मंगलबार २० साउन, २०८२
Tuesday, August 05, 2025

रोग र भोकसँग लड्दै हिंसा पीडित महिला

आफ्नोभन्दा छोरीको चिन्ता

सुर्खेत: जेठ पहिलो साता वीरेन्द्रनगर–११ की २९ वर्षीया निशा शाही (नाम परिवर्तन) १५ दिनसम्म ओछ्यानबाट उठ्न नसक्ने अवस्थामा थिइन् । सानो झुप्रोको पिँढीमा पल्टिएकी थिइन् । कतिबेला आँखाभरी आँशु लिएर १० वर्षीया छोरीलाई हेरेर टोलाइरहेकी हुन्थिन् । कोभिडले थलिएकी भनेर निशालाई छिमेकीले वास्तै गरेनन् । अर्काेको घरमा काम सघाएर साँझ बिहानको दुई छाक जोहो गर्दै आएकी निशालाई कोभिड माहामारीमा हातमुख जोड्न समस्या थियो । 

कयौँ रात आमाछोरी भोकै सुते । भोग र रोगले थलिएकी निशालाई बाँच्ने आशा पटक्कै थिएन । त्यो भन्दा ठूलो पिर आफू मरेपछि छोरीको रेखदेख कसले गर्ला भन्ने थियो । छरछिमेकीले कोभिड भयो भनेर तिरस्कार गरेपछि उनले नजिकै रहेको इशाई मण्डलीलाई छोरीको जिम्मा लगाउने सोचमा थिइन् । ‘नजिकका छिमेकीहरूले तिरस्कार गरे । इशाई मण्डलीलाई भनेपछि मेरो शव त गाड्लान् अनि छोरीलाई पनि हेर्लान् भनेर उनीहरूसँग कुरा गर्ने सोचमा थिएँ’ उनले भनिन्, ‘म  त मरेर जम्ला छोरीलाई कसले हेरिदेला भन्ने पिर लाग्छ ।’

विगत ६ वर्षदेखि १० वर्षीया छोरीको साथमा सानो झुप्रोमा बस्दै आएकी निशाका आफन्तबाट अलग्गै छन् । आमाको न्यानो काखको अनुभूति गर्न पाइनन् उनले । ‘म एक वर्षकी छँदा आमाले छोड्नुभएछ । सौतेनी आमाको टोकसो सहन नसकेपछि १६ वर्षकै कलिलो उमेरमा विवाह बन्धनमा बाँधिएकी उनी श्रीमान र घरपरिवारको यातना सहन बाध्य भइन् त्यतिमात्र होइन गर्भवती अवस्थामा घरबाट निकाले । सुत्केरी बेथा लागेपछि बाटोमा स्थानीयहरूले उद्धार गरेर अस्पताल लगेका थिए । ‘अस्पतालमा छोरी समाउने कपडा थिएन त्यहाँ आएकाहरूले दया गरेर कपडा दिएपछि त्यसैले समाए’ उनले भनिन्, ‘अरुले दिएको कपडा र खानाले भए पनि छोरी हुर्काएँ ।’

‘सानो छँदा पनि सौताने आमाको टोकसो सहँदै हुर्किएँ’ निशाले भनिन्, ‘सानैमा विवाह भयो विवाहपछि पनि श्रीमान र आफन्तको माया पाउन सकिनँ ।’ सम्पतिको नाममा सुर्खेतस्थित नवज्योती संस्थाले बनाइदिएको सानो घर र १० वर्षीया छोरी मात्र छन् । त्यतिमात्र होइन उनी पाठेघर खस्ने समस्याले पनि थलिएकी छन् । ‘भारी बोक्न सक्दैन, सामान्य बसेर गर्ने काम मात्र गर्न सक्छु’ उनले भनिन्, ‘अरुको घरमा चामल निफन्ने केलाउने, मिलमा गएर दाल निफन्ने काम गर्छु र आमा छोरीको पेट पाल्ने काम भएको छ ।’ उनी मजदुरी गर्न नसक्ने अवस्थामा थिइन् । 

घरबाट निकालिएपछि केही महिनासम्म साहारा खोज्दै भौतारिएकी थिइन् । बच्चा बोकेर न्याय खोज्दै हिडेकी उनी एक वकिलका पुगेपछि झन् अन्यायमा परिछन् । ‘त्यहा पनि पैसा मागे र पनि गाउँबाट सापटी बनाएर दिएँ’ उनले भनिन्, ‘उल्टै वकिल श्रीमानसँग मिलेछन् र झनै अन्याय सहनु पर्यो‍ ।’अन्याय सहेरै भौतारिएकी उनलाई स्थानीयहरूले अधिवक्ता गीता कोइरालाका जान सल्लाह दिएछन् । त्यसको केही समयपछि उनले अधिवक्ता गीताको साथमा निःशुल्क कानुनी सेवा पाइन् । अहिले पनि घरेलु हिंसाको मुद्धा अदालतमा  चलिरहेको छ । 

कोभिड माहामारीको समयमा निशाको दर्दनाक अवस्था थाह पाएपछि मानव अधिकारकर्मी एंव अधिवत्ता गीता कोइराला र नवज्योती पीडित संजालका अध्यक्ष निर्मला बाँस्कोटा त्यहाँ पुगे । उनको घरमा चामल दाल तरकारी लिएर पुगिन् । अधिकारकर्मी कोइरालालाई देखेपछि सुरुवातमा निशाले भनिन्, ‘म मरेपछि मेरी छोरी हेर्दिनु है’ उनको यो वाक्यले त्यहाँ पुगेका अधिकारकर्मीको पनि आँखा रसाए ।  उनीहरूले निशालाई सान्तवना दिए । अधिकारकर्मीहरूले वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा चामल, दाल, तरकारी, नुन तेलको साथै औषधीहरु प्रदान गरेका थिए ।