शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

आज नयाँ संवैधानिक इजलास गठन गरेर सुनुवाइ हुँदै

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दामा आजबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरेको कार्य असंवैधानिक भन्दै सर्वोच्च अदालतमा ३० रिट परेका छन् । 

ती मुद्दाको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आइतबार (आज)नयाँ संवैधानिक इजलास गठन गर्ने बताएका थिए । प्रधानन्यायाधीश राणाले यसअघि गठन गरेको संवैधानिक इजलासमा राखिएका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको विषयमा विवाद भएको थियो । इजलासमा रिट निवेदकतर्फका अधिवक्ताहरूले न्यायाधीशद्वयबारे आपत्ति जनाएका थिए ।

न्यायाधीश केसी र श्रेष्ठले आफूहरूमाथि प्रश्‍न उठे पनि इजलासमा बस्‍ने बताएपछि इजलासमा रहेका न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले  इजलासमा नबस्‍ने निर्णय गरेका थिए ।

राणाले शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) मा आइतबार (आज) रोष्टरमा रहेका न्यायाधीशमध्ये वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने बताएका छन् । सर्वोच्च बारका पदाधिकारीसँग पनि प्रधानन्यायाधीश राणाले अबको संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन गर्ने सहमति गरेका छन् ।  

राणाले वरिष्ठताका आधारमा इजलास गठन गरे भने उनीसहित न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठ पर्छन् । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता रहेकाले न्यायाधीश हरिकृष्ण कार्कीलाई ओलीले गरेको विघटनको मुद्दामा हेर्न नमिल्ने भन्दै पहिलो विघटनमा प्रश्न उठेको थियो । 

त्यसपछि उनी बाहिरिएकाले अहिलेको मुद्दामा पनि त्यही प्रश्न आउँछ भनेर नबसेमा छैठौं वरीयता क्रमका न्यायाधीश ईश्‍वर खतिवडा संवैधानिक इजलासमा पर्नेछन् । न्यायाधीश श्रेष्ठ कोभिड-१९ भएर आइसोलेसनमा रहेकाले अनुपस्थित भए सातौं वरीयताका आनन्दमोहन भट्टराई इजलासमा पर्नेछन् । तर प्रधानन्यायाधीश राणाले इजलास कसरी गठन गर्ने हुन् त्यो भने हेर्न बाँकी छ ।