बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना संशोधन गर्न माग

काठमाडौँ : विद्यालय शिक्षासम्बन्धि आकस्मिक कार्ययोजना प्रभावकारी कार्यान्वयन नभएको भन्दै यसलाई तत्काल परिमार्जन गर्न माग गरिएको छ । स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक लगायत सरोकारवालाहरुले आकस्मिक कार्ययोजना परिमार्जन गर्दा त्यसमा कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने कार्यसूची पनि थप्न माग गरेका हुन ।

आजको शिक्षा साप्ताहिक र विद्यालय व्यवस्थापन समिति महासंघले बुधबार गरेको ‘विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना के कति कार्यान्वयन ?’ विषयक शिक्षा चिन्तन श्रृंखला भर्चुअल छलफलमा यस्तो माग गरिएको हो ।

शिक्षा मन्त्रालयले गत साल ‘विद्यालय शिक्षासम्बन्धि आकस्मिक कार्ययोजना २०७७’ बनाएको थियो । ३१ बुँदे सो कार्ययोजनामा इन्टरनेट बिस्तार, सार्वजनिक विद्यालयका शिक्षक–विद्यार्थीको सिकाइ सम्पर्क कायम गराउन ‘सियुजी’ अर्थात् मोबाइल सेवाको ‘क्लोज्ड युजर ग्रुप’ मा आबद्ध गराउने, शैक्षिक सामग्री तयारी गर्ने, सिकाइ सहजीकरण केन्द्रलाई ‘फ्रि वाइफाई जोन’ बनाउने उल्लेख छ ।

यस्तै शिक्षक घरदैलो कार्यक्रम सञ्चालन, श्रव्यदृश्य सामग्री विकास तथा प्रशारण, शिक्षक क्षमता विकास, वैकल्पिक सिकाइमा विद्यार्थीको पहुँच र बसाई स्थानान्तरण एवं विद्यालय परिवर्तनसम्बन्धी तथ्याङ्क संकलन, पाठ्यपुस्तकको सुनिश्चितता, विद्यार्थी भर्ना, शिक्षक कार्यस्थलमा पुग्ने, शिक्षण विधि र मूल्याङ्कन प्रक्रियाको ढाँचालगायतका क्रियाकलापहरु गरिने कार्ययोजनमा छ ।

यी कामहरु संघमा शिक्षा, स्वास्थ्य, अर्थ र सञ्चार मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, स्थानीय तह र विद्यालयले गर्नेगरी कार्ययोजनामा तोकिएका छन् ।    

छलफलमा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव एवं इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष वंशलाल तामाङले गत साल कोरोना अवधिका लागि बनाइएको आकस्मिक कार्ययोजनाबाट पूर्ण रुपमा काम गर्न नसक्ने बताए ।  ‘गत साल कोरोनाको प्रभाव कम रहेका वा संक्रमण हुँदै नभएका गाउँबस्ती धेरै थिए । ती ठाउँमा शिक्षकलाई टोल–टोलमा परिचालन गर्ने, मोबाइल सिमकार्ड बाँड्ने र सिकाइ प्रक्रिया बढाउनेगरी कार्ययोजना बनाइएको थियो,’ महासचिव तामाङले भने, ‘यसपालि त्यो अवस्था छैन । संक्रमित नभएका ठाउँ नै भेटिन्न । शिक्षकहरु समूह–समूहमा जाने अवस्था छैन । त्यसैले पनि आकस्मिक कार्ययोजना परिमार्जन गर्नु पर्छ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं योजना महाशाखा प्रमुख डा. तुल्सी थपलियाले आकस्मिक कार्ययोजनाअनुसार मन्त्रालयले विद्यार्थीलाई अनलाइन सिकाइमा जोड्न वेभ पोर्टल बनाएको, पाठ्यपुस्तक समयमा पुर्याएको, रेडियो तथा टेलिभिजनबाट शिक्षण गराउने व्यवस्था मिलाएको बताउनुभयो । उहाँले आकस्मिक कार्ययोजनाका असान्दर्भिक पक्ष हटाएर परिमार्जन गर्ने विषयमा भने मन्त्रालय तयार भएको बताए । 

सुर्खेतको वीरेन्द्रनगरस्थित जन नमूना माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द कोइरालाले आकस्मिक कार्ययोजना दस्तावेज निर्माणका लागि मात्रै भएको होकि भन्ने प्रश्न गरे । उनले शिक्षकहरुलाई खोप दिने कार्यक्रम आकस्मिक कार्ययोजनामा राख्नुपर्ने माग गरे । 

विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय अध्यक्ष कृष्ण थापाले आकस्मिक कार्ययोजना अद्यावधिक गर्दा सबै सरोकारवालाको सल्लाह लिनुपर्ने बताए । शिक्षा अभियन्ता ओम शर्मा चापागाईँले महामारीलाई अहिलेको बजेटले सम्बोधन नगरेको र केन्द्रबाट निर्देशन लाद्ने मात्र कामले आकस्मिक कार्ययोजना कार्यान्वयन हुन गाह्रो भइरहेको बताए ।