कस्तो बन्दैछ नेपालको पहिलो फ्लाई ओभर ? [नयाँ डिजाइनसहित]

नेपालमा सडक निर्माण तथा विकासका कार्यहरू सञ्चालनमा आएको लगभग एक सय वर्ष पुगिसकेको छ । सडक निर्माण तथा विकासहरूलाई हेर्दा स्वर्णकालीन समय मान्न सकिन्छ ।
राणाकालीन समयमा विकासको प्रादुर्भाव भएको थियो । मानव सभ्यताको विकास उत्कर्षमा पुग्नै लाग्दा राणाकालीन समयले विकासको खुड्किलो चढ्दै थियो । त्यो विकासको चरण भनेको नै सडक मार्ग थियो । वि.सं १९८० को दशकबाट काठमाडौँ उपत्यकामा सडक निर्माण हुँदै आएको अभिलेखीकरण पाइन्छ ।
नेपालको पहिलो सडक अमलेखगञ्जदेखि भीमफेदीसम्मको दूरी जम्मा ४२ किलोमिटरको हो । उक्त सडकबाट मुलुककै पहिलो सवारी साधन (कार) भरियालाई बोकाएर वि.सं १९९८ मा काठमाडौँ ल्याइएको थियो ।
राणाकालीन समयमा बाटो काज गोश्वारा, छम्भडेल अड्डाजस्ता विविध अड्डाहरू खडा गरेर विकास निर्माणका कामहरू भएका थिए ।
वि.सं. १९८० देखि हाल २०८० सम्मको समयमा नेपालका थुप्रै भूभागमा तीव्र रूपमा सडक निर्माण कार्य भएका छन् । सडक निर्माणको एक शताब्दीमा नेपालभर करिब ९७ हजार १०५ किलोमिटर सडक निर्माण भइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।
पछिल्लो समय ट्राफिक व्यवस्थापनका लागि सरकारले सहरका विभिन्न चोकहरूमा आकासे पुल, अण्डरपासजस्ता आधुनिक संरचनाहरूसमेत निर्माण गरेको छ ।सो क्रममा कलंकी अण्डरपास, नागढुंगा सुरुङ मार्ग, फास्ट ट्रयाक आदि जस्ता राष्ट्रिय गौरवको दिगो आयोजना पनि निर्माण भइरहेका छन् । ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै नेपालमा पहिलो पटक ग्वार्को फ्लाई ओभर निर्माण हुँदैछ । जुन अहिले सर्वसाधारणका लागि निकै चासोको विषय बनेको छ ।
ललितपुरस्थित ग्वार्को चोकमा फ्लाई ओभर निर्माणका लागि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागको गुणस्तर अनुसन्धान र विकास केन्द्र विभागले जिम्मा लिएको छ । विभागले २०७८ माघ २७ गते निर्माण कम्पनी आशिष-समानान्तर-रेलिगेर जेभीसँग ठेक्का (अनुबन्ध नं. DOR_QRDC/EPC/NCB/GFP/०७७/७८-१३) सम्झौता गरेको थियो । उक्त सम्झौताअनुरूप निर्माण कम्पनीले कार्य योजना, डिजाइन, इन्जिनियरिङ, खरिद तथा अण्डरपास सडकसहित चार लेन सडक भएको फ्लाई ओभरको निर्माणका लागि इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन (ईपिसी) मोडेलमा कुल लागत १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँमा करसहित ठेक्का कबुल गरेको थियो । सम्झौता गरिएको दुई वर्षमा काम सक्ने गरी निर्माण अवधि तोकिएको थियो । चौतर्फी रूपमा चक्रपथ सडक खण्डमा ट्राफिक जामलाई व्यवस्थापन तथा सहज नियन्त्रण गर्न यो परियोजना सरकारले सुरु गरेको हो ।
ग्वार्को फ्लाई ओभरमा के-के काम भए ?
