तीन तहको लगानीमा गौतमबुद्ध क्रिकेट रंगशाला बनाइने

चितवन- धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतमबुद्ध क्रिकेट रंगशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । सङ्घीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रंगशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने भएको हो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार सङ्घीय सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सहमति प्रदान गरेको हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको र लिज ऐनअन्तर्गत रंगशालाले जग्गा लिनुपर्ने भएकाले मन्त्रिपरिषद्को बैठकबाट सहमति लिनुपरेको उनले बताइन् ।
प्रमुख दाहालका अनुसार उक्त आयोजना सम्पन्न गर्न सङ्घीय सरकारले समेत अनुदानका रूपमा बजेट उपलब्ध गराउने छ । रंगशालाका लागि यसअघि सट्टाभर्नामा जग्गा लिने सहमति भएकामा अहिले सो प्रावधान नरहेपछि लिज ऐनअन्तर्गत ४० वर्षका लागि रंगशालालाई जग्गा लिन मन्त्रिपरिषद्ले सहमति दिएको छ । त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग भरतपुर महानगरपालिकाले जग्गाको सम्झौता गरी रंगशालाको काम अघि बढाउन लागेको उनले बताइन् ।
महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा रु ७५ करोड बराबरको काम गर्ने गरी सहमति भएको थियो । तर, भरतपुर महानगरपालिकाले तयार गरेको योजनाअनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन रु एक अर्ब लाग्ने प्रमुख दाहालले जानकारी दिइन् । पहिलो चरणमा खेलमैदान र प्यारापिटलगायतका काम सम्पन्न गरेर खेल खेल्न मिल्ने बनाइने उहाँको भनाइ छ ।
प्रदेश सरकारले ७० प्रतिशत लगानी गरेसँगै रकम अभाव भए सङ्घीय सरकारको अनुदान लिएर महानगरपालिकाले थप गरी रंगशाला बनाउने तयारी गरिएको हो । प्रमुख दाहालका अनुसार प्रदेश सरकारको बजेट सुनिश्चिततासँगै बहुवर्षीय ठेक्का लगाएर काम गरिने छ ।
धुर्मुस-सुन्तली फाउण्डेसनले रु १९ करोड ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि रंगशाला निर्माण कार्य अलपत्र बनेको छ । महानगरपालिकाले उक्त आयोजनालाई महानगरको महत्त्वपूर्ण आयोजनाको रूपमा लिएको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सङ्घीय सरकारले अनुमति दिएसँगै अब कामले गति लिने बताए । रासस

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया