मर्न हिँडेका 'अलच्छिना' को काखमा हुर्किरहेका ५७ बालबालिका

काठमाडौँ- नौ वर्षको उमेरमा मर्न हिँडेका तिलबहादुर कार्की अहिले ५७ जना बालबालिकाहरूको पिता बनेका छन् । काठमाडौँको गोकर्णमा ज्वाइन्ट डीसएवल युनिटी आवाज सेन्टरमा उनले ५७ बालबालिकालाई आश्रय दिइरहेका छन् ।
उनी आफैँ एक अपाङ्गता भएका व्यक्ति हुन् । उनको घुँडाभन्दा तल सुकेको छ । दुई पैतलाहरू विपरीत दिशातिर फर्किएका छन् । पैतलाले भुईँ टेक्न सक्दैनन् । खुट्टा र हातमा १२-१२ वटा औँला छन् ।
'खाने मुखलाई जुँगाले छेक्दैन' भन्ने नेपाली उखान झैँ तिलबहादुरको आँट र साहसलाई अपाङ्गताले न रोक्यो न छेक्यो । उनी १६ वर्षदेखि अभिभावकविहीन बच्चाका बुबाआमा बनेका छन् । अनाथ बालबालिकाले उनलाई ‘बा’ भन्दा भावुक हुन्छन् ।
खुट्टा खोच्याउँदै मोरङबाट काठमाडौँ उक्लिएका तिलबहादुरले आजको दिन सोचेकै थिएनन् । उनी भन्छन्, 'जहाँसम्म आइपुगेँ, त्यहाँसम्मका यात्रा सम्झँदा विश्वास नै लाग्दैन । यहाँसम्म पुग्छु भन्ने लागेकै थिएन ।'
तिलबहादुरको जन्म भएदेखि नै समाजले उनकी आमालाई 'अलच्छिना' को बात लगायो । उनी र उनकी आमाले घरमा पनि बास पाएनन् । घरमा बस्न नपाएपछि उनीहरूले कयौँ रात गोठमा गाईभैँसीसँगै बिताएको तिलबहादुरलाई हिजोअस्ति जस्तै लाग्छ ।
'हामीलाई गाउँलेले यो अलच्छिनाका आमाछोरालाई गाउँ कटाउनुपर्छ भने । मेरो कारण आमालाई धेरै दु:ख भएपछि म सुटुक्क गाउँ छाडेर काठमाडौँ उक्लिएँ' तिलबहादुर ति कहालीलाग्दो दिनतिर फर्किँन्छन्, 'त्यति बेला मर्न नहिँडेको भए कहाँ सहाराविहीनको सहारा बन्न सक्थे र !'
यहाँ हरेक मानिस सपना देख्छन् । कतिको सपना पूरा हुन्छ भने कतिको त्यसै तुहिन्छ । तिलबहादुर पनि त्यही सपना बुन्नेमध्ये पर्छन्, जो १८ वर्षअघि देखेको सपना बिस्तारै विपनातिर परिणत गराउँदै गएका छन् । उनले एउटा सपना देखे- आफू जस्तै असहाय बालबालिकालाई आश्रय दिने । अनि जन्म भयो ज्वाइन्ट डीसएवल युनिटी आवाज सेन्टर । कपनबाट आश्रय दिन सुरु गरेका उनको संस्था अहिले गोकर्णमा छ । बालबालिकासँगै उनी पनि टीनले छाएको घरमा बस्छन् ।
उनको सबथोक यही घर हो, जहाँ उनले सुखभन्दा बढी दु:खका सास फेरेका छन् ।
उक्त घरको गेटबाट भित्र पसेपछिको पहिलो कोठा आउँछ जुन उनले सुन्दर सपना देख्ने बेडरुम हो । कोठासँगै टाँसिएको सेन्टरको अफिसका भित्ता र टेबुलहरू पुरस्कार र सम्मानपत्रले भरिएका छन् । पुरस्कार र सम्मानपत्रले उनको मन त बेलाबखत भरिन्छ तर यी र यस्तैहरूले भने पेट भर्न गाह्रो छ ।
'यी पुरस्कार तथा सम्मानपत्रले भोको पेट भर्दैन रहेछ,' भित्तातिर देखाउँदै उनले भने ।
उनलाई भेट्ने जो कोहीले पनि उनको मुहारमा पीर र चिन्ता प्रष्टै देख्न सक्छन् । 'म मरेर गएँ भने मेरा नानीबाबुहरू त सडकमै जान्छन्,' उनले आँखाभरि आँसु पारेर भने, 'आफू मरेपछि अनाथ बालबालिकाको भविष्य के होला भन्ने चिन्ताले बेस्सरी खाइरहेको छ ।'
