बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

लुम्बिनी प्रदेश सभाको अधिवेशन बुधबारबाट

बजेटभन्दा मुख्यमन्त्रीको राजीनामा चर्चामा

बुटवल : लुम्बिनी प्रदेशको प्रदेश सभाको आठौं अधिवेशन बुधबारबाट बुटवलमा सुरु हुँदैछ । बजेट अधिवेशनका रूपमा रहने यस अधिवेशनमा पहिलो दिन नै मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग्‍ने तयारीमा विपक्षी गठबन्धन छ । विगत केही महिनादेखि अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेलले जालझेल र अनेक तिकडम गर्दा पनि बहुमतको अवस्थामा रहन नसकेको ठहर विपक्षी गठबन्धनको छ । 

संसद्लाई छलेर सत्ताको आडमा अनेक जालझेल गरेर मुख्यमन्त्रीमा पुनः नियुक्त भएको भन्दै विपक्षी गठबन्धनले बुधबारको बैठकमा नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिँदै चर्को आवाज उठाउने तयारीमा छन् । 

प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार बुधवारको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनेदेखि  दलका तर्फबाट शुभकामना मन्तव्य राख्‍ने गरी कार्यसूची तय भएको छ  । बुधबार बैठकमा समग्र राजनीतिक घट्ना क्रम, कोभिड महामारीदेखि मुख्यमन्त्रीको राजीनामा मागको विषय नै मुख्य रूपमा उठाइने कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताए । 

गत बैशाख ६ गते अविश्‍वासको प्रस्ताव दर्ता गरेकोमा मुख्यमन्त्रीले संसद छल्ने गरी १९ गते बोलाइएको संसद बैठक बस्‍न नपाउदै अर्कै बाटोबाट मुख्यमन्त्री नियुक्त भएपछि विपक्षी गठबन्धन तीव्र असन्तुष्ट रहदै आएको छ । दोश्रो पटक अविश्‍वासको प्रस्ताव दर्ता भएकोमा त्यसलाई पनि संसद्‍मा प्रवेश गराइएको छैन । 

अविश्‍वासका प्रस्तावलाई वैधानिक र विधिसम्मत तरिकाले टुंगाउनुपर्नेमा त्यसो गरिएको छैन भन्दै कांग्रेसका प्रमुख सचेतक खान राष्ट्रिय सभाको उपनिर्वाचनको परिणामले मुख्यमन्त्री अल्पमतमा परेको स्पष्ट भएकाले अब नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताउछन्
 । 
लुम्‍बिनीमा सोमबार भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा प्रदेश सभाको तर्फबाट खसेको मतमा विपक्षी गठबन्धन बहुमतमा देखिएको छ । एमाले अल्पमतमा परेको अवस्थामा जनता समाजवादी पार्टीका सांसदहरूलाई मन्त्री नियुक्त गरेर आफ्नो पक्षमा ल्याउँदासमेत उनी अल्पमतमा छन् । 

प्रदेश सभामा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), अल्पकालिन आदेशबाट सांसद् पद पाएका ४ जनासहित जसपाका ६ र राजमोका १ सांसद छन् । एमालेका ३८ मध्ये माधवकुमार नेपाल समूहमा खुलेका  २ जना सांसद छन् ।