अनैतिक सम्बन्धका कारण पवित्राको हत्या, श्रेष्ठ दम्पती पक्राउ
खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीय पवित्रा तामाङको हत्या आरोपमा सोही नगरपालिकाको वडा नं १२ जालपाका ३३ वर्षीय दीपक श्रेष्ठ र उनकी श्रीमती २५ वर्षीया सिर्जना श्रेष्ठ (राई) पक्राउ परेका छन् । गत मङ्सिर १९ गतेदेखि बेपत्ता बनेकी पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा यही पुस ३ गते शंकास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले पवित्राको हत्या आरोपमा श्रेष्ठ दम्पतीलाई पक्राउ गरेको हो ।
श्रीमान्सँग सम्बन्धविच्छेद गरेर माइतीघर बसेकी पवित्रा मङ्सिर १९ गते राति ८ बजेसम्म टेलिभिजन हेरेर बसेको जनाइएको छ । भोलिपल्ट बिहान ओछ्यानमा नदेखिएपछि पवित्राको खोजी सुरु गरिएको आफन्तले बताएका थिए । घरबाटै बेपत्ता भएकी पवित्राको खोजीका लागि परिवारले मङ्सिर २३ गते प्रहरीलाई खबर गरेका थिए । आफन्त तथा प्रहरीले खोजी गर्दा नभेटिएकी पवित्रा १४ दिनपछि गोठमा थुपारिएको पत्करभित्र मृत फेला परेकी थिइन् ।
शंकास्पद आवस्थामा मृत फेला परेपछि आफन्तले प्रहरीमा जाहेरी दिएसँगै अनुसन्धान गर्ने क्रममा आरोपित श्रेष्ठ दम्पतीलाई ललितपुरस्थित महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीबाट पुस ११ गते पक्राउ गरेर पुस १२ गते जिल्ला ल्याइएको थियो । आरोपित श्रेष्ठ दम्पती पक्राउ परेको आठ दिनपछि आज (बुधबार) साँझ प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
आरोपित श्रेष्ठले पवित्राको गत मङ्सिर १९ गते राति नै हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । 'आरोपत दीपकले आर्थिक लाभ तथा अनैतिक सम्बन्धका कारण पवित्राको हत्या गरेको पुष्टि भएको छ । दीपक आफैँले पनि घटनाका विषयमा स्वीकार गरिसकेका छन्', उनले भने, 'आरोपित श्रेष्ठ दम्पतीबाट सबुत प्रमाणसमेत बरामद गरिएको छ । दोषी पत्ता लगाउनमा मृतकका परिवारको ठूलो सहयोग रह्यो । उनीहरुका कारण बेलैमा दोषी पत्ता लगाएर कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ ।'
घटनापछि मङ्सिर ३० गते भागेर ललितपुरको महालक्ष्मी नगरपालिका पुगेको अवस्थामा पक्राउ परेका श्रेष्ठ दम्पतीलाई प्रहरीले बरामद गरिएका सामानसहित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । मृतक पवित्राले कानमा लगाएको सुनको रिङ, नाकमा लगाएको सुनकै फुली र पवित्राले प्रयोग गर्दै आएको मोबाइलसमेत प्रहरीले बरामद गरेर सार्वजनिक गरेको हो ।
आरोपित दीपकले पवित्राको हत्यामा प्रयोग गरेको हम्मर भने परीक्षणका लागि राष्ट्रिय विधिविधान प्रयोगशाला काठमाडौँ पठाइएको प्रनाउ खड्काले जानकारी दिए । 'कसुरदार दीपकले योजनाबद्ध तरिकाले पवित्राको हत्या गरेको देखिन्छ । मृतक पवित्राको शव भेटिएकै ठाउँ नजिक रगताम्मे भएको एउटा हम्मर फेला परेको थियो । त्यो हम्मर दीपक आफैँले घरबाट लगेर गएको देखिन्छ', उनले भने, 'मृतकको शव परीक्षण प्रतिवेदनमा समेत टाउकोमा हम्मर वा कुनै गह्रुङ्गो वस्तु प्रहार गरेर हत्या गरिएको भन्ने देखिएको छ । घटनास्थल नजिकैबाट हम्मर बरामद गरिएकाले परीक्षणका लागि काठमाडौँ पठाइएको हो ।'
कानमा लगाइने रिङ जालपास्थित सहकारीमा ऋण लिनका लागि रु ४० हजारमा धितो राखेको अवस्थामा, फुली दीपकको भाइ डम्बर श्रेष्ठबाट रु चार हजार पाँच सयमा धितो नै राखेको अवस्थामा र मोबाइल सिर्जनाको बुबा राजबहादुर राई (केपिलासगढी गाउँपालिका–७ सुङ्देल) बाट बरामद गरिएको प्रहरीले जनाएको छ । मृतक पवित्राले प्रयोग गर्दै आएको सिमकार्ड भने ललितपुरस्थित उनीहरु (श्रेष्ठ दम्पती)को कोठाबाटै बरामद गरिएको प्रनाउ खड्काले पत्रकारसम्मेलनमा जानकारी दिए ।
मुख्य कसुरदार मानिएका दीपक मङ्सिर १९ गते दिउँसो श्रीमती सिर्जनाको लागि अनलाइन अडर (इन्टरनेटमार्फत मगाउने काम) गरिएको साडी लिन भन्दै घरबाट हिँडेर दिक्तेल आएपछि सिधै मृतक पवित्राको घर पुगेर हत्या गरेको पुष्टि भएको प्रनाउ खड्काले बताए । 'पवित्रासँग पहिलेबाटै अनैतिक सम्बन्ध रहेको दीपकले स्वीकार गरेका छन् । त्यो दिन पनि बलात्कारपछि हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, अनुसन्धान जारी छ', उनले भने, 'सिर्जनालाई विवाह गरेर ल्याइसकेपछि पवित्रासँगको अनैतिक सम्बन्ध खुल्ने डरले हत्या गरेको देखिन्छ । सिर्जनालाई भने दीपकको कर्तुत लुकाउन सहयोग गरेको कारण पक्राउ गरिएको हो । उनीहरु दुवै जनालाई कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।'
चार छोरीकी आमा पवित्रा छोरा नजन्माएको भन्दै श्रीमान्सँग खटपट भएपछि नौ महिनाअघि सम्बन्धविच्छेद गरेर माइतीघर नाखाम फर्कीएकी थिइन् । तीन छोरी श्रीमान्सँग छाडेर कान्छी छोरीसँगै लिएर माइतीघर बस्दै आएकी पवित्राको शव पत्करले छोपेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले जानकारी दिए ।
पवित्राको शव शंकास्पद अवस्थामा भेटिएकाले घटनाको विषयमा अनुसन्धान गर्दा श्रेष्ठ दम्पती दोषी देखिएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाका अनुसार पत्करले छोपेको अवस्थामा मृत भेटिएकी पवित्राको भित्रीबस्त्रसमेत थिएन ।
बाँस ढुवानीको काम गर्दै आएका आरोपित दीपकले तीन वटा श्रीमती विवाह गरेको स्थानीय बासिन्दाले बताएका छन् । सिर्जनालाई तेस्रो श्रीमतीको रुपमा गत असोजमा मात्रै दीपकले घर भित्र्याएको अनुसन्धाटबाट खुलेको प्रहरीले जनाएको छ । घरमा जेठी श्रीमतीसहित उनीपट्टीको एक छोरी रहेको जनाइएको छ । जेठी श्रीमती घरमा हुँदाहुँदै माइली ल्याए पनि उनी अहिले सम्पर्कमा नरहेको बुझिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया