बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

एकताका लागि लचकता अपनाउदै अन्तिमसम्म प्रयत्‍न जारी राख्‍ने निर्णय

फाइल तस्‍बिर

काठमाडौँ: नेकपा एमालेले पार्टी एकताका लागि लचकता अपनाउदै अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले अन्तिमसम्म पनि पार्टी एकताका लागि अधिकतम पहल गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनले पार्टी एकताको लागि गठन भएको कार्यदल अस्तित्वमा नरहेको र अहिलेको अवस्थामा नेताहरूबीच व्यक्तिगत र समूहगत रूपमा छलफल भइरहेको जानकारी दिए । उनले नेताहरूलाई सोधिएको स्पष्टीकरणको बारेका कुनै निर्णय नभएको बताए ।

त्यस्तै बैठकले सर्वोच्च अदालतमा भइरहेको अस्वस्थ गतिवधि उचित नभएको निष्कर्ष निकालेको छ । अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने र आफूले चाहेको जस्तो फैसला खोज्ने ढङ्गले सिर्जना गरिएको दबाब स्वतन्त्र न्यायापालिकाको मर्मसँग मेल नखाने निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । यस्तै बैठकमा आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा छलफल तथा  कोभिड–१९ रोकथामका लागि भइरहेका काम र लुम्बिनीको उपननिर्वाचनको समीक्षा गरिएको प्रवक्ता ज्ञवालीले बताए । लुम्बिनीमा  सोमबार भएको राष्ट्रियसभाको उप निर्वाचनमा अन्तर्घात गर्नेमाथि छानवबिन हुने उनले बताए । त्यस्तै प्रवक्ता ज्ञवालीले कोभिड खोपका लागि राष्ट्रपतिले गरेको पहलमाथि प्रश्न उठाएकोमा आपत्ति जनाए ।

उनले आलोचना गर्नेहरूले खोप ल्याएर नागरिकहरूको जीवन रक्षा गर्नु ठूलो हो भन्ने न्यूनमत मानवीयता समेत नराखेको भन्दै मानविय संवेदनशिलताको मामिलामा राजनीतिक प्रश्न नगर्न आग्रह गरे ।