निर्माण कम्पनीका पुल विशेषज्ञ इन्जिनियर रञ्जित कापरका अनुसार निर्माण क्षेत्रमा अहिले फ्लाई ओभर पुलको लागि 'ग्रिडर' (बिम,दलिन) बनाउने काम हुँदैछ । निर्माणाधीन फ्लाई ओभरका लागि ७ वटा 'ग्रिडर' कुल ३५.८० मिटर लम्बाइको आवश्यकता पर्छ । उक्त 'ग्रिडर' लाई बलियो बनाउन 'ग्रिडर' भित्र हाल्ने प्रि-स्ट्रेस पाइप/ स्लिथिन पाइप (बलियो कालो पाइप) ४ इन्चको ४ वटा हालिएका छन् । ४ इन्चको स्लिथिन पाइपभित्र १२.७ एम.एमको १९ वटा 'टेन्डम तार' (मोटो फलामको तार) हालिन्छ र पछि 'ग्राउट' (सिमेन्ट र केमिकलको मिश्रण) गरेर बलियो बनाइन्छ । जसले अब बन्ने फ्लाई ओभरको भार क्षमता बढाउँछ ।
साइट इन्जिनियर प्रदिप भट्टराईका अनुसार कार्य क्षेत्रमा ग्रिडर राख्न 'पायर' (पिलर) वारिपारि ४-४ वटा बनाइएको छ । 'पायर' माथि ७ वोटा 'ग्रिडर' राखिन्छ । सडकको वारी र पारी ‘पायर’ लाई सपोर्ट गर्न जमिनमुनि ३० मिटरको २४ वटा 'पायलिङ' (जमिन कस्न र पुलको खुट्टा मजबुत बनाउन जमिनमुनि खाल्डाे खनेर रड र कंक्रिट हालेर ढलान गर्ने) गरिएको छ । 'ग्रिडर' राखेपश्चात् सडकको दुवै भागमा 'स्लोप' मिलाएर माटो भरिन्छ । माटोलाई सडक बाहिर निस्कन नदिनका लागि 'रि-वाल प्यानल' ले बार लगाइन्छ । उक्त फ्लाई ओभरका लागि दुई हजारभन्दा बढी 'रि-वाल प्यानल' आवश्यक पर्छ । अहिले कार्य क्षेत्रमा 'रि-वाल प्यानल' बनाउने काम धमाधम भइरहेको छ । यसका लागि भारतीय प्राविधिक टोली फिल्डमा छन् ।
साइट इन्जिनियर भट्टराईले सडक विभागले पुलको 'स्लोप' का लागि निर्णय नदिएर काममा ढिलासुस्ती भएको बताए । निर्णय समयमा आए यहीँ असारसम्ममा काम सक्ने निर्माण कम्पनीको लक्ष्य छ । अहिले फ्लाई ओभर निर्माणको कामका लागि ५० जना कामदार फिल्डमा खटिएका छन् । बिहानदेखि राति १० बजेसम्म लगातार काम भइरहेको छ ।
निर्माण किन ढिला भयो ?
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डिजाइनमा सही निर्णय दिन नसक्दा बारम्बार काम रोकिएको छ । पहिला पनि मन्त्रालयबाट बारम्बार डिजाइनमा समस्या भएको र माटो परीक्षणजस्ता विभिन्न कुराहरू बताई काम अवरुद्ध भएको थियो । निर्माण कम्पनीले पेस गरेको डिजाइन ‘करेक्सन’ गरेर सडक विभागले स्वीकृत दिन सकेको छैन ।
दैनिक लाखौँ मानिसले प्रयोग गर्ने यो सडकमा ग्वार्को चोक, बी एण्ड बी हस्पिटल, पाटनको गाःबहाल, बालकुमारी, बाहुनधारा, इमाडोलसम्म सवारीको जाम हुने गरेको छ । सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सिडिई) राकेश महर्जनले पहिला डिजाइन गरिए अनुसारका उपकरणहरू युरोप, नेपाल र भारतमा नपाएपछि निर्माण गर्न समस्या भएर डिजाइन परिवर्तन गरिएको बताए ।
पछिल्लो डिजाइनअनुसार कस्तो बन्दै छ फ्लाई ओभर ?
