अस्थायी आवास निर्माण नहुँदा जाजरकोटका भूकम्प प्रभावितको अवस्था कष्टकर बन्दै
दातृ निकायलाई अनुरोध : अस्थायी आवास बनाउन सहयोग गरिदिनुहोस्

काठमाडौँ- अस्थायी आवास निर्माण सम्पन्न नहुँदा जाजरकोटका भूकम्प प्रभावितहरूको जनजीवन कष्टकर बनेको छ । गत कार्तिक १७ गते राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्निट्यूडको भूकम्प गएको थियो । भूकम्पमा ठूलो मात्रामा मानवीय, आर्थिक तथा भौतिक क्षति भएको थियो । भूकम्पका कारण भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका करिब सबै घरहरू क्षतिग्रस्त भएका छन् ।
सरकारले अस्थायी आवास निर्माणका लागि भनेर ५० हजार रुपैयाँ दिने घोषणा गरे पनि आजसम्म भूकम्प प्रभावितहरूको अस्थायी आवास निर्माण सम्पन्न हुन सकेको छैन । सरकारले २५/२५ हजार रुपैयाँका दरले दुई पटक गरेर अस्थायी आवास निर्माणका लागि ५० हजार दिने कार्यविधि बनाएको छ । सोही कार्यविधि अनुरूप भूकम्प प्रभावितहरूले रकम भने लिइरहेका छन् । तर, मौसमी प्रतिकूलताका कारण भूकम्प प्रभावितहरूको जनजीवन भने दिन प्रतिदिन प्रभावित बन्दै गइरहेको छ । प्रभावितहरू त्रिपालमुनि रात बिताउन बाध्य छन् ।
कठ्याङ्ग्रिँदो जाडोमा त्रिपालले समेत थेग्ने अवस्था नहुँदा प्रभावितहरूले सरकारले अस्थायी आवास निर्माण छिटोभन्दा छिटो सम्पन्न गर्नका लागि सहजीकरण गर्नुपर्ने आग्रह गरिरहेका छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जाजरकोटको भूकम्प प्रभावित भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्तीले आफूहरू अस्थायी आवास कसरी दिने भन्ने कुराको दबाबमा रहेको बताए । उनले भेरी नगरपालिकामा मात्रै ४५ जनाको ज्यान गएको उल्लेख गर्दै ठूलो संख्यामा पूर्वाधारको क्षति भएको बताए । घर भग्नावशेषमा परिणत भएका र आंशिक क्षति भएकाहरूमा पनि बस्न सक्ने अवस्था नहुँदा त्रिपालले मात्रै जाडो धान्न नसकेको उनको भनाइ छ ।
त्रिपालले जाडो छेकेन, टेन्ट सबैलाई दिन सकिएन
नगरप्रमुख घर्तीका अनुसार भूकम्प प्रभावित सबैले त्रिपाल पाएका छन् । तर, त्रिपालभित्र सुतेर बिहान उठ्दा ब्ल्याङ्केट भिजेको अवस्थामा हुने गरेको उनको भनाइ छ । एउटा त्रिपालबाट हिउँद कटाउन पर्याप्त नहुने उनले बताए । त्रिपालको विकल्पमा टेन्ट दिन सकिएको भए केही सहज हुने र टेन्ट पर्याप्त मात्रामा नआएको उनले उल्लेख गरे । दातृ निकायले थोरै संख्यामा ल्याएका टेन्टहरू दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सिकिस्त घाइते र मृतक परिवारलाई दिइएको छ तर अरूलाई दिन सकिएको छैन । नगरप्रमुख घर्तीले त्रिपालमुनि बस्दा झनै समस्या बढ्न थालेको बताए ।
उनले भने, ‘पीडित सबैको घरमा त्रिपाल पुगेको छ । तर, त्रिपालमुनि सुत्दाखेरी निकै कष्टकर भइसक्यो । बेलुका सुतेको मान्छे बिहान उठ्दा ब्ल्याक्वेट भिजेको अवस्था देखियो । अब त्रिपालले हिउँद कटाउन पर्याप्त भएन । त्रिपाल हाम्रो स्वास्थ्यको हिसाबले राम्रो हुन सकेन । यो घातक भएको छ । यो कुरा मैले प्रदेश सरकार र संघीय सरकारका सरोकारवाला व्यक्तित्वहरूदेखि लिएर सांसदहरूमा पुर्याएको छु ।’
नागरिकको अपेक्षा : छिटोभन्दा छिटो अस्थायी आवासको उपलब्धता
भूकम्प प्रभावितहरूले जटिसक्दो छिटो अस्थायी आवास निर्माण सम्पन्न होस् भन्ने चाहेका छन् । नगरप्रमुख घर्तीका अनुसार जाडोको यो समयमा जाजरकोटका माथिल्लो भागहरूमा हिउँ पर्ने गर्छ । केन्द्र भाग रामीडाँडाँमा पनि हिउँ पर्छ । नलगाड नगरपालिका र भेरी नगरपालिकाको वडा नं.२ र वडा नं.६ मा पनि हिउँ पर्ने सम्भावना हुन्छ । तसर्थ हिउँबाट जोगाउनका लागि पनि अस्थायी आवास तुरुन्त आवश्यक भइसकेको छ ।
आंशिक रूपमा चर्किएका घर भत्काउन चाहँदैनन् प्रभावितहरू
भूकम्प प्रभावितहरूका लागि अस्थायी आवास निर्माणका लागि संघीय सरकारले कार्यविधि नै बनाएर पठाएको छ । सोअनुसार आंशिक रुपमा चर्किएका घरहरू पनि भत्काउनुपर्ने र अस्थायी आवास बनाउनुपर्ने उल्लेख गरिएको छ । तर, आंशिक रूपमा चर्किएका घरहरू मानिसहरूले भत्काउन चाहिरहेका छैनन् । उनीहरू घर नभत्काइ अस्थायी आवास बनाउन चाहन्छन् तर कार्यविधिले त्यसो गर्न नदिँदा प्राविधिक रूपमा जटिलता देखिएको नगरप्रमुख घर्ती बताउँछन् । आफूहरूले सो समस्याका बारेमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनका लागि आएका संसदीय समितिहरूलाई पनि जानकारी गराएको उनको भनाइ छ ।
विद्यालय, स्वास्थ्य चौकी र प्रशासनिक भवनहरूको पुनःनिर्माणमा संघीय सरकार उदासीन
भूकम्पका कारण भेरी नगरपालिका लगायत प्रभावित क्षेत्रहरूमा रहेका विद्यालय, स्वास्थ्य चौकी र विभिन्न प्रशासनिक भवनहरू पूर्ण अथवा आंशिक रुपमा क्षतिग्रस्त बनेका छन् । तर, त्यसको पुनःनिर्माणका सम्बन्धमा संघीय सरकार उदासीन बनेको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्ती बताउँछन् । स्थानीय तहको स्रोत, साधनले नपुग्ने अवस्था रहेको उनको भनाइ छ । संघीय सरकारले अस्थायी आवास बनाउने कार्यविधिमा पनि विद्यालय, स्वास्थ्य चौकी लगायतका संरचनाहरूको बारेमा केही नबोलेको उनले बताए । केही ठाउँमा भने विभिन्न दातृ निकायहरूको सहयोगमा अस्थायी रुपमा पठन–पाठन गराउनका लागि संरचनाहरू बनेका उनले जानकारी दिए ।
भूकम्प प्रभावितहरूले दाताहरूबाटै सोझै राहतका सामग्रीहरू पाउने अवस्था नभएपनि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पाइरहेका छन् । स्थानीय तहले पनि समितिलाई सामान थन्किने, पीडितले नपाउने, निकै लामो समय कुर्नुपर्ने जस्तो समस्याहरू नआउन् भनेर झक्झकाइरहेको छ । तसर्थ यस प्रकारको समस्या अहिले नआएको नगरप्रमुख घर्तीले बताए ।
‘अस्थायी आवास बनाउन सहयोग गरिदिनु होस्’
भूकम्प प्रभावितहरूले यतिखेर दातृ निकाय तथा संघसंस्थाहरूलाई सम्झिइरहेका छन् । भूकम्पका बेलामा घुइँचो लाग्नेगरी पुगेका सहयोगी हातहरू अहिले बिस्तारै कम हुँदै गएका छन् । तर, वास्तविक सहयोग यतिखेर चाहिएको छ भन्छन्, भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्ती । उनले दातृ निकायहरूलाई अस्थायी आवास, स्वास्थ्य चौकी अथवा विद्यालयहरू बनाइदिन आग्रह गरेका छन् ।
उनको आग्रह छ, ‘दातृ निकायलाई अनुरोध गर्दछु, स्वास्थ्य चौकी बनाइदिने हो कि ? अस्थायी आवास बनाइदिने हो कि ? सामुदायिक विद्यालय बनाइदिने हो कि ? म विनम्र अनुरोध गर्दछु । यतिखेर आइदिनुपर्यो यहाँ । अब यहाँ काम देखाउने बेला भएको छ । सही र उपयुक्त समय यही हो । आएर सहयोग गरिदिनु होस् ।’
कहिलेसम्म अस्थायी आवासमा बस्ने ? संघीय सरकारले भन्नुपर्छ
नगरप्रमुख घर्तीले आफूहरू अस्थायी आवास निर्माणमा लागि परिरहेको बताए । अस्थायी आवास निर्माणका लागि संघीय सरकारलाई पनि तदारुकता, इमान्दारिता र नेतृत्वदायी भूमिका खेल्न उनले आग्रह गरे । कहिलेसम्म अस्थायी आवासमा बस्ने ? भनि प्रश्न गर्दै उनले पुनःनिर्माणदेखि पुनःस्थापनासम्मका लागि संघीय सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘अस्थायी आवास दिनको निम्ति हामी लागेकै छौँ । संघीय सरकारको तदारुकता, इमान्दारिता र नेतृत्वदायी भुमिकाको अपेक्षा गरेको छु । कहिलेसम्म अस्थायी आवासमा बस्ने ? पुनःनिर्माणदेखि पुनःस्थापनासम्म सोच्न आग्रह गर्न चाहन्छु ।’

‘मौलिक संस्कृति मासेर बहुराष्ट्रिय कम्पनी फस्टाउँदैन’

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

अन्तर्राष्ट्रिय शान्तिवक्ता भक्तपुरमा

आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा

प्रतिक्रिया