शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

विश्वकप सेमिफाइनल : आज अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै

काठमाडौँ- जारी क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच खेल हुँदै छ । कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार २:१५ बजेदेखि शुरु हुने छ ।

यस विश्वकपको लिग चरणमा दक्षिण अफ्रिका समुह चरणमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले ९ खेलमा ७ जित र २ हारसहित १४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको थियो । त्यस्तै अस्ट्रेलियाले पनि ९ खेलमध्ये ७ खेल जितेर १४ अंक हासिल गर्दै रनरेटको आधारमा तेस्रो हुँदै सेमिफाइनलमा पुगेको हो ।

पछिल्लो पटक सन् २०१५ मा विश्वकप जितेको अस्ट्रेलियाले २०१९ को विश्वकपमा सेमिफाइनलमा हार ब्यहोरेको थियो । त्यस्तै दक्षिण अफ्रिका २०१५ को विश्वकपपछि फेरि सेमिफाइनल खेल्दै छ ।

अस्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा गरि सबैभन्दा बढी पाँच पटक विश्वकप जितेको थियो ।

अहिलेसम्म विश्वकपको फाइनलमा पुग्न नसकेको दक्षिण अफ्रिका योसहित पाँच पटक विश्वकपको सेमिफाइनल खेल्न लागेको छ । दक्षिण अफ्रिका यसअघि १९९२, १९९९, २००७ र २०१५ मा सेमिफाइनलमा पराजित भएको थियो । 

एकदिवसीय खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच अहिलेसम्म १०९ खेल भएका छन् । जसमा अस्ट्रेलिया ५० पटक विजयी भएको छ भने दक्षिण अफ्रिका ५५ पटक विजयी भएको छ । त्यसैगरी एक खेलको नतिजा आएको थिएन भने ३ खेल बराबरीमा सकिएको थियो ।