फ्लाई ओभरको लम्बाइ करिब ५ सय मिटर र उचाइ ९ मिटर हुने विकास केन्द्रले जनाएको छ । चक्रपथको कोटेश्वर-कलंकी खण्डमा विस्तार गरिएको ८ लेन सडकको बीचको ४ लेनमा फ्लाई ओभरबाट चक्रपथमा गुड्ने सवारी चल्नेछन् भने फ्लाई ओभरमुनिबाट मंगलबजार-इमाडोल-मंगलबजार चल्ने सवारीले आवतजावत हुने निर्माण कम्पनीका परियोजना निर्देशक विशाल कार्कीले बताएका छन् ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाई ओभरको उचाइ ६ मिटर राखिएकोमा निर्माणाधीन फ्लाई ओभरको उचाइ ९ मिटरको हुनेछ । जसको 'र्याम' बालकुमारीतर्फबाट ३ सय २० मिटर लामो र सातोबाटोतर्फबाट १ सय ८५ मिटर लम्बाइको निर्माण हुन लागेको छ । बीचको 'सुपर स्ट्रक्चर' को लम्बाइ भने ३५ मिटर लामो हुने निर्माण कम्पनीका परियोजना निर्देशक कार्कीले बताए । बालकुमारी आकासे पुलबाट बी एण्ड बी हस्पिटलको सडक खण्ड सिधा नभए पनि अहिलेको डिजाइनअनुसार फ्लाई ओभर सिधा नै निर्माण हुनेछ र काेटेश्वरपट्टि भने जमिनअनुसारकाे घुमाउराे हुनेछ ।
फ्लाई ओभर कि ओभर पास ?
चक्रपथको निकै व्यस्तमध्येको चोक हो ग्वार्को चोक । मुख्य लेन बन्द हुँदा हरेक दिन सवारीसाधनको चर्को जाम पर्ने र त्यसको मार सर्वसाधारणले खेप्दै आएका छन् । ग्वार्को चोकमा निर्माणाधीन अवस्थामा रहेको संरचना ट्राफिक व्यवस्थापन र आम नागरिकलाई आवतजावतमा सहजीकरणका लागि निर्माण गर्न लागिएको हो । जसलाई अहिले कसैले ओभर पास त कसैले फ्लाई ओभर भनेर दुविधामा परिरहेका छन् । तर, यो साँच्चिकै के हो त ?
निर्माण कम्पनीका पुल विशेषज्ञ इन्जिनियर कापर ग्वार्कोमा बनिरहेको संरचना ओभर पासको पूर्ण परिभाषामा नपर्ने तर निर्माणशैली भने ओभर पाससरह नै रहेको बताउँछन् । सडक विभाग आफैले पनि फ्लाई ओभर भनि ठेक्का निकालेको थियो । सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नवीनमान श्रेष्ठले पनि नेपालका लागि यो नै पहिलो फ्लाई ओभर हुने बताएका छन् । केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सिडिई) राकेश महर्जनले पनि यसलाई ठेक्काअनुरूप फ्लाई ओभर नै भनेका छन् ।
किन निर्माण समयमा सम्पन्न भएन ?
निर्माण कम्पनी र सरकारका अनुसार निर्माणाधीन ग्वार्को फ्लाई ओभर नेपालको पहिलो फ्लाई ओभर परियोजना हो । इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन (ईपिसी) मोडेलमा निर्माण हुन लागेको उक्त फ्लाई ओभर निर्माण कम्पनीले डिजाइन तयार गर्ने र सरकार पक्षले स्वीकृत गरेर काम अगाडि बढाउने हिसाबले सम्झौता गरिएको थियो । तर, बनाएको डिजाइन स्वीकृत गराउन विदेशी कम्पनीसँग सहायता लिनु परेका कारण काममा ढिलासुस्ती भएको देखिन्छ । न त नेपाल र भारतमा डिजाइन गरे अनुरूपका निर्माण सामग्री पाइन्छन् न त आधिकारिक रूपमा सल्लाह सुझाव दिने सरकारी अधिकारीहरू नै छन् । यस्ता कामहरू ढिला हुनुमा सरकार नै दोषी देखिन्छ । दुई वर्षमा निर्माण सक्ने परियोजनाको डिजाइन स्वीकृत हुन १८ महिनासम्म लाग्यो यो हुनु भनेको सरकारको गैरजिम्मेवारी हो । आफ्नो सिमानाभित्र निर्माण गर्ने परियोजनाहरू विदेशी देशमा स्वीकृत गराउनु पक्कै लाजमर्दो कुरा हो ।
निर्माण सामग्री के-के प्रयोग भएका छन् ?