उनी आफैँ दीर्घरोगी छन् । लामो समयदेखि मधुमेह र उच्च रक्तचापको औषधि खाइरहेका छन् । यति हुँदा पनि बालबालिकाको भविष्यका लागि उनी सबैसामु हारगुहार गरिरहेका छन् । कति पटक तिलबहादुरले ज्यान फाल्ने दुस्साहस गरे । 'मर्छु भन्दै धेरै पटक विष पनि सेवन गरेँ । काल नआएकाले होला म त्यस बेला मरिनँ,' उनले भावुक हुँदै भने ।
यस्तो थियो तिलबहादुरको बाल्यकाल
२०२९ सालमा झापामा जन्मिएका उनी जन्मँदा नै अपाङ्गता भएर जन्मिए । उनी आफै हिँड्न सक्दैनथे । कसैले अड्याइ दिनुपर्थ्यो । खुट्टाले टेक्नै नसक्ने थिए उनी । यसमा उनको के दोष थियो र ? तर, पनि उनले र उनकी आमा हर्कमायाले समाजबाट अपहेलना सहनुपर्यो । समाजले पनि दोषजति उनकी आमामाथि नै थोपर्यो ।
तिलबहादुर झापाको दुर्गा माध्यमिक विद्यालयमा पढ्थे । त्यहाँ उनलाई साथीभाइहरूले धेरै नै गिज्याउँथे, मजाकमा उडाउँथे । कति पटक त साथीहरूले उनको खाजा खोसिदिन्थे भने कहिलेकाहीँ त साथीहरूले उनकै जिउमै पिसाब फेरिदिन्थे । उस बेलादेखि नै उनको मनमा नानाथरिका कुरा खेल्न थाले । कहाँसम्म पुगिन्छ उनलाई केही थाहा थिएन । तर, पनि उनी अघि बढी रहे ।
‘मेरी आमाले कति दुःख पाउनुभयो । गाउँलेले हामीलाई देख्न सहेनन् । योभन्दा त मै मरेपछि मेरी आमालाई सुख होला भनेर म मर्न हिँडेँ,’ पीडाको सास फेर्दै उनी विगततिर फर्किए ।
जब तिलबहादुर घर छाडेर निस्किए उनका परिवारले उनी मरिसकेको सोचे । र, तिलबहादुरको काजकिरिया गरिदिए । उनलाई घर र गाउँ छोडेर हिँड्न सहज भने थिएन । हिँड्दा-हिँड्दै खुट्टाभरि घाउ भए । र, पनि उनको पाइला रोकिएनन् । कहिले घर नै भेटिँदैनथ्यो, जंगलै जंगल हिँड्थे । उनले बस्ने बास र खाने गाँसको टुंगो थिएन ।
कति दिन भोकै रहेर पनि उनी बल्लतल्ल गर्दै झापाको दमक आइपुगे । दमक आइपुगेपछि उनले एउटा यात्रुवाहक बस देखे । मान्छेहरू भन्थे, 'राजाको गाउँ जाने बस ।’ उनीहरूको कुरा सुनेपछि तिलबहादुरलाई पनि राजाको गाउँ जाने हुटहुटी चल्यो । बस रोकेको बेला उनी पछाडिबाट सिधै छतमा लुकेर सुटुक्क चढे र त्रिपालमुनि लुकेर बसे । भोकै प्यासै उनी काठमाडौँ आइपुगे । त्यस बेला उनको कानमा एउटा आवाज आयो, 'पुरानो बसपार्क रत्नपार्क, पुरानो बसपार्क रत्नपार्क ।'
सबैजना गाडीबाट ओर्लिए र उनी पनि सकिनसकि भुईँमा झरे । तिलबहादुर २०३८ सालमा राजा गाउँको अर्थात् काठमाडौँमा पहिलो पटक आइपुगे । उनलाई काठमाडौँसम्म आइपुग्दा भोकले असह्य भइसकेको थियो । त्यस बेलासम्म उनी बानेश्वर पुगेका थिए । बानेश्वरमा एउटा सानो होटेल देखे र त्यहाँ छिरेर भने, 'अलिकति खान दिनुस् न ।' जवाफमा साहुजीले ढोकाबाटै भने, 'केही काम गर्न सक्छस् जस्तो लागेन । छैन खाना ।'
यसरी जन्मियो संस्था
बानेश्वर पुग्दा उनले पशुपतिको नाम सुनेका रहेछन् । त्यसपछि उनी त्यही नामको खोजीमा लागे । उनले नजिकै खोलाको किनार देखे । र, त्यहाँ मान्छे पोलिरहेका थिए । उनले धेरै मानिसहरू पशुपति मन्दिरअघि माग्न बसेको देखे । उनले पनि खुट्टा देखाए र घरबाट लिएको बोरा थापेर माग्न बसे ।
मान्छेहरू आउँदै बोरामा पैसा खसाल्न थाले । दुई दिनमै दुई सय ५५ रुपैयाँ उनको बोरामा पर्यो । राति आर्यघाटको छेउमा सुतेका थिए । सुतेका बखत साथीहरूले सबै पैसा खोसिदिएको उनले सुनाए । दिनदिनै पैसा चोरी भएपछि तिलबहादुरले एक रात १२ बजे जयबागेश्वरीको जंगलमा पुगे र खुकुरीले खाल्डो खन्न थाले । उनले धेरै दिन लगाएर गहिरो खाल्डो खने, अनि बोरा र पैसा त्यही खाल्डोमा राखे ।
समय बित्दै जाँदा उनको माग्ने शैली पनि बिस्तारै परिवर्तन हुन थाल्यो । उनी पशुपतिको पुलपारी मन्दिरमा बस्न थालेका थिए । मागेर जम्मा भएको सबै पैसा लिएर फेरि आफूले खनेको खाल्डोमै पुग्थे र त्यहीँ राख्थे । मानौँ उनको लागि यो खाल्डो एक सुरक्षित बैंकजस्तै भयो । यसरी पैसा माग्दा उनका खुट्टा गलेर फत्रक्कै हुन्थे । तर, उनी आफ्नो काम भने छाड्दैनथे ।
यसैगरी उनले माग्न थालेको निकै समय भइसकेको रहेछ । एक दिन उनलाई आफूले जम्मा गरेको पैसा निकाल्ने सोच आयो । र, उनी गौशालास्थित प्रहरी कार्यालयमा पुगेर भने, ‘मैले मागेको पैसा खाल्डोमा गाडेको छु । म एक्लै निकाल्न सक्दिनँ, तपाईँहरूले निकाल्दिनुपर्यो । त्यो पैसाले मजस्तै मान्छेलाई आश्रय दिने काम गर्छु ।’
प्रहरी खाल्डोमा पुग्यो र पैसा निकाल्न थाल्यो । अनि प्रहरी कार्यालयमा ल्याएर गन्न थाल्यो । तिलबहादुरका अनुसार एक र दुई रुपैयाँका नोटजति कुहिसकेका थिए भने गाई पैसा, एक र दुई रुपैयाँका ढ्याक थिए । त्यो पूरै पैसा गन्न प्रहरीलाई तीन दिन लागेको उनले सुनाए ।
सो पश्चात् तिलबहादुर माग्नेबाट एकैपटक लखपति बने । त्यसरी गनेको पैसा पाँच लाख ५१ हजार २५ रुपैयाँ थियो । 'मैले त्यो बेलाको पैसाले आफ्नो लागि गरेको भए म ३/४ वटा घरको मालिक भएर बस्थेँ । तर, होइन मैले असहाय बालबालिकाको लागि सहारा बन्छु भनेर लागेँ,' उनले बीचमै बोले ।
प्रहरीले बैंकबाट पैसा साटेर ल्यायो र तिलबहादुरका अगाडि राखिदियो । जब तिलबहादुरले त्यो बिटो देखे, सिधै ढले । उनको आँखा त्रिवि शिक्षण अस्पतालको बेडमा खुल्यो । उनलाई पूरै निको हुन सात दिन लागेको उनले बताए ।
अब के गर्ने ? बैंकमा राखौँ, नागरिकता छैन । संस्था स्थापना गर्नका लागि पनि त नागरिकता चाहियो । उनले चिनेजानेका मान्छेको सहयोगमा नागरिकता पनि बनाए । अब लखपति बनेका तिलबहादुरले आफूजस्तैलाई आश्रय दिने सोच बनाए । त्यसका लागि उनले एउटा संस्था खोल्नुपर्ने थियो ।
त्यसपछि उनले २०६३ मा संस्था जन्माए 'ज्वाइन्ट डिसएवल युनिटी आवाज सेन्टर ।' यहाँ उनले अपाङ्गता भएका, द्वन्द्व पीडित, कारागारका बच्चा र ७२ सालको भूकम्पमा अभिभावक गुमाएका बालबालिकाहरू राखेका छन् । कर्मचारीहरू पाँच जना छन् । उनीहरूले बालबालिकालाई बिहानबेलुका आएर पढाउने गर्छन् । सुरुमा उनले त्यो पैसाले कपनमा फ्ल्याट भाडामा लिए । बेड, ओड्ने ओच्छ्याउने, भाँडाकुँडा र ग्यास चुल्हो किने ।
त्यसपछि असहाय बालबालिका खोज्नका लागि कालिकोट, हुम्ला, जुम्ला, अछाम, दैलेखसम्म पुगे । तिलबहादुरले बुबाआमा नभएका अनाथ ११ जना बालबालिकालाई लिएर काठमाडौँ आए । तिलबहादुर नै ती बच्चाका बुबाआमा बने ।
