आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

सुरुङमार्गको योजना छोड्न बागमती सरकारलाई माओवादी संसदीय दलको सुझाव

हेटौंडाः नेकपा माओवादी केन्द्र बागमती संसदीय दलका नेता शालिकराम जमरकट्टेलले प्रदेशको आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा प्रदेशको गौरवको आयोजनालाई समावेश नगर्न सरकारलाई सुझाव दिएका छन् ।

उनले भीमफेदी–कुलेखानी पोष्टबहादुर सुरुङमार्गलाई समावेश नगर्न सुझाव दिएका हुन् । कानुनी हिसाबले सुरुङमार्ग निजी क्षेत्रले लिएको र उपयोगको हिसाबले निजगढ काठमाडौं फास्ट ट्रयाक नजिक पर्ने हुँदा सुरुङमार्गको औचित्य नभएको भन्दै योजना छोड्न सरकारलाई सुझाव पेश गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई प्रमुख प्रतिपक्ष दल माओवादीले आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा समावेश गर्न नौ पन्ने सुझाव मंगलबार पेश गरेको हो । 

अहिलेको अवस्थामा स्वास्थ्य र शिक्षाको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्ने नेता जमरकट्टेलले प्रदेशका मुख्यमन्त्रीलाई सुझाव दिएका छन् । उनले विना पूर्वाधार विद्युतीय बस किनेर पार्किङ गरी राख्नुपर्ने् भएकोले हाललाई बस खरिद प्रक्रिया रोक्न पनि सुझावमा भनेका छन् । आगामी वर्षको नीति कार्यक्रम र बजेटले प्रदेशको सबै मन्त्रालयको सेवा १३ जिल्लामा एकिकृत रूपमा दिने कार्यालयहरू स्थापना गर्न केन्द्रित हुनुपर्ने, प्रदेश सरकारको आयको दायरालाई फराकिलो बनाउँदै प्रदेश सरकारको थैलीलाई बलियो, भरपर्दो र दिगो बनाउनुपर्नेमा दलले सुझाव दिएको छ । 

आगामी वर्षमा धादिङको रुबी भ्याली एकीकृत विकासको लागि २ अर्ब विनियोजन गर्नुपर्ने, रामेछाप, उमाकुण्ड, सिन्धुपाल्चोक, पाँचपोखरी, थांगपाल र जुगल, दोलखाको गौरीशंकर, सिन्धुलीको घंयाङलेख, मकवानपुरको राक्सीराङ र कैलाश, चितवनको इच्छाकामना, नुवाकोटको दुप्चेश्वर, काभ्रेको महाभारत र खानीखोलालाई विशेष आर्थिक अनुदान कार्यक्रम राखिनुपर्ने सुझाव प्रदेश सरकारलाई दिएको छ । 

खोपको सुनिश्चत गरेर मात्रै नीति कार्यक्रम तथा बजेट ल्याउन प्रतिपक्ष दलले भनेको छ । माओवादी संसदीय दलले स्वास्थ्य, शिक्षा, युवा, खेलकुद, सामाजिक, कृषि, उद्योग, संस्कृति तथा पर्यटन, वन तथा वातावरण, खानेपानी सिचाईं, कानुन, कर्मचारी तथा शिक्षक र प्रदेश सभा छुट्टाछुट्टै शीर्षकमा सुझावहरु दिएको छ । दलको सुझावहरु आगामी वर्षकोे नीति, कार्यक्रम र बजेटमा समावेश भएर आउने आशा गरेको दलका नेता जमरकट्टेलले बताए । प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले मिल्ने जति सुझावहरू ग्रहण गर्ने बताएका छन् ।

सोमबार मात्रै बागमती प्रदेश सरकारले आगामी वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेश गरेर छलफल गरेको थियो । बजेटको सिद्धान्त र प्राथमिकता नमिल्दो आएको भन्दै विपक्षी दलका सांसदहरूले त्यसको आलोचना समेत गरेका थिए ।