यू-१९ एसिया कपः नेपालका लागि इतिहास दोहर्याउँदै विश्वकपको तयारी गर्ने अवसर

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (यूएई) मा शुक्रबारबाट सुरु हुने एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाली यू-१९ राष्ट्रिय पुरुष क्रिकेट टिमले टेस्ट राष्ट्र पाकिस्तानको सामना गर्दैछ ।
समूह 'ए' मा रहेको नेपालले यू-१९ एसिया कपमा तीन टेस्ट राष्ट्रहरू भारत, पाकिस्तान र अफगानिस्तानको सामना गर्ने तालिका रहेको छ ।
पाकिस्तानपछि समूह चरणको दोस्रो खेल नेपालले डिसेम्बर १० मा अफगानिस्तान तथा तेस्रो खेल डिसेम्बर १२ मा भारतविरुद्ध खेल्नेछ ।
प्रतियोगिताका लागि समूह 'बी' मा भने टेस्ट राष्ट्रहरू बंगलादेश र श्रीलंकासँग आयोजक यूएई र जापान रहेका छन् ।
समूह चरणको खेलछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल विजेता दुई टिमले डिसेम्बर १७ मा उपाधिका लागि प्रतिस्पर्धा गर्ने तालिका छ ।
खासमा यूएईमा आयोजना हुने यू-१९ एसिया कप नेपालका लागि इतिहास रच्दै आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपको तयारी गर्ने अवसर पनि हो । दक्षिण अफ्रिकाले आगामी जनवरी/फेब्रुअरीमा यू-१९ विश्वकप आयोजना गर्दैछ ।
विश्वकपका लागि पनि नेपालको समूहमा पाकिस्तान र अफगानिस्तान रहेका छन् । त्यसैगरी न्यूजिल्यान्ड पनि नेपालकै समूहमा रहेको छ ।
त्यसैले एसिया कपमा गर्ने प्रदर्शन र प्राप्त अनुभवले नेपाललाई दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि कस्तो रणनीति अपनाउने भन्ने अवसर पनि प्रदान गर्नेछ ।
अर्कोतर्फ यू-१९ एसिया कपमा नेपालले पुरानो कीर्तिमान पनि दोहर्याउने अवसर पाएको छ । अर्थात भारतलाई पुनः एकपटक पराजित गर्ने ।
यसअघि सन् २०१७ मा अफगानिस्तानमा भएको यू-१९ एसिया कपको समूह चरणमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको नेपालले भारतलाई १९ रनले स्तब्ध तुल्याउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । उक्त खेलमा नेपालका कप्तान दिपेन्द्रले सर्वाधिक ८८ रन बनाउनुका साथै सर्वाधिक ४ विकेट समेत हात पारेका थिए ।
यसपटक पनि भारतसँगै पाकिस्तान र अफगानिस्तानलाई निराश तुल्याउने नेपाली टिमको लक्ष्य रहेको कप्तान देव खनाल बताउँछन् । उनले आफ्नो टेस्ट राष्ट्रलाई पछि पार्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्य रहेको बताएका छन् ।
‘सिनियर टिमले गरेझै राम्रो गर्ने र उक्त प्रदर्शनलाई निरन्तरता दिने छौँ । विश्वकप छनोट र यू-१९ प्रिमियर कपमा जस्तै प्रदर्शन गर्ने लक्ष्य छ’, कप्तान देवले विदाइ कार्यक्रममा भने ।
एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्न सके नेपालले यू-१९ विश्वकपमा पनि उच्च मनोबलका साथ मैदानमा उत्रने निश्चित छ । किनभने नेपालले एसिया कपमै खेल्ने टोली पाकिस्तान र अफगानिस्तानसँग पुनः खेल्नुपर्ने हुन्छ । साथै विगतमा नेपालले यू-१९ विश्वकपमा न्यूजिल्यान्डलाई पराजित गरेको इतिहास छ ।
हुन् त नेपालले यू-१९ विश्वकपमा अहिलेका टेस्ट राष्ट्रहरू न्यूजिल्यान्डसँगै दक्षिण अफ्रिका, पाकिस्तान, जिम्बाब्वे, बंगलादेश र आयरल्यान्डलाई पराजित गरेको इतिहास छ ।
सन् २०१६ मा बंगलादेशमा भएको विश्वकपमा नेपालले न्यूजिल्यान्डलाई ३२ रनले पराजित गरेको थियो । उक्त विश्वकपमा नेपालले आयरल्यान्डलाई ८ विकेटले समेत हराएको थियो । आयरल्यान्डलाई पराजित गर्दा नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट हात पार्दा योगेन्द्र सिंह कार्कीले अविजित ६१ रन बनाएका थिए ।
सन् २००८ मा मलेसियामा भएको विश्वकपमा भने नेपालले जिम्बाब्वेलाई ९९ रनले पराजित गर्दा कप्तान पारस खड्का, अमृत भट्टराई र राज श्रेष्ठले समान ३-३ विकेट हात पारे ।
सन् २००६ मा श्रीलंकामा भएको विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई २ रन तथा आयरल्यान्डलाई ६० रनले पाखा लगाएको थियो ।
त्यसैगरी, सन् २००४ मा बंगलादेशमा भएको विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई १ विकेट हराएको थियो ।
सन् २००२ मा भने न्यूजिल्यान्डमा भएको विश्वकपमा भने नेपालले पाकिस्तानलाई ३० रनले पराजित गर्नुका साथै बंगलादेशलाई २३ रनले हराएको कीर्तिमान छ ।
विगतका नतिजा हेर्दा यू-१९ स्तरमा नेपालले कैयौँ कीर्तिमानहरु कायम गरेका छन् । र ती कीर्तिमानले नेपाल एसिया कप तथा विश्वकपका लागि एक बलियो टोलीको रुपमा रहेको प्रस्ट छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारख खड्काले पनि नेपालको यू-१९ टिमले सबैभन्दा बढी इतिहास रचेको तथा एसिया कप विश्वकपको तयारीको रुपमा पनि रहेको उल्लेख गरे । युवा टोलीलाई मंगलबार विदाइ गर्ने क्रममा पारसले नेपाली टोलीको बेन्च स्ट्रेन्थ पनि यू-१९ टिम नै रहेको बताएका थिए ।
एसिया कपका लागि नेपाली यू-१९ टिममा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।
नेपाली टिममा सिनियर टोलीबाट खेलिसकेका दुई अनुभवी खेलाडी छन् । कप्तान देव खनालले नेपाली सिनियर टिमबाट १० वटा एकदिवसीय अन्तर्राष्ट्रिय समेत खेलिसकेका छन् ।
गुल्सन झाले भने २४ एकदिवसीय अन्तर्राष्ट्रिय तथा १४ टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।
पछिल्लो समय नेपाली यू-१९ टिमले एसिया कप छनोट र विश्वकप छनोट खेल्नुका साथै एसिया कपका लागि पनि राम्रै तयारी गरेको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक जगत टमाटाले पनि भारत र पाकिस्तान जस्ता टिमसँग खेल्न उत्साहित हुनुका साथै तयारी राम्रो भएको बताए । उनका अनुसार नेपाली टिमले प्रतियोगिताका लागि कडा मेहनत गरेको छ ।
फुटबलको 'म्यानेजर' र 'कोच' मा के फरक छ ?

युद्धको भग्नावशेषलाई खेलमैदानमा परिणत गर्दै स्पाइडर्स पार्कोर समूह

झाडीले भरिएको बगर बन्यो खेलमैदान

मेस्सीको मियामी प्रवेश, सिटीको 'ट्रेबल' तथा जोकोभिचले कीर्तिमान कायम गरेको व…

क्रिकेटः भारत र पाकिस्तानसँग ऐतिहासिक खेल, विश्व कीर्तिमान र विश्वकप छनोट

क्रिकेटर भीम सार्की : जसलाई बुबाले अधियाँ कमाएर हुर्काएका थिए

प्रशिक्षक देशाई भन्छन्, ‘हाम्रा केही खेलाडीले यी ‘टप-लेभल’ क्रिकेटरलाई टिभीमा …

प्रतिक्रिया