समय क्रमसँगै तिलबहादुर पत्रपत्रिका र टेलिभिजनमा छाउन थाले । टेलिभिजनमा छोरालाई देखेपछि छोरा जिउँदै रहेछ भन्ने थाहा पाए उनका बुबाआमाले । झण्डै २८ वर्षपछि बुबाआमा तिलबहादुरलाई भेट्न काठमाडौँ आइपुगे ।
त्यसपछि तिलबहादुर पनि बुबाआमासँगै घर हिँडे । तर, उनले घर प्रवेश गर्न भने पाएनन् । किनभने बुबाआमाले तिलबहादुरको पहिले नै काजकिरिया गरिसकेका थिए । त्यसपछि पण्डित ल्याएर आमाले जन्माएको मिति र समय हेरियो । तिलबहादुरलाई घ्याम्पो फुटाएर निकालियो । आमालाई नौ दिनसम्म सुत्केरी बनाएर कुनामा राखियो । त्यसपछि बल्ल तिलबहादुरलाई घरमा पस्न दिइयो ।
'म जिउँदै हुँदा काजकिरिया भइसकेको मान्छे हुँ । यो मेरो दोस्रो जन्म हो,' उनी भावुक हुँदै भने । संस्था स्थापना भएको केही महिना भएको थियो । उनीसँग भएका सबै रकम सकियो । उनी निकै अप्ठ्यारोमा परे । त्यसपछि उनले पसल-पसलमा मुठी दान अभियान चलाए ।
तिलबहादुर सम्झन्छन्, 'थुप्रै पसलमा मुठी दान अभियान चलाएँ । उठेको पैसाले बच्चाहरू पढाएँ ।' सो पश्चात् ठाउँ परिवर्तन गर्दै अहिले तिलबहादुर गोकर्ण पुगेका छन् । यहाँ १० वर्षका लागि ६ रोपनी जग्गा भाडामा लिएका छन् । बालबालिकालाई खुवाउनका लागि त्यसैमा कृषि फर्म खोलेका छन् । मासिक ५ लाख रूपैयाँ खर्च छ ।
अहिले देशविदेशबाट मान्छेहरू तिलबहादुरकहाँ जन्मदिन मनाउन आउँछन् । केहीले आफ्ना पितृका नाममा पनि खुवाउँछन् भने केहीले सहयोग गर्छन् । 'मनकारीहरू आएर लाउन, खान सहयोग गर्नुहुन्छ,' तिलबहादुर भन्छन्, 'तर पनि संस्थाका लागि जग्गा किन्न सकेँ भने म मरे पनि यी बालबालिका मर्ने थिएनन् ।'
अहिले १२ पास गरेर सात जना विद्यार्थी संस्थाबाट निस्किसकेका छन् । जसलाई तिलबहादुरले जागिर पनि लगाइदिएका छन् भने, एक जना कोरिया गएका छन् । बेला-बेला तीन पाँग्रे स्कुटर चढेर तिलबहादुर उनीहरूलाई भेट्न पुग्छन् ।
तिलबहादुर सीएनएन हिरोका लागि छनोटमा पनि परेका थिए । तर, विडम्बना भनौँ त्यस बखत कोरोना भाइरसको कारण सीएनएनको सबै कार्यक्रम स्थगित भयो । 'रुँदारुँदै आँसु पनि सुकिसकेको छ । बालबालिका, वृद्धवृद्धालाई सहयोग गर्छु भनेर लागेको म साह्रै गाह्रो भएको छ,' उनले न्याउरो अनुहार लगाएर भने ।
यो दु:खको घडीमा उनले राज्यको साथ र हौसला चाहेका छन् । ५२ वर्षीय उनी बालबालिका सडकमा जाने अवस्था आएको खण्डमा भाँडा माझ्न विदेश जाने दुखेसो पोख्छन् । 'सरकारले, राज्यले एउटा पनि सहयोग र हौसला दिएको छैन । म पछि बच्चाहरूको बिचल्ली हुन्छ,' उनले भने ।
'कुनै विकल्प नभए आफूले पाएका सम्मानपत्रहरू नै बेचेर नानीबाबुहरूलाई हुर्काउँछु । वडा कार्यालय, नगरपालिका र सरकारले अहिले कुनै वास्ता गरेको छैन तर म मरेपछि बालबालिकाहरू सडकमा पुग्दा कोही नआउनू,' उनले पीडाका पोको फुकाले, 'म मरेर गएँ पनि संस्था कहिले नमरोस् ।'
भिडियो:

डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए

सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगा…

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरीक्षक थापा

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

प्रतिक्रिया