यू-१९ एसिया कपमा नेपाल : को चम्किए, को 'फ्लप' भए ?

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणका तीन वटै खेलमा नेपाल पराजित हुन पुग्यो ।
समूह 'ए' मा रहेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटको पराजित हुँदा दोस्रो खेलमा अफगानिस्तानविरुद्ध ७३ रनको पराजय भोग्यो ।
समूह चरणको अन्तिम खेलमा मंगलबार नेपालले भारतविरुद्ध १० विकेटको लज्जास्पद हार भोग्दै प्रतियोगिताबाट बाहिरियो ।
कस्तो रह्यो समग्रमा नेपालको प्रदर्शन ?
यू-१९ एसिया कपमा नेपालले तीन वटै खेल टेस्ट राष्ट्रहरू पाकिस्तान, अफगानिस्तान र भारतसँग खेलेको थियो र तीन वटै खेलमा नमिठो हारको सामना गर्नुपर्यो ।
खासमा नेपालले तीनमध्ये दुई खेलमा सुरुवाती ब्याटिङ गरेको थियो । एक खेलमा मात्र नेपालले पहिला बलिङ गरेको थियो । तर तीन वटै खेलमा नेपालको ब्याटिङ र बलिङ खराब रह्यो ।
पहिलो खेलमा पाकिस्तानविरुद्ध खेल्दा नेपालले पहिला ब्याटिङ गर्ने निम्तो पाएको थियो । तर नेपालले ४७ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ५२ रनमात्र जोड्न सक्यो । नेपालका लागि उत्तम थापामगरले ७६ बलमा सर्वाधिक ५१ रन बनाउँदा ३ चौका र २ छक्का हिर्काए ।
दिपेश कँडेलले ५९ बलमा ३१ रन बनाउँदा २ चौका र १ छक्का प्रहार गरे । ओपनर अर्जुन कुमालले ३७ बलमा ३ चौकाको मद्दतमा २१ रन बनाए ।
त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालको सिनियर टिमबाट खेलिसकेका कप्तान देव खनाल र गुल्सन झाको प्रदर्शन विर्सनलायक रह्यो । १३ बल खेलेका देव शून्य रनमा आउट हुँदा गुल्सनले ४ बलमा १ रन बनाए ।
पाकिस्तानी बलर मोहम्मद जिशनले ९.२ ओभरमा केवल १९ रन खर्चिएर सर्वाधिक ६ विकेट हात पारे ।
त्यसपछि पाकिस्तानले १ सय ५३ रनको लक्ष्य २६ ओभर २ बलमा केवल ३ विकेटको क्षतिमा पूरा गर्यो ।
दुवै ओपनरको विकट गुमाउँदा पाकिस्तान ६.४ ओभरमा २३/२ मा सिमित भएको थियो तर त्यसपछि नेपाली बलर पाकिस्तानका कप्तान साद बेग र अजान अवाइसविरुद्ध निरिह सावित भए । अजानले ५६ रन तथा सादले ५० रन जोड्दै पाकिस्तानको जित सुनिश्चित गरे ।
आकाश त्रिपाठीले कप्तान सादको विकेट हात पारे पनि खेल नेपालको पकडभन्दा बाहिर गइसकेको थियो ।
दोस्रो खेलमा अफगानिस्तानविरुद्ध पहिला बलिङ गर्ने कप्तान देव खनालको निर्णय पनि गलत सावित भयो ।
जामशिद जदरनको १ सय ६ रन तथा नुमान शाहको ६० रनको मदतमा अफगानिस्तानले ४९ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ६१ रनको योगफल तयार पार्न सफल भयो ।
अफगानिस्तानविरुद्ध गुल्सन झा, हेमन्त धामी र सुवास भण्डारीले समान २-२ विकेट तथा आकाश चन्द र दिपेश कँडेलले १-१ विकेट लिए ।
तर २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभर १ बलमा सबै विकेट गुमाउँदै १ सय ८८ रनमात्र बनाउन सक्यो । उक्त खेलमा अर्जुन कुमालले १ सय ८ बल खेल्दै १३ चौकाको मदतमा सर्वाधिक ९१ रन बनाए ।
कप्तान देव खनालले ३७ बलमा १ चौका प्रहार गर्दै २४ रन बनाए । गुल्सन झाले १७ रन, दीपक बोहराले १५ तथा दिपेश कँडेलले ११ रन जोडे ।
अफगानिस्तानका फारिदून दाउदजाइ र नासिर खानल मारुफखिलले समान ३-३ विकेट तथा मोहम्मद युनुसले २ विकेट लिए ।
भारतविरुद्ध भने नेपाली ब्याटर र बलर दुवै निरिह रहे । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २२ ओभर १ बलमै सबै विकेट गुमाएर ५२ रनमै सिमित भयो । भारतविरुद्ध कुनै पनि नेपाली ब्याटर दोहोरो अंकमा रन बनाउन सकेनन् ।
हेमन्त धामीले सर्वाधिक ८ रन जोड्दा दीपक बोहरा र अर्जुन कुमालले समान ७-७ रन बनाए । कप्तान देव खनालले २ तथा गुल्सन झाले ४ रन बनाए ।
भारतीय बलर राज लिम्बानीले ९.१ ओभर बलिङ गर्दा १३ रन खर्चिएर सर्वाधिक ७ विकेट हात पारे ।
नेपालले दिएको ५३ रनको लक्ष्य भारतले ७ ओभर १ बलमा विना विकेटको क्षतिमा पूरा गर्यो । भारतको जितमा आर्शिन कुलकर्नीले ५ छक्का र १ चौकाको मदतमा ३० बल खेल्दै ४३ रन बनाए ।
नेपालका लागि गुल्सन झा, हेमन्त धामी र आकाश चन्दले बलिङ गरेपनि उनीहरू विकेटविहीन भए ।
नेपाली खेलाडीको बलिङ र ब्याटिङ
पाकिस्तान, अफगानिस्तान र भारतविरुद्ध खेल्दा नेपाली बलर केवल पाकिस्तान र अफगानिस्तानविरुद्ध मात्र विकेट हात पार्न सफल भए ।
गुल्सन झाले पाकिस्तान र अफगानिस्तान दुवै टिमविरुद्ध समान २-२ विकेट लिएका थिए । त्यसैगरी, आकाश त्रिपाठीले पाकिस्तानविरुद्ध मात्र १ विकेट लिए ।
यता हेमन्त धामी र सुवास भण्डारीले अफगानिस्तानविरुद्ध समान २-२ तथा आकाश चन्द र दिपेश कँडेलले १-१ विकेट लिए ।
ब्याटिङतर्फ नेपालका ओपनर अर्जुन कुमालले सबैभन्दा धेरै १ सय १९ रन बनाए । उत्तम थापामगरले ५५ रन तथा दिपेश कँडेलले ४६ रन बनाए ।
नेपाली टिममा रहेका अनुभवी कप्तान देव खनालले तीन खेलमा जम्मा २६ रन बनाए । त्यसैगरी गुल्सन झाले तीन खेलमा जम्मा २२ रन बनाए ।
ब्याटिङतर्फ केवल अर्जुन कुमाल र उत्तम थापामगरले अर्धशतक पूरा गरेका थिए । अर्जुनले अफगानिस्तानविरुद्ध ९१ रन तथा उत्तमले पाकिस्तानविरुद्ध ५१ रन बनाएका थिए ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया