नेपालमा कसले ल्यायो पहिलो विमान ? कसरी राखियो त्रिभुवन विमानस्थलको नाम ?

काठमाडौँ- आज अर्थात बिहीबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस हो । हरेक वर्ष डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको रुपमा मनाउने गरिन्छ ।
हरेक देशमा नागरिक उड्डयन प्राधिकरणको आफ्नै भूमिका हुन्छ । त्यसका लागि उडान क्षेत्रमा विकास गर्न र व्यवस्थित र नियमन गर्न पूर्वाधारहरूको स्थापनाले अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको छ ।
सेवा सुविधाको पहुँच बढाएर तथा पर्यटन क्षेत्रको प्रचारप्रसार विकास गर्न पनि उड्डयन क्षेत्रले विशेष सहयोग गरेको हुन्छ । यसले गर्दा पर्यटकीय क्षेत्रको प्रचारप्रसार भएर आर्थिक आम्दानीसमेत गर्न सकिन्छ । अझ सहज रुपमा भन्नुपर्दा स्थलमार्गबाट गन्तव्यमा पुग्न २-३ दिन लाग्ने ठाउँमा हवाई उडानबाट १-२ घण्टामा पुग्न सकिन्छ । यात्रामा घण्टौमा लाग्ने ठाउँमा क्षणभरमा पुर्याउन हवाई सेवाले सहज बनाएको छ ।
हवाई सेवाबाटै दुर्गम क्षेत्रका सिकिस्त बिरामीको समयमै सहजै उपचार गर्न सकिन्छ । यसले गर्दा पनि दिनप्रतिदिन हवाई उडानको महत्त्व बढ्दै गएको छ । नागरिकका लागि आवश्यक सामग्री ढुवानी गर्न र छिटोछरितो यात्रा गर्न पनि यसको अहम भूमिका रहने गरेको छ ।
नेपालमा हवाई उडानको इतिहास भने अन्य मुलुकभन्दा फरक छैन । जसरी पहिलो उडान अन्य मुलुकबाटै हुन्थे नेपालमा पनि त्यस्तै भएको छ । सन् १९४९ मा पहिलोपटक नेपालका लागि भारतीय राजदूत सरजित सिंह आफ्नो निजी विमानमा नेपालमा आएका थिए ।
सानो गौचरणमा एक इन्जिनको चार सिटे बीच क्रयाफ्ट बोनान्जामा अवतरण गरेका थिए । जुन बेला अहिलेको जस्तो विमानस्थलमा सुविधा सम्पन्न रनवेको व्यवस्था थिएन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालका लागि भारतीय राजदूत सरजित सिंहको उडान भएको विमानलाई पहिलो उडान मान्ने गरेको छ ।
त्यसैगरी, सन् १९५० मा भारतीय हिमालयन एभिएसनको डकोटा डीसी ३ ले नेपालमा पहिलो उडान अनुमति पाएको थियो । जसबाट काठमाडौँ कलकत्ता चार्टड उडान सुचारु भएको थियो ।
नेपाली राजनीतिक दल, राणा र राजा त्रिभुवनको दिल्लीमा सम्झौता भएको थियो । सोही सम्झौता पश्चात सन् १९५१ राजा त्रिभुवन सानो गौचरनमा फिर्ता भएका थिए । सोही समयमा उनले त्यहाँको वस्तुगत अवस्था अवलोकन गरेका थिए ।
राजनीतिक दल र राजाबीच सम्झौता भएपछि नेपाल र भारतको राजनीतिक तथा आर्थिक सम्बन्ध विस्तार भयो । सन् १९५१ भारतले नेपाललाई एउटा हिमालयन डकोटा विमान उपहार दियो । उपहारमा पाएको विमानले सिमरा, भैरहवा, पोखरा र विराटनगरमा व्यवसायिक उडान सुचारु गरेको थियो ।
सन् १९५४ मा हिमालयन एभियसनको विकल्पमा भारतीय एयरलाइन्स एसोसिएटको विमान सुचारू भएको थियो । यो उडान पछि नेपालको उड्डयन क्षेत्रमा फरक पहिचान बनाउन थालेको मान्न सकिन्छ ।
भारतको दिल्लीमा राजा, राजनीतिक दल र राणाको राजनीतिक सम्झौतापश्चात नेपालको सानो गौचरणमा विमानबाट राजा त्रिभुवन अवतरण गरेका थिए । सोही अवतरण गरेको स्थानलाई सन् १९५५ मा जुलाई १५ मा त्रिभुवन विमानस्थल नामाकरण गरिएको हो । आइकाओको सदस्य बनेपछि र उडानको संख्या बढ्दै गएपछि सन् १९६४ त्रिभुवन विमानस्थलको नाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राखिएको हो ।
गौचरणबाट बिस्तारै उडानको संख्या बढ्न थालेपछि धावन मार्गको विकास भयो । सन् १९५७ को जुलाईमा भारतकै सहयोगमा घाँसे मैदानलाई ३ हजार ७५० फिटको धावनमार्ग निर्माण भएको थियो । सोही विमानस्थलमा धावनमार्ग विस्तार गरी १० हजार फिटमा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।
त्यसैगरी हाल नेपाल सरकारको मातहतमा रहेको नेपाल वायुसेवा निगमको सन् १९५८ अर्थात २०१५ असार १७ गते स्थापना भएको हो । यसलाई सन् १९८९ मा पूर्ण रुपमा सरकारको स्वामित्त्वमा ल्याइएको थियो । केही समयपछि यसले बिस्तारै आन्तरिक उडान प्रारम्भ गरेको थियो । पोखरा र सिमरामा सन् १९५८ जुलाई ४ मा नेपाल वायुसेवा निगमले उडान सुचारु गरेको थियो ।
नेपालले उडानको गतिविधिमा सक्रियता बढाउन थाल्दै गयो । जसले गर्दा आइकाओमा समेत नेपाल पुग्न सफल भएको थियो । सन् १९६० जुलाई २९ मा आइकाओको सदस्य बनेको थियो । नेपाल आइकाओको सदस्य बनेपछि नेपाली आकाशमा हवाई उडानको संख्या बढ्दै गएको हो ।
धावनमार्ग निर्माण भएपछि पहिलो लुफाथान्साको विमान अवतरण भएको थियो । सन् १९६७ मा ६ हजार ६०० फिटको धावनमार्ग निर्माण भएको हो ।
नेपाल पर्यटकीय सम्भावना बोकेकाले हवाई उडान सुरु भएपछि यहाँको हिमाल र पर्यटकीय क्षेत्रको प्रचार हुन थालिसकेको थियो । हिमालय क्षेत्रको अवलोकन गराउन माउन्टेन उडान सन् १९६८ मा भएको थियो ।
पर्यटकीय क्षेत्रको प्रचारप्रसार भएपछि नेपाली आकाशमा बिस्तारै विदेशी वायुयानको प्रवेश हुन थाल्यो । सन् १९६८ मा थाइ एयरवेजको बोइङ जहाज नेपाली आकाशमा प्रवेश भएको थियो ।
यता नेपाल वायुसेवा निगमले तराईको क्षेत्रमा नियमित उडान गरिरहेको थियो । निगमले पहाडी क्षेत्रमा पनि उडान सेवा विस्तार गर्न थाल्यो । सन् १९७० देखि ट्वीनअटर र पिलाटस पोटर जहाजबाट निगमको जहाजले पहाडी क्षेत्रमा उडान सुरु गरेको थियो ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया