यू-१९ एसिया कप : सर्वाधिक सफल भारतविरुद्ध नेपालले इतिहास दोहोर्याउला ?

काठमाडौँ- युनाइटेड अरब इमिरेट्समा जारी एसीसी यू-१९ एसिया कपको तेस्रो खेलमा नेपालले मंगलबार साविक विजेता भारतको सामना गर्नेछ । त्यसअघि दोस्रो खेलमा भने आइतबार अफगानिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ ।
यसअघि शुक्रबार भएको समूह 'ए' अन्तर्गतको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध ७ विकेटको पराजय भोगेको थियो । ८ पटकको विजेता भारतले भने पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पाखा लगाएको थियो ।
प्रतियोगिता खेल्न जानुअघि नेपाली यू-१९ क्रिकेट टिमका कप्तान देव खनाल तथा प्रशिक्षक जगत टमटाले पाकिस्तान र भारतजस्ता टिमलाई पराजित गरेर सेमिफाइनलको यात्रा तय गर्ने विश्वास व्यक्त गरेका थिए ।
तर पाकिस्तानविरुद्ध भने नेपाली टिमको ब्याटिङ र बलिङ दुवै फितल रहेको थियो । पाकिस्तानसँगको पराजयसँग नेपालको सेमिफाइनल पुग्ने सम्भावना भने कमजोर बनेको छ ।
नेपालले आइतबार अफगानिस्तानलाई पराजित गरेको खण्डमा मंगलबारको खेलमा भारतविरुद्ध उच्च मनोबलका साथ मैदानमा उत्रिने छ ।
तर यू-१९ एसिया कपको इतिहास हेर्दा भारत नेपालमाथि हावी हुने गरेको देखाउँछ । यू-१९ एसिया कपमा नेपाल र भारतबीच चारपटक प्रतिस्पर्धा हुँदा भारतले ३ खेलमा जित हात पार्दा एक खेलमा मात्र नेपाल विजयी भएको छ ।
सन् २०१२ मा मलेसियामा भएको यू-१९ एसिया कपमा उनमुक्त चन्दको कप्तानीमा रहेको भारतले पृथु बास्कोटाको कप्तानीमा रहेको नेपाललाई डीएल मेथडमा ८१ रनले पराजित गरेको थियो ।
सन् २०१३/१४ मा यूएईमा भएको प्रतियोगितामा विजय जोलको कप्तानीमा रहेको भारतले भुवन कार्कीको कप्तानीमा रहेको नेपाललाई ९ विकेटले स्तब्ध पारेको थियो ।
त्यसैगरी, सन् २०१६ मा श्रीलंकामा सम्पन्न यू-१९ एसिया कपमा भारतले पुनः नेपाललाई पराजित गर्यो । भारतले नेपाललाई ६ विकेटले पराजित गर्दा भारतको कप्तानी अभिषेक शर्माले गरेका थिए भने नेपालको कप्तानी सन्दीप लामिछानेले गरेका थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका अहिलेका कप्तान रोहित पौडेलले भारतविरुद्धको उक्त खेलमा अविजित ६८ रनको योगदान गरेका थिए ।
यू-१९ एसिया कपमा भारतसँग लगातार तीन संस्करणमा पराजित भोगेको नेपालले भने सन् २०१७ मा मलेसियामा भएको प्रतियोगितामा सनसनीपूर्ण नतिजा निकाल्यो ।
उक्त प्रतियोगितामा नेपालले भारतलाई १९ रनले पराजित गर्यो । त्यसपछि नेपालले मलेसियालाई पराजित गरेर सेमिफाइनलसम्मको यात्रा तय गर्यो भने बंगलादेशसँग पराजित हुँदै भारत भने समूह चरणबाटै बाहिरिएको थियो ।
यू-१९ एसिया कपमा भारतविरुद्ध नेपाललाई कीर्तिमानी जित दिलाउन कप्तान दिपेन्द्र सिंह ऐरीले नायकिय भूमिका निर्वाह गरेका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन जोड्दा कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ८८ रनको योगदान गरेका थिए । जितेन्द्र ठकूरीले ३६ रन तथा भिम शार्कीले १५ रन जोडेका थिए ।
नेपालको सिनियर टिमका वर्तमान कप्तान रोहित पौडेल पनि उक्त टिममा रहेका थिए । उनले ६ रन जोडेका थिए ।
जितका लागि १ सय ८६ रनको लक्ष्य पछ्याएको भारतले भने ४८ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ६६ रनमात्र जोड्न सक्यो । भारतको इनिङ्स धराशायी बनाउन नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीले भने सर्वाधिक ४ विकेट हात पारे ।
पवन सर्राफ र शहाब आलमले समान २-२ तथा सन्दीप लामिछाने र कमल सिंह ऐरीले १-१ विकेट हात पारे ।
भारतका लागि कप्तान तथा ओपनर हिमान्शु रानाले सर्वाधिक ४६ रन तथा मंजोत कालराले ३५ रनको योगदान गरेपनि नेपालविरुद्धको जितका लागि पर्याप्त भएन ।
सन् २०१७ को यू-१९ एसिया कपमा नेपालको मुख्य प्रशिक्षक पूर्व कप्तान विनोद दासले गरेका थिए भने भारतीय पक्षको मुख्य प्रशिक्षक भने राहुल ड्रविड रहेका थिए ।
ड्रविड अहिले भारतको सिनियर टिमका मुख्य प्रशिक्षक हुन् । उनकै प्रशिक्षणमा भारतले नोभेम्बरमा सम्पन्न आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको फाइनलसम्मको यात्रा तय गरेको थियो ।
संयोग के भने नेपालले भारतलाई पराजित गर्दा नेपाली टिमका बलिङ प्रशिक्षकमा थिए मोन्टी देशाई । उनै मोन्टी देशाई भने अहिले नेपाली सिनियर टिमका मुख्य प्रशिक्षक छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया