वैकल्पिक राजनीति सुरु गर्ने उज्वल थापाको निधन

काठमाडौँ । विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको निधन भएको छ । विवेकशील साझा पार्टीका अनुसार आज दिउँसो ४ः२५ बजे उनको निधन भएको हो । ४४ वर्षका थापाकाे उपचारकाे क्रममा निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर बनेपछि भेन्टिलेरमा उपचाररत थापाको हिजो गरिएको कोभिड परीक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो ।
एक्कासी श्वास-प्रश्वासमा समस्या देखिएपछि थापालाई दुई साताअघि काठमाडौँकै ह्याम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । ह्याम्समा उपचारका लागि आइसीयू बेड खाली नभएपछि उनलाई वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई वीरेन्द्र सैनिक अस्पतालबाट मेडिसिटी अस्पतालमा लगिएको थियो । अस्पतालले पनि उनको उपचारका लागि चिकित्शकले अथक प्रयास गरे पनि बचाउन नसकिएको भन्दै विज्ञप्ति निकालेको छ ।
यस्तो छ थापाका परिवार र शुभेच्छुकले जारी गरेको विज्ञप्ति
हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजूरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वलबहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४:२५ बजे) हामीबिच रहनु भएन ।
हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ !
उहाँले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरू; नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरु; युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ ! उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो । उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पित छौँ !
उहाँको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति हामी आभारी छौँ । यस्तो विषम परिस्थितिमा धैर्य धारण गरी संयमताका साथ उज्वलको लागि साथ, सहयोग दिनुहुने र अनवरत प्रार्थना गरिरहनु भएका उज्वलका आफन्तजन, नेपाल भित्र र बाहिरका साथी तथा शुभेच्छुक सबैप्रति हामी कृतज्ञ छौँ । तपाईंहरूले व्यक्त गर्नुभएका सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । नेपालका राष्ट्रपतिज्यू, नेपाल सरकार तथा विभिन्न राजनीतिक दलका तर्फबाट व्यक्त भएको सहयोग गर्ने इच्छा, सद्भाव र शुभेच्छाको लागि हामी कृतज्ञ छौँ ।
अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको भए पनि अहिलेको संक्रामक रोगको समयमा उहाँको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनुहुन हामी आग्रह गर्दछौँ ।
उज्वल बहादुर थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट,
२०७८ जेठ १८ गते

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

विशेष अदालतमा माधव नेपाल

एमाले सचिवालय बैठक बस्दै

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कदैं छः एमाले महासचिव पोखरेल

प्रतिक्रिया