भाइ मसलामा म्याद गुज्रिएका चकलेट र कुहिएका खानेकुरा !

मलेखु- धादिङका बजारमा बिक्री भइरहेका भाइ मसलाका ‘प्याकेट’ मा म्याद गुज्रिएका खानेकुरा फेला परेको छ । बजारका खुद्रा तथा थोक पसलले बिक्रीका लागि राखेको थरीथरीका प्याकेटमा अखाद्य, गुणस्तरहीन र मिति गुज्रिएका सामग्री फेला परेको हो ।
व्यापारीले बिक्रीका लागि राम्रो देखाएर तयार पारेको भाइ मसलाका प्याकेटमा म्याद सकिएका र गुणस्तरहीन चकलेट, चोकोपाइ, र बिस्कुट फेला परेको बजार अनुगमन समितिका संयोजक एवं धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए । तिहार लक्षित बजार अनुगमनका क्रममा व्यापारीले आफैँ तयार गरी बिक्रीका पसलमा पुर्याएको विभिन्न किसिमका भाइ मसलाका ‘प्याकेट’ मा म्याद सकिएका गुणस्तरहीन खानेकुरा भेटिएपछि यस्ता खाद्य सामग्री बिक्री नगर्न सचेत गरिएको उनले बताए ।
'तिहारमा प्रयोग हुने भाइ मसलामा म्याद गुज्रिएका चकलेट, किसमिस, काजु, सुपारीलगायतका सामग्री फेला परेको छ,' उनले भने, 'सचेत गराउँदा अटेर गरेर बिक्री गरेको पाइए सर्वसाधारणको स्वास्थ्यमा असर पुग्ने सामग्रीको प्रयोग गरेको अभियोगमा कारबाही गर्नेछौँ ।'
व्यापारको मौका छोपेर व्यापारीले गुणस्तरहीन सामान हालेर महंगोमा भाइ मसला बनाएर बिक्री गर्न थालेको पाइएपछि जिल्लामा अनुगमनमा कडाइ गरिएको छ । व्यापारीले त्यस्ता सामान किनबेच गर्दा बिलसमेत लिने/दिने नगरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले बताए । विभिन्न किसिमका सामान जम्मा गरेर आफैँले प्याकिङ गरिरहेको समेत फेला परेको उनले जानकारी दिए ।
तिहार लक्षित भाइ मसलाका सामान सदरमुकामका होलसेल पसलबाट गाउँगाउँमा समेत सप्लाइ भइसकेको हुनसक्ने भएकाले उपभोक्ता आफैँ सचेत रहन पनि आग्रह गरिएको छ । रासस

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया