तीन पुस्तादेखि बस्दै आएको मुसहर बस्तीमा जमिन्दारको 'गिद्धे नजर'
बस्ती उठाउने षड्यन्त्रले स्थानीय त्रसित

सिरहा- सिरहाको मिर्चैया नगरपालिका-११ सोनीस्थित सदाय (मुसहर) बस्ती उठाउने षडयन्त्र भइरहेको स्थानीयले बताएका छन् । आफ्नै गाउँ ब्लकको जग्गा साटफेर गरेर तीन पुस्तादेखि बस्दै आएको मुसहर बस्ती अहिले हटाउने षडयन्त्र भएको गुनासो आएको छ ।
मुसहर बस्ती गाउँको बीचमा परेपछि तत्कालीन जमिन्दारसमेत रहेका सुवेलाल अरगरियाले गाउँदेखि उत्तरको आफ्नो जमिनमा मुसहर बस्ती सारेको वडा सदस्यसमेत रहेका स्थानीय ७५ वर्षीय झगडु माझीले जानकारी दिए ।
साटफेर गरेको भए पनि जमिन्दारको अगाडि कोही बोल्न नसक्दा उनीहरूको नाममा जमिन आउन नसकेको वडा सदस्य माझीले बताए । उनले भने, 'त्यस बेला जमिन्दारसँग कुरा गर्ने आँट कसैको हुँदैन थियो, त्यसैले पनि यो जमिन अहिलेसम्म साहुकै नाममा रह्यो । आज बाटो, बिजुली, बस्ती नजिकै विद्यालय भएसँगै जमिनको मूल्य बढेपछि उनीहरू नदिने पक्षमा पुगेका छन् ।'
यहाँ बस्न दिएको सट्टामा जमिन्दारले मुसहरहरू बस्दै आएको गाउँ ब्लकको जमिन लिएका थिए । त्यो जमिन अहिले उनीहरूले विभिन्न व्यक्तिलाई बेचिसकेका छन् । उनले भने, ‘त्यसबेला जमिन्दारको जमाना थियो । जमिनको मूल्य पनि थिएन । बुबाले जमिन पास गराउन भनेर भैँसी, बाख्रा बेचेर पैसा दिएको पनि हो । तर, जमिन पास हुन सकेन उनीहरूकै नाममा रह्यो ।’
जमिनको मूल्य बढेपछि अहिले आएर सुवेलालका नाति हेमशंकर अरगरियाले बस्तीका ११ घर परिवारविरुद्ध मुद्दा दायर गरेका छन् । उनले आफ्नो जमिनमा रातारात घर बनाएर कब्जा गरेकाले खाली गराउन मागसहित जिल्ला अदालत सिरहामा मुद्दा हालेका छन् ।
स्थानीय ६४ वर्षीय मंगनिया मुखियाले स्थानीय जग्गा दलालहरूको उस्काहटमा जमिन्दारले दलितहरूलाई दुःख दिने नियतले मुद्दा हालेको बताए । उनले भने, ‘हामी स-सानै छँदा यहाँ सदायहरूको बस्ती थियो । यहाँका सबै सदाय जमिन्दारकैमा काम गर्थे । सदायहरूको बस्दै आएको गाउँ ब्लकको जग्गा पनि जमिन्दारले नै बेचेर खाए । अहिले गरिब दलितहरूलाई दुःख दिइरहेका छन् । अरगरिया परिवार अहिले जनकपुरमा बसोवास गरिरहेको छ ।’
७० वर्षीय कुवली सदायको जन्म यहीँ भएको हो । उनले आफ्नो बुबाले जङ्गल फडानी गरेर बसेका बताए । उनले भने, ‘हामी यहाँ आज आएर बसेको होइन । मेरो जन्म यहीँ भएको हो । बुबाहरूले यहाँको खोरिया फाँडेको सुनाउनुहुन्थ्यो । आज विभिन्न प्रपञ्च रचेर हामीलाई बेघर गर्ने प्रयास भइरहेको छ । हामीलाई सबैको सहयोग चाहिएको छ ।’
करिब ३० घर परिवार रहेको मुसहर बस्तीका रामदयाल सदा, कवली सदा, कुशवा सदा, पति रदा, भिडिया सदा, इन्दल सदा, शिवु सदासहित ११ जनाविरुद्ध मुद्दा परेको छ । उनीहरू ५/१० धुर गरी ३ कट्ठा १५ धुर जमिनमा घर बनाएर बसेका छन् ।
बाँकी सदाय बस्ती अरगरीया परिवारकै मोहीवापत पाएको जमिनमा रहेको छ । रामदयाल सदायको नाममा रहेको १९ कट्ठा मोही जमिनमध्ये ९ कट्ठा १० धुर पाएका थिए । त्यस बेला पनि अरगरिया परिवारले बस्तीको जमिन राम दयाललाई दिएका थिए । उनै रामदयालले थोरै पैसा लिएर अर्कैको नाममा जमिन पास गराएको बताए ।
पूरै बस्ती अरगरिया परिवारसँगै आफ्नो जमिन साटेर बसेको भए पनि सदायहरूले पुनः रकम तिरेर बस्नु परेको उनीहरूले बताए । अब उनीहरूकै नाममा रहेको जमिनमा भने मुद्दा हालिएको छ । मुद्दा परेपछि गाउँलेहरू अहिले चिन्तित भएका छन् । सदायहरू उठिबासको चिन्ताले पिरोलिएका छन् ।
जिल्ला हरुवा-चरुवा अधिकार मञ्चले सदाय बस्तीमै पुगेर आफ्नो संगठनको साथ रहेको भन्दै नडराउन आश्वासन दिएको छ । मञ्चका अध्यक्ष श्यामसुन्दर सदायले बस्तीमा पुगेर भने, ‘तपाईँहरू आफ्नो जमिनको लागि आवाज उठाउनुहोस्, हामी तपाईँहरूको साथमा छौं । तपाईँहरू खुट्टा कमाउनु पर्दैन, हामी तपाईँहरूको साथमा छौं ।’
उठिबासविरुद्धको संघर्ष समितिले मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवलाई ज्ञापनपत्र बुझाइसकेको छ । ज्ञापनपत्र बुझ्दै मेयर यादवले आफू पीडितहरूको साथमा रहने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘पीडितको तर्फबाट न्याय समितिमा उजुरी दिनुहोस्, हामी तत्काल उनलाई पत्र लेखेर बोलाउँछौं, यहीँ बसेर टुङ्गो लगाउने प्रयास गर्छु ।’ न्युजकारखाना

पाथिभरा मन्दिरमा एक महिनामै ६० लाख ९० हजार भेटी संकलन

गौशालाका लागि १७ रोपनी जग्गा प्रदान

प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

मखनटोलमा लागेको आगो निभाइयो

‘नेपालमा कृषि बिमा’ सम्बन्धी पुस्तक बजारमा

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

प्रतिक्रिया