‘सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाइएको रोक सकारात्मक’

काठमाडौँ- बिहीबारदेखि काठमाडौँ महानगरपालिकाभित्र प्लाष्टिकमा प्याक गरिएका खैनी, गुट्खा, पान पराग र मुखमा राखी रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा रोक लगाइएको छ ।
बुधबार महानगरले पत्रकार सम्मेलन गरी अबदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाइएको समेत जानकारी दिएको थियो । महानगरपालिकाले सुर्तीजन्य पदार्थ निरुपण र नियमन ऐन २०६८ को दफा ११ बमोजिम र काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ अन्तर्गत सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको जनाएको छ ।
महानगरका विभिन्न ठाउँमा अनुगमन गरी पसलमा राखिएका सुर्तीजन्य पदार्थ पनि नियन्त्रणमा लिएको छ । सार्वजनिक स्थानमा धूम्रपान गर्न निषेध गरेको छ ।
पसल अगाडि गुट्खा खैनी खाई प्लाष्टिकको खोल फालेकाले पसल धनीलाई फोहोर उठाउनसमेत लगाएको छ । महानगरपालिकाले जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न र सहरी सौन्दर्यता कायम राख्न प्रतिबन्ध लगाएको हो । भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थमा रोक लगाएको हो ।
महानगरपालिकाले सुर्तीजन्य पदार्थमा रोक लगाएर केही हदसम्म वातावरणीय सौन्दर्य बढाउन सक्ने वातावरणविद भुषण तुलाधरले बताए । 'ठाउँ-ठाउँमा भएका सिगरेट र गुट्खाको खोलले पनि फोहोर गरिरहेको हुन्छ,' उनले भने, 'सुर्तीजन्य पदार्थको खोल नहुनासाथ वातावरणमा प्रत्यक्ष देखा पर्दैन । परागका खोलहरू नभएपछि यसले स्वतः वातावरण सफा राख्छ ।'
बिक्री वितरणमा रोक लगाएपछि केही मात्रामा बाटोमा गुट्खाजन्य पदार्थको खोलहरू नदेखिने उनले बताए । महानगरले चालेको यस कदमलाई सकारात्मक रूपमा लिन सकिने उनको भनाइ छ ।
सहरी सौन्दर्य र स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो भएको मान्न सकिने उनको भनाइ छ । काठमाडौँ महानगरपालिकाले राम्रो काम गरेपछि अन्य स्थानीय तहले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउन सक्ने उनले उल्लेख गरे ।
'उपत्यकाको स्थानीय तहको काठमाडौँ उपत्यका फोरमले यो निर्णय गर्न सकेको भए अझ धेरै राम्रो हुने थियो,' उनले अगाडि थपे, 'अर्को स्थानीय तहबाट खरिद गरेर पनि सेवन गर्न सक्नेछन् । त्यसका लागि महानगरले प्रभावकारी रूपमा अनुगमन गर्नुपर्नेछ ।'
तुलाधरले बाहिरका स्थानीय तहबाट आएका मानिसहरू आफैँ सचेत हुनुपर्ने धारणा राखे । 'सहर र वातावरण सफा राख्न केही नियमको आवश्यक पर्छ । महानगरले त्यहीँ नियम लागू गराउन खोजेको हो,' उनले सुनाए ।
गैह्रीधाराका व्यवसायी महेन्द्र खड्काले महानगरले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाएको राम्रो रहेको बताए । स्वास्थ्य र सहरी सौन्दर्यको दृष्टिकोणले पनि राम्रो रहन गएको उनको भनाइ छ ।
'महानगरपालिकाले सडक पारि गएर किन्नु र वारि आएर फोहोर गर्न भन्न खोजेको जस्तो भयो,' व्यवसायी खड्काले भने, 'यसका लागि सुर्तीजन्य पदार्थ बनाउने उद्योग बन्द गर्नुपर्छ । स्थानीय सरकारको कामलाई केन्द्र सरकारले सहयोग गर्नुपर्छ ।'
महानगरले सहर सफा राख्न सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएर सकारात्मक कार्यको थालनी गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।
'महानगरभित्र रहेका सबै पसलमा अनुगमन गरिन्छ,' उनले भने, 'दुई पटक पसलमा सुर्तीजन्य पदार्थ पाइएमा जफत गरिने तर तेस्रो पटक भेटेमा पसल बन्द गरिन्छ ।'
सार्वजनिक स्थानमा धुम्रपान गरिनेलाई बाहिर निकालिने र एक सय रुपैयाँसम्म जरिवाना गरिने मानन्धरले बताए । सार्वजनिक स्थलको एक सय मिटर वरिपरि बिक्री वितरण गरेको पाइएमा जफत गरिने उनले जानकारी दिए ।
अनुगमनका लागि चार क्षेत्रमा १० जना नगर प्रहरी खटाइने मानन्धरले जानकारी दिए । महानगरले केन्द्रमा निरन्तर अनुगमनको लागि १० जना खटाउने भएको छ । पहिलो चरणमा ५० जना नगर प्रहरी परिचालन र सादा पोसाकमा समेत खटाउने भएको छ ।

गोहीको गुँडबाट अण्डा संकलन थालियो

आजको मौसमः चार प्रदेशमा बर्षा र हिमालमा हिमपात हुने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

सगरमाथा चढन तयारीमा रहेका असई छन्त्याललाई प्रधानमन्त्रीको बिदाई

पत्रकार कार्की माथी हमला गर्ने माथी कारबाही गर्न प्रेस चौतारीको माग

बानेश्वरको झडपमा पत्रकारसहित ५० बढी शिक्षक घाइते

भरतपुरमा सुत्केरी महिलालाई पौष्टिक खाना र यातायात खर्च निःशुल्क

प्रतिक्रिया