बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

कांग्रेसको पौडेल समूहले समयमै महाधिवेशन गर्न दबाब दिने

फाइल तस्बिर

काठमाडौँ : नेपाली कांग्रेसको नेता रामचन्द्र पौडेल समूहले समयमै पार्टीको १४ औं महाधिवेशन समयमै गर्न संस्थापनलाई दबाब दिने भएको छ । समूहको आज बसेको जुम बैठकले महाधिवेशन समयमै गर्ने पहल गर्न महामन्त्री डा. शशांक कोइरालालाई जिम्मेबारी दिएको छ । उनले पार्टी केन्द्रीय समिति बैठक आह्वान गर्न र महाधिवेशन समयमै गर्ने वातावरण निर्माण गर्न संस्थापनसँग पहल गर्नेछन् । 

बैडकमा सहभागी केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको १४ औं महाधिवेशन समयमै गर्न पहलकदमी लिने निष्कर्ष बैठकले निकालेको जानकारी दिए । ‘समयमा महाधिवेशन कसरी गर्ने, त्यसका निम्ति के के गर्ने भन्ने विषयमा कुराकानी भयो,’ गुरुङले इकागजसँग भने । 

कांग्रेसले आगामी भदौ ७ देखि १० गतेसम्म महाधिवेशनको मिति कार्यतालिकासहित सार्वजनिक गरिसकेको छ । तर, कार्यतालिका अनुरुपका काम भएका छैनन् ।  

बैठकमा नेता पौडेल, महामन्त्री डा. कोइरालासहित कोषाध्यक्ष सितादेवी यादव तथा नेताहरू प्रकाशमान सिंह, डा.शेखर कोइराला, बलबहादुर केसी, सुजाता कोइराला, मीनेन्द्र रिजाल, धनराज गुरुङ, दीलेन्द्र बढु, जीवन परियार, बद्री पाण्डे, गुरुराज घिमिरे, गगन थापा, प्रदीप पौडेल, कमला पन्त, हृदयराज थानी, रामकृष्ण यादव र गुरुङ सहभागी थिए । 

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरू पौडेल, परियार र गुरुङले सदस्यताबारे पछिल्लो अवस्था नेताहरूलाई जानकारी गराएका थिए ।