बुधबार १४ साउन, २०८२
Wednesday, July 30, 2025

आफ्नै शक्तिमा चुनावमा जित्ने गरी तयारी गर्नुपर्छ : माधव नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नै शक्तिमा चुनावमा जित्ने गरी तयारी गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौँको साँखुमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यसअघि गठबन्धनको साथमा चुनाव लड्दा अपेक्षित नतिजा हासिल गर्न नसकेको भन्दै अa आफ्नै शक्तिमा चुनावमा जित्ने गरी तयारी गर्नुपर्ने बताएका हुन् ।

नेपालले सिंगो मुलुकको विकासको खाका आफ्नो पार्टीले तयार गरेको भन्दै नेता कार्यकर्ताले जनतामाझ गएर त्यसलाई बुझाउन सक्नुपर्ने उल्लेख गरे ।

अध्यक्ष नेपालले सातैवटा प्रदेशमा पार्टीको अस्तित्व देखिएको र अब पालिकामा अस्तित्व देखिने गरी संगठन विस्तार गर्नुपर्ने धारणा राखे । त्यस्तै अध्यक्ष नेपालले अहिले गठबन्धन फुट्ने भ्रममा नलाग्न आग्रह गर्दै गठबन्धन पाचै वर्ष चल्ने बताए ।

उनले यसअघि कम्युनिष्ट दलहरू बहुमतको नजिक पुगे पनि त्यसलाई जोगाउन नसकिएको भन्दै पुनः कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्नका लागि पहल भइरहेको जिकिर गरे ।