निर्माणाधीन फ्लाई ओभरको सुरक्षालाई मध्यनजर गर्दै निर्माण गरिएको पुलमा उच्च गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरिएको छ । पुलमा गरिएको ढलान र कंक्रिटको काममा कंक्रिट मेसिनले उत्पादन गरिएको सामग्री मात्र प्रयोग गरिएका छन् । कुनै पनि स्थानमा मजदुर आफैँले ढलान र ढलानसम्बन्धी अन्य काम गरेका छैनन् । पुलको भार क्षमता वृद्धि गर्न 'ग्रिडर' भित्र 'टेन्डम' तार हाली 'ग्रोआउट' गरेर मजबुत गरिने छ । पिलरको खुट्टालाई मजबुत गर्न जमिनमुनि ३० मिटर 'पाइलिङ' गरिएको छ र अब निर्माण हुने दुईतर्फी 'स्लोप' मा 'ग्रावेल पाइलिङ' गरेर माटो भरि गरी बलियो बनाइन्छ । माटो पुलमुनि भरे पश्चात् मात्र पुलको दायाँबायाँ 'रि-वाल' का प्यानलहरू जडान गरिन्छ ।
सरकारका कमजोरीहरू
ग्वार्को फ्लाई ओभर परियोजनाको डिजाइन स्वीकृत गर्ने क्षमता नेपाल सरकारसँग नहुनु र विदेशी मुलुकसँग डिजाइन स्वीकृत गराउनु लाजमर्दो विषय हो । सरकारसँग यति धेरै जनशक्ति हुँदाहुँदै पनि दक्ष जनशक्ति उत्पादन गर्न नसक्नु अर्को कमजोरी हो । विकास गर्न खोज्ने तर आवश्यक जनशक्ति उत्पादन तिर ध्यान नदिनुले सरकार विकासप्रति संवेदनशील छैन भन्ने थाहा हुन्छ ।
चीन सरकारले केही वर्षअघि कंलकी-ग्वार्को-कोटेश्वर सडक खण्ड निर्माण गरेको थियो । सरकारले पाँच वर्षको दूरदृष्टि नराखी सोही ठाउँमा फ्लाई ओभर निर्माण गरी नागरिकलाई दु:ख दिएको छ । विकास आयोजनामा दूरदृष्टि नराख्दा जनताले तिरेको करको दुरुपयोग भएको छ । त्यो मात्रै होइन नागरिकको टाउकोमा ऋणको भारी बढेको बढ्यै छ ।
सरकारले विभिन्न विकास परियोजना निर्माण ढिलाई हुनुमा बजेट अभाव भन्दै आएको छ । तर, उपत्यकाका विभिन्न सडकमा पिच, ओभरल्यापिङ, टालटुल आदि शीर्षकमा करोडौँ बजेट विनियोजन गरेर काम गरेको देखिन्छ । यसरी राष्ट्रिय गौरवका परियोजनामा बजेट छैन भन्नु र अनावश्यक ठाउँमा बजेट विनियोजन गर्नुले सरकार नै नीतिगत भ्रष्टाचारमा लागेको सहजै देख्न सकिन्छ ।
सरकारले विकास निर्माणका काममा शिलान्यास र उद्घाटन मात्रै गरिरहेको देखिन्छ । सरकारको काम शिलान्यासमात्रै गर्नु होइन आयोजनाहरू समयमै निर्माण भए कि भएनन् अनुगमन तथा नियमन गर्नु पनि हो । तर, त्यो पाटोमा सरकार कमजोर देखिएको छ ।
क्रूर भनिने राणाशासनमा पनि भावी पुस्ताका लागि दूरदृष्टि राखेर सडक निर्माण तथा विकासका कामहरू भएका थिए, तर लोकतन्त्रमा भने बन्दै गरेका दिगो विकासका संरचनाले पनि गति लिन सकेका छैनन् । त्यस्ता धेरै उदाहरण हाम्रासामु छन् । जस्तै, मेलम्ची खानेपानी आयोजना, फास्ट ट्रयाक आदि वर्षौंसम्म अलपत्र परेका छन् ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया