिक्री गर्ने योजना बनाएका छन् । अन्यत्र भन्दा मालामा २० रूपैयाँ सस्तो र किलोमा ५० रूपैयाँ सस्तोमा फार्मबाट नै बिक्री गर्ने समेत व्यवस्था गरिएको छ ।
प्रबन्ध सञ्चालक राजेक कुँवर भन्छन्–‘किसानको पिडा किसान लाई नै थाहा हुन्छ, हामी यो पटक आफै बुटवलमा गएर माला बिक्री गर्ने योजना बनाएका छौं, हेरै के हुन्छ ।’ फार्मबाट ५ सय देखि ५ सय ५० रूपैयाँ प्रतिकिलोमा सयपत्री फूल बिक्री भइरहेको छ । यस्तै फोकसले कट फलावार समेत बिक्री गर्दै आएको छ । स सानो पिसमा विभिन्न सभा समारोहमा उनीहरूले कट फल्वारको माला, स्वागत गुच्चा लगायतका डेकोरेसनको लागि समेत माला उपलब्ध गराउँदै आएका छन् । फोकस मल्टी एग्रो कन्र्सनमा सञ्जय अर्याल, किरण तिमसीना, सरोन भट्टराई सञ्चालक हुन । उनीहरू सबै एमएस्सी एग्रीकल्चर पढेका विद्यार्थीहरु हुन ।
भारतीय फूल र पलाष्टिकको मालाका कारण समस्या
नेपालमा पुष्प व्यवसाय र उत्पादन फस्टाउँदै गएको भनिएपनि हरेक वर्ष करोडौं मूल्यका फूल तथा माला भित्रिने गरेको छ । सबैभन्दा बढी फूल तथा मालाको माग हुने तिहारका लागि यो वर्ष पनि रुपन्देही आसपासका क्षेत्रमा व्यवसायीहरूले भारतबाट माला भित्र्याइसकेका छन् । उनीहरूका अनुसार रुपन्देहीमा तिहारका लागि मात्रै करिब ३० हजार बढी माला आयात गरी सित भण्डारणमा राख्ने काम भइसकेको छ । कोरोना महामारीले गत वर्ष कम माग भएपनि यो वर्ष फूल तथा मालाको माग बढ्ने हुँदा तिहारसम्ममा ८० हजार बढी माला भारतबाट नेपाल भित्रिने व्यवसायीहरूको अनुमान छ ।
सीमा नाकामा फूल आयातका लागि सरकारले केही कडाइ गरेपनि विभिन्न माध्यमबाट अवैध तरिकाले समेत फूल भित्रिने गरेको व्यवसायीहरु स्वीकार गर्छन् । बेलहिया भन्सार कार्यालयले भने भारतबाट फूल तथा माला भित्र्याउने क्रममा अनिवार्य क्वारेन्टिन प्रमाणपत्र लगायतका कानुनी प्रक्रियाहरूलाई कडाईकासाथ पालना गराइएको बताउँछ । यसरी भारतबाट भित्रिने माला प्रति गोटा ८० देखि ९० रूपैयाँसम्म पर्ने गर्दछ । हरेक वर्ष तिहारमा रुन्पदेहीमा भारतबाट ८०÷९० हजार फूलका माला भित्रिने गरेको व्यवसायी हरि कुवंर बताउँछन् । सरकारले यस वर्षदेखि मूल्य अभिवृद्धिको सीमा तोकेका कारण फूल र मालाको मूल्य बढ्ने अवस्था रहेको व्यवसायीहरूको दाबी छ ।
सियारीमा पलाष्टिकको माला प्रतिबन्ध
रुपन्देहीको सियारी गाउँपालिकाले दिपावली लगायतका चाडपर्वहरूमा प्लास्टिकका फूलमालाहरू तथा आयातित फूलमालाहरू प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीय स्तरमा उत्पादित फूलका मालाहरुको प्रयोग गरी स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै किसानलाई सहयोग गर्न गाउँपालिकाले सबैलाई आग्रह गरेको छ । पालिका अध्यक्ष थानेश्वर घिमिरेले पालिकामा आयतित मालाको पुर्णरुपमा प्रतिबन्ध लगाइएको भन्दै त्यस्तो बिक्री वितरण गरेको पाईएमा जफत गर्ने बताए । रुपन्देहीमा १६ वटा पालिका रहेका छन् ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

वनवाटिकामा आन्तरिक पर्यटकको घुइँचो

प्रतिक